एन आई सी एशिया बैंकले धरान उपनगरपालिकामा अवस्थित भानु चोकमा रहेको सब्जीमण्डीमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफूल, कपडा लगायतका सामग्री खरिद गर्न सकिने पसलहरूमा क्यूआर कोड वितरण गरेको छ।
क्यूआर कोडको वितरण नेपाल राष्ट्र बैंकको प्रदेश १ का निर्देशक सत्येन्द्र तिमिल्सिना, धरान उपमहानगरपालिका प्रमुख तिलक राई, धरान संयुक्त बजार एकता संघका अध्यक्ष रामकुमार दास र बैंकका प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारीले एक कार्यक्रमकाबीच संयुक्त रुपमा गरे।
यस बैंकको मोबाइल बैंकिङ, फोन–पे प्रणालीमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकका ग्राहक ग्राहकहरूले मोबाइल बैंकिङ एप-वालेट मार्फत यस बैंकले उपलब्ध गराएको क्यूआर कोडमा स्क्यान गरी रकम बिक्रेतालाई भुक्तानी गर्न सक्नेछन् र सो रकम सम्बन्धित बिक्रेताको यस बैंकमा रहेको खातामा जम्मा हुने व्यवस्था गरिएको छ।
बैंकले निकट भविष्यमा सो क्षेत्रका यातायात, खाद्य स्टोर लगायत अन्य व्यवसायीक क्षेत्रहरूलाई समेत क्यूआर भुक्तानी प्रणालीमा समावेश गर्दै लैजाने लक्ष्य लिई डिजिटल कारोबारलाई दु्रत गतिमा अगाडि लैजानका लागि आवश्यक योजना अगाडि सारेको छ।
स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै मोबाइल बैंकिङ तथा क्यूआर कोडबाट भुक्तानी गर्ने ग्राहकहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकहरूलाई आकर्षित गरी मुलुकमा नगदरहित अर्थतन्त्रको निर्माण गर्न सहयोग पुर्याउन यस योजनालाई बैंकले अगाडी बढाएको हो।
बैंकले हालसम्म देशभर ४१ हजार भन्दा बढी क्यूआर मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ र यस प्रणालीमा आबद्ध हुन चाहने नयाँ व्यापारीहरूका लागि बैंकले ९८२८७११११५ नम्बरमा सम्पर्क गरी तथा बैंकको वेबसाइटमार्फत अनलाईन आवेदन दिन सकिने समेत व्यवस्था गरेको छ।
Shares

प्रतिक्रिया