ad ad

कारोबार


‘हाई प्रोफाइल’ र कीर्तिमानधारीसहित सगरमाथामा आरोहीको चाप

‘हाई प्रोफाइल’ र कीर्तिमानधारीसहित सगरमाथामा आरोहीको चाप

वसन्त अर्याल
चैत २९, २०७७ आइतबार ६:३७,

कोभिडका कारण गतवर्ष शून्य आरोहण भएको सगरमाथामा यसवर्ष ‘हाई प्रोफाइल’ का अन्तर्राष्ट्रिय व्यक्तिहरुसहित आरोहीहरुको चाप बढ्ने देखिएको छ।

यस वर्षको वसन्त ऋतुमा पनि पहिलेजस्तै आरोहीहरुको चाप हुने देखिएको हो।

पर्यटन विभागले सुरुमा कोभिडका कारण यो वर्ष विगतमा भन्दा कम आरोही हुने आकलन गरेको थियो। तर केहि दिनयताको तथ्यांक हेर्दा यस वर्ष पनि आरोहीको संख्या पहिलेकै अवस्थामा पुग्ने देखिएको छ।

पर्यटन विभागले चैत २७ गतेसम्म २ सय ४४ जनालाई सगरमाथा आरोहणको अनुमति दिइसकेको छ।

वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि धेरैजसोले बैशाख दोस्रो हप्तासम्म अनुमति लिने गर्छन्।

‘सन् २०१९ मा ३ सय ८० जनाले सगरमाथा आरोहणको लागि अनुमति पाएका थिए,’ पर्यटन विभागकी निर्देशक मिरा आचार्यले भनिन्, ‘यो वर्ष ३ सयको हाराहारीले अनुमति लिने आकलन थियो।’

गतवर्ष कोभिडका कारण विभागले अनुमति दिए पनि आरोहण रोकिएको थियो। निर्देशक आचार्यले भनिन्, ‘यो वर्ष विशेष परिस्थिति हो। ठ्याक्कै आकलन गर्न नसकिए पनि ३ सय बढी आरोही हुनसक्छन्।’

उनले यो वर्ष सगरमाथामा आरोहीको उपचारको लागि डाक्टरको समेत व्यवस्था गरिएको बताइन्। सगरमाथामा पुगेका डाक्टरले कुनै आरोहीलाई समस्या भए तत्काल त्यहिँ नै उपचार गर्नेछन्।

विभागबाट अनुमति पाएका २६ वटा टोलिमा १ सय ९३ पुरुष र ५१ जना महिला छन्।

सन् २०१९ को वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ३७ विदेशी र ७ नेपाली गरी ४४ टोलीलाई आरोहणको अनुमति दिइएको थियो। जसमा ३ सय ८१ जना आरोही थिए भने सरदार, गाइड र शेर्पासहित ६ सय ४२ जना आरोहणमा सहभागी थिए।

२०१८ को वसन्त ऋतुमा ३ सय ४६ जनालाई विभागले आरोहण अनुमति दिएको थियो भने २०१७ मा ३ सय ६६ जनाले सगरमाथा आरोहणको अनुमति पाएका थिए।

beharain prince everestशेख मोहम्मद हमाद मोहम्मद अल खालिफा (बीच)

राजपरिवार सदस्यदेखी विश्व रेकर्डधारीसम्म
विश्वको सर्वाेच्च शिखर सगरमाथामा बहराइनको झण्डा फहराउने लक्ष्यसहित १६ जनाको टोली आरोहणको तयारीमा छ।

बहराइन राजपरिवारका सदस्य शेख मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको टोलीले अहिले सगरमाथा आरोहणको तयारी गर्दैछ।

टोलीमा बहराइन रोयल गार्ड डिफेन्स फोर्समा कार्यरत् १३ जना बहराइनी नागरिक र अन्य तीन जना बेलायती नागरिक छन्।

गत भदौमा नेपाल आएर सो बहराइन टोलीले मनास्लु र लोबुचे हिमाल आरोहण गरेको थियो।

सगरमाथा आरोहणको तयारीस्वरुप उनीहरुले ती हिमाल चढेका हुन्।

MIKE POSNER everestमाइक पोस्नर

यसवर्ष सगरमाथा आरोहणको लागि चर्चित गायक माइक पोस्नर नेपाल आईपुगेका छन्। ग्रामी नोमिनेसनमा परेका पोस्नर अमेरिकन गायक तथा गीतकार हुन्।

‘नेपाल आउँदा म एकदमै हर्षित छु। काठमाडौंमा रहँदा अत्यन्त राम्रो अनुभूति भइरहेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

३१ वर्षीय शेख आस्मा अल थानी सातवटै महादेशका सातवटा हिमाल चढ्ने यात्रामा छन्। उनले महिला र केही गर्ने सपना बोकेकाहरुलाई अभिप्रेरित गर्ने उद्देश्यले सगरमाथा चढ्न लागेको बताएकी छन्।

सगरमाथा आरोहणका लागि यसअघि दुई कतारी महिलाले प्रयास गरे पनि सफल हुनसकेका थिएनन्। सगरमाथा आरोहणको प्रयास गर्ने तेस्रो कतारी महिला शेख आस्मा यसपटक सफल आरोहण गरी कीर्तिमान राख्ने योजनामा छिन्।

sheikh qatari women everestशेख आस्मा अल थानी

त्यसैगरी, कतारी अभियन्ता शेख आस्मा अल थानी सगरमाथा आरोहणका लागि नेपालमै छन्। सगरमाथाको शिखर चुम्ने पहिलो कतारी महिला बन्ने लक्ष्यसाथ उनी नेपाल आएकी हुन्।

मध्यपूर्वी देशमा महिला सशक्तिकरणको विषयमा आवाज उठाउँदै आएकी शेख आस्मा अन्तराष्ट्रिय खेलकुद क्षेत्रमा समेत परिचित खेलाडी हुन्। उनी कतार ओलम्पिक कमिटीकी वरिष्ठ महिला अधिकृत हुन्।

शेख आस्मा सन् २०१८ मा नर्थ पोलमा स्की गर्ने पहिलो कतारी महिला हुन्। त्यस्तै २०१९ मा उनी अर्जेन्टिनाको माउन्ट आखिनखाग्वा हिमाल आरोहण गर्ने पहिलो कतारी महिला बनेकी थिइन्।

शेख आस्मा सफल भइन् भने उनी सगरमाथाको सफल आरोहण गर्ने गल्फ देशको चौथो महिला हुनेछिन्। गल्फ मुलुकहरुबाट हालसम्म तीन महिला मात्रै सगरमाथा आरोहण गर्न सफल भएका छन्।

यति नै बेला सगरमाथा आरोहणका लागि तयारी गरिरहेका अर्का चर्चित व्यक्ति हुन्– मार्क प्याटिसन। पूर्व फुटबल खेलाडी प्याटिसनले अमेरिकाका विभिन्न क्लबमा रही पाँचवर्ष राष्ट्रिय फुटबल लिग खेलेका थिए। त्यसपछि उनी त्यहाँको मुख्य प्रशिक्षक बनेका थिए।

mark pattison everestमार्क प्याटिसन

उनले पछिल्लो समय हिमाल आरोहणमा रुची बढेपछि सर्वोच्च शिखर नै चढ्ने योजनाका साथ नेपाल आएको बताएका छन्।

सातवटै महादेशका हिमाल चढ्ने लक्ष्यका साथ आफू अघि बढेको उनको भनाइ छ।

वसन्त ऋतुमा उनी सगरमाथासँगै लोत्से हिमाल आरोहण गर्ने तयारी गरिरहेका छन्।

२४ पटक सगरमाथा आरोहण गरी विश्व रेकर्ड बनाएका नेपाली आरोही कामिरिता शेर्पा फेरी आरोहण गर्ने तयारीमा छन्। उनले आफ्नै विश्व रेकर्ड तोड्दै २५औं पटक सगरमाथा चढ्ने योजनासहित सगरमाथाको आधारशिविर पुगेका छन्।

सोलुखुम्बु जिल्लाका कामिरिताले ८ हजार माथिका केटु, चोयु, मनास्लु, अन्नपूर्ण, लोत्से हिमाल आरोहण गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .