ad ad

कारोबार


यो वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशत, धान उत्पादन बढ्दा कृषि क्षेत्रको वृद्धि गत वर्षअनुसार नै : विभाग

यो वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशत, धान उत्पादन बढ्दा कृषि क्षेत्रको वृद्धि गत वर्षअनुसार नै : विभाग

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार ११:१३,

चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर चार प्रतिशत हाराहारीमा रहने सरकारी संयन्त्रको अध्ययनले देखाएको छ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको केन्द्रीय तथ्यांक विभागको प्रक्षेपित प्रतिवेदनअनुसार कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा ३ दशमलव ९८ प्रतिशत कायम रहने देखिएको हो।

विभागले चालू आर्थिक वर्षको ९ महिनाको अवधिलाई लिएर गरेको अध्ययनले सरकारले लिएको लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने देखाएको छ।

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा ७ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि कायम हुने आकलन गरेको थियो।

तर लक्ष्यभन्दा झण्डै साढे ३ प्रतिशत कमको वृद्धिदर हुने प्रक्षेपण तथ्याङ्क विभागले गरेको हो।

सरकारले चालू आर्थिक वर्ष सुरु हुँदा नै कोरोनाको संकट कम हुँदै जाने आकलन गर्दै उक्त दर अनुमान गरेको थियो।

सोहीअनुसारको आर्थिक गतिविधि हुने सरकारी आकलन थियो। यसअनुसार नै आर्थिक वृद्धिदरको लक्ष्य प्रस्तुत गरेको थियो।

तर आर्थिक गतिविधिको अवस्था कोरोनाकै कारण लामो समयसम्म प्रभावित भएको विभागको अध्ययनले देखाएको छ।

परिणामतः आर्थिक वृद्धिदरमा कमी आएको हुनसक्ने विभागको आकलन छ। चालू आवको पहिलो चौमासिकमा त नेपालको आर्थिक वृद्धि ऋणात्मक नै देखिएको थियो।

आर्थिक क्षेत्रहरुअन्तगर्त पनि औद्योगिक समूहमा पर्ने प्राथमिक क्षेत्र कृषि, वन, मत्स्य र खानी रहेका छन्। यिनीहरुको कुल गार्हस्थ्य उत्पादनमा २६ दशमलव ४ प्रतिशतको योगदान रहेको देखिएको छ।

द्वितीय क्षेत्रअन्तर्गतका उद्योग र विद्युत तथा ग्यास र पानी आपूर्ति तथा निर्माण क्षेत्र रहेका छन्। यिनीहरुको योगदान १२ दशमलव ५ प्रतिशत रहेको छ। औद्योगिकअन्तगर्तकै सेवातर्फ व्यापार, यातायात, सञ्चार, वित्तीय मध्यस्थतालगायतका विषयहरु पर्छन।

gdp growth2021

यिनीहरुको कुल अर्थतन्त्रमा योगदान ६१ दशमलव १ प्रतिशतको रहेको देखिएको छ।

चालू आर्थिक वर्षमा कृषि, वन, मत्स्य र खानी तथा उत्खननको कुल मूल्यअभिवृद्धि (जीएभी) दर स्थिर अर्थात् गत वर्षकै हाराहारीमा २ दशमलव ७५ प्रतिशत रहने अनुमान छ।

चालू आवमा कृषि, वन, मत्स्य र खानी तथा उत्खननको अवस्था कमजोर रहे पनि धान उत्पादनमा वृद्धि भएकोले गत आवकै हाराहारीमा रहने विभागले बताएको छ।

त्यस्तै निर्माण क्षेत्र, पानीको आपूर्ति, उद्योग तथा विद्युतको कुल मूल्यअभिवृद्धि दर ५ प्रतिशत हाराहरीमा रहने देखिएको छ।

त्यस्तै वित्तीय मध्यस्थता, रियलस्टेट, प्रशासनियक व्यावसायिक सेवा, यातायात, व्यापार, भोजन क्षेत्रको कल मूल्यअभिवृद्धि ४ दशमलव ४३ प्रतिशत रहने तथ्याङ्क विभागले बताएको छ।

यस क्षेत्रअन्तर्गतका आवास तथा भोजन सेवा र यातायात क्षेत्रमा कोभिड १९को महामारीले गर्दा प्रत्यक्ष असर पारेको अध्ययनमा देखिएको विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .