ad ad

कारोबार


लाइसेन्समा नयाँ नियम : यस्ता गल्तीले चारपांग्रे गाडीको ट्रायलमा फेल नहुने

लाइसेन्समा नयाँ नियम : यस्ता गल्तीले चारपांग्रे गाडीको ट्रायलमा फेल नहुने

वसन्त अर्याल
चैत १८, २०७७ बुधबार ११:४४,

सामान्य गल्तीकै कारण अब चारपांग्रे गाडीको चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षामा फेल नहुने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि लागू हुने गरी चारपांग्रे गाडीको प्रयोगात्मक परीक्षा (ट्रायल)मा साना गल्तीकै कारण फेल नहुने व्यवस्था गरेको हो।

कार, जिप, भ्यानलगायतका चारपांग्रे गाडीको ट्रायल परीक्षाको मूल्यांकन आधार परिवर्तन गरिएको छ। कुल १०० पूर्णाङ्कमा विभाजन गरिएको ट्रायलमा ७० अंक ल्याएमात्रै पुग्नेछ।

सवारी चालक अनुमति–पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ मा अनुमतिपत्रको ‘क’ वर्गका दुईपांग्रे मोटरसाइकल, स्कुटर तथा मोपेड (ङ वर्गका समेत) र ‘ख’ वर्गका चारपांग्रे कार, जिप, डेलिभरी भ्यानलगायतमा प्रयोगात्मक परीक्षा अर्थात् ट्रायलमा ७० अंक ल्याएमात्रै पास हुने व्यवस्था गरिएको हो।

पुरानो निर्देशिका परिवर्तन गर्दै नयाँ निर्देशिका लागू गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सैद्धान्तिक सहमति दिइसकेको छ। सोही निर्देशिका यातायात व्यवस्था विभागले जेठ १ देखि लागू गर्ने तयारी गरेको हो।

‘नयाँ सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकामा मन्त्रालयले सहमति दिइसकेको छ’, यातायात व्यवस्था विभागका निर्देशक डा. लोकनाथ भुषालले नेपालखबरसँग भने, ‘जेठ १ गतेदेखि लागू गर्ने तयारी गरेका छौँ।’

चारपांग्रे गाडीको लाइसेन्सको लागि १८ वर्ष उमेर पुगेका व्यक्तिले लिखित तथा प्रयोगात्मक परीक्षामा भाग लिन पाउँछन्।

नयाँ निर्देशिकाले लिखित परीक्षाको लागि ५ सय वस्तुगत बहुउत्तरको प्रश्न संग्रह प्रकाशन गर्ने र सोही संग्रहबाट मात्र सम्बन्धित कार्यालयले लिखित परीक्षाको प्रश्नपत्र तयार गर्नुपर्ने व्यवस्था गरेको छ।

यसअनुसार लिखित परीक्षा ३० मिनेटको हुनेछ। जसमा परीक्षार्थीले ८० अंक ल्याए उत्तीर्ण हुनेछ। निर्देशिका लागू भएको ६ महिनाभित्र देशभरका कार्यालयले प्रयोगात्मक परीक्षा स्थलमा सबै गतिविधिको भिडियो खिची ३० दिनको विद्युतीय अभिलेख राख्नुपर्नेछ।

प्रयोगात्मक परीक्षामा प्रयोग हुने सवारीसाधन आफैँले व्यवस्था गर्न सक्नेछन्। ट्रायल परीक्षामा प्रयोग हुने कार, जिप वा भ्यान पेट्रोल, डिजेल वा ग्यासबाट चल्ने हुनुपर्छ। ट्रायलमा प्रयोग हुने गाडी कम्तीमा ७५० सि.सि भएको हुनुपर्नेछ।

गाडीको ह्विल बेस कम्तीमा २३ सय मि.मि भएको, लम्बाइ ३३ सय मि.मि, चौडाइ १४५० मि.मि र उचाइ १४५० मि.मि भएको हुनुपर्छ। गाडीमा म्यानुअल ट्रान्समिसन प्रणाली भएको, सवारीमा हिल होल्ड, हिल एसिस्ट वा समान प्रकृतिको प्रणाली जडान नभएको हुनुपर्नेछ।

ट्रायल अगाडि प्राविधिक निरीक्षकले इन्धन, ब्रेक, ट्रान्समिसन प्रणाली, बत्ती, टायर, पछाडिको दृश्य देखिने रियर भ्यू क्यामेरा जडान नभएको हुनुपर्नेछ। रियर भ्यु क्यामेरा जडान भएको भए परीक्षा अवधिभर अपारदर्शी कागज वा कपडाले छोप्नुपर्ने निर्देशिकामा उल्लेख रहेको छ।

gadi license2

घुमाउरो आठमा दुई पटकसम्म रेखा छोएमा फेल नहुने 
चारपांग्रे गाडीको ट्रायलमा पास हुनको लागि ७ वटा चरण पार गर्नुपर्नेछ। घुमाउरो आठ परीक्षण, स्पिड ब्रेकर, घुम्ती अर्थात् यु–टर्न परीक्षण, ट्राफिक लाइट परीक्षण, उकालो परीक्षण, ग्यारेज पार्किङ परीक्षण र व्यवहारगत पक्षको समग्र परीक्षण हुनेछ।

निर्देशिकाअनुसार २० अंकभार रहेको घुमाउरो आठमा दुई पटकसम्म अंकित रेखा छोएमा फेल हुनेछैन। एकपटक रेखा छोएमा ५ अंक घट्नेछ।

घुमाउरो आठमा दुई पटकभन्दा बढी अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ नबनाएमा, अगाडि बढ्ने क्रममा सवारीलाई पछाडितिर सारेमा अनुत्तीर्ण अर्थात् फेल भएको घोषणा गरिनेछ।

१० अंकभार रहेको स्पिड ब्रेकरमा एक पटक स्टार्ट बन्द भएका ५ अंक घट्नेछ तर फेल हुँदैन। स्पिड ब्रेकरमा एक पटकभन्दा बढी स्टार्ट बन्द भएमा फेल हुनेछ। १० अंकभार रहेको यु–टर्नमा टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंक नै घट्नेछ। तर अंकित रेखा छोएमा अनुत्तीर्ण हुनेछ।

१५ अंकभार रहेको ट्राफिक संकेतको पालना नगरेमा सबै अंक घट्नेछ। र्‍याम्प अर्थात् उकालोमा सामान्य गल्ती भए पनि अनुत्तीर्ण घोषणा हुनेछ।

यो पनि –
जेठ १ देखि सवारी लाइसेन्समा नयाँ नियम, ट्रायलमा ७० अंक ल्याए पुग्ने

तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा, रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा बढी पछाडि सरेमा फेल हुनेछ।

उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा र उकालोमा सवारीको स्टार्ट बन्द भएमा स्वतः फेल हुनेछ।

उकालोमा पास भएपछि ग्यारेज पार्किङ परीक्षण पास गर्नुपर्ने हुन्छ। जसको अंकभार २० रहेको छ। ग्यारेज पार्किङको क्रममा सवारीलाई पछाडि गुडाउने क्रममा एक पटकसम्म अगाडि सारेमा १० अंक घट्नेछ।

सवारीलाई पछाडि गुडाउने क्रममा एक पटकभन्दा बढी अगाडि सारेमा वा अकिंत रेखा छोएमा अनुत्तीर्ण हुनेछ।

परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनको अंकभार १० रहेको छ। सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरुको सामान्वय निरीक्षण नगरेमा ३ अंक घट्नेछ। सिट बेल्ट नलगाई सवारी चलाएमा ४ अंक घट्नेछ र अस्वाभाविक गतिमा वा असंयमित रुपमा सवारी चलाएमा ३ अंक घट्नेछ।

१०० अंकभारमा सामान्य गल्तीको अंक घटाउँदा ७० भन्दा कम भए स्वतः फेल हुने निर्देशिकामा उल्लेख छ।

gadi license3

ट्रायल परीक्षा स्थलको बनोट कस्ताे हुनुपर्ने?
घुमाउरो आठको बाहिरी वृत्तहरुको भित्र व्यास १२ मिटर, भित्री वृत्तहरुको बाहिरी व्यास ६ मिटर, वृत्तहरुको केन्द्रविन्दुबीचको दूरी ९ मिटर, ट्रयाकको चौडाइ ३ मिटर, प्रवेश तथा निकासको चौडाइ ३ मिटर, पहेलो मार्किङको चौडाइ २० सेन्टिमिटरको रहनेछ।

स्पिड ब्रेकरको लम्बाइ १६ मिटरको हुनेछ भने चौडाइ ४ मिटरको हुनेछ। जसमा ५ वटा ब्रेकर हुनेछन्।

ग्यारेजको मुख्य ट्रयाकको लम्बाइ २० मिटरको हुनेछ। चौडाइ ३ मिटर, ग्यारेज ट्रयाकको लम्बाइ ८.५ मिटर, ट्रयाकको चौडाइ ३ मिटरको हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .