ad ad

कारोबार


आठ वर्षसम्म पनि बनेन पर्यटकीय क्षेत्र गोदावरी जाने मुख्य सडक (भिडिओ)

आठ वर्षसम्म पनि बनेन पर्यटकीय क्षेत्र गोदावरी जाने मुख्य सडक (भिडिओ)

वसन्त अर्याल
चैत ८, २०७७ आइतबार १२:१२,

पर्यटकीय क्षेत्र गोदावरीको मुख्य सडक ठेक्का लागेको ८ वर्षसम्म निर्माण हुनसकेको छैन।

सातदोबाटो–गोदावरी खण्डको सडक करिब ७ किलोमिटर सडक अझै बन्ननसकेको हो ।

सडक निर्माणको जिम्मा पाएको ठेकेदारले पुरानो कलोपत्रे हटाए पनि ढलका पाइप बीचसडकमा असरल्ल छन्। संरचना हटेको ठाउँमा विद्युतीय पोल अझै हटेका छैनन्।

स्थानीयबासीले धूलोको कारण बस्नै नसक्ने भएपछि दिनमा दुईपटकसम्म पानी हाल्ने गरेका छन्। तर घाम लागेको समयमा आधा घण्टामै सडकमा धूलो उड्न सुरु गर्छ।

स्थानीय व्यापारीहरु पसलको सामान दिनमा ४ पटक सफा गरे पनि उस्तै हुने बताउँछन्। नयाँ समान १/२ दिनमै पुरानो देखिन्छन्।

पसलमा ग्राहक नै कम आउनथालेका छन्। अत्यधिक धूलोका कारण केही व्यवसायीले सिसा लगाएका छन्।

सडक भद्रगोल हुँदा गोदावरी जाने पर्यटक घटेका छन्। होटल तथा रेष्टुरेन्ट सुनसान छन्। हरिसिद्धी–गोदावरी खण्ड कालोपत्रेको पर्खाइमा छ।

सरकारले गोदावरी ३ हजार क्षमताका सम्मेलन केन्द्र यसै महिना सक्दै छ। तर सडक कहिले सकिने कुनै टुंगो छैन।

Satdobato road 2

रत्नपार्क–गोदावरी हाइस सञ्चालन गर्ने चालक बाटो खराब हुँदा कमाएभन्दा गाडी मर्मतमा बढी खर्च हुने बताउँछन्। पहिला आधा घण्टामा पुगिने रुटमा अहिले १ घण्टामा पनि पुग्न सकिँदैन।

सडक विभागअन्तर्गतको सडक विस्तार आयोजनाले ‘साइट क्लियरेन्स’को काम नसकिँदा सडक विस्तारमा अवरोध भएको बताएको छ।

सरकारले उक्त सडकलाई २ वटा प्याकेजमा ठेक्का लगाएको छ। भौतिक संरचना हटाउन नसक्दा कम अघि नबढाएको सरकारले अहिले जति सडक उपलब्ध छ, त्यसैमा कालोपत्रे गर्ने तयारी गरेको छ।

भौतिक संरचना हटाउने जिम्मा काठमाडौं विकास प्राधिकरण जिल्ला आयुक्तलाई दिइएको छ। जसमा करिब २ सय घर सडक खण्डमा पर्ने जनाएको छ।

कार्यालयले क्षतिपूर्ति दाबीको लागि सूचना जारी गरे पनि अधिकांशले क्षतिपूर्ति नै दाबी गर्न नआएको बताइएको छ। घर बनेको मिति, घरको क्षेत्रफल, घरधनीको नामसहित निवेदन दिन सरकारले आग्रह गरेको थियो।

उक्त सडक खण्डमा लालपुर्जा नभएका, घरको नक्सापास नभएका, सार्वजनिक स्थालमा भएका घरलाई के गर्ने भन्नेमा विवाद रहेको आयोजनाले बताएको छ।

स्थानीयले भने घरसँगै जग्गाको क्षतिपूर्ति पनि पाउनुपर्ने माग गरी अदालतमा मुद्दा दायर गरेका छन्। सरकारले घरको मात्रै क्षतिपूर्ति दिने जग्गाको मुआब्जा दिन नसक्ने बताएको छ।

सडक विभागअन्तर्गतको सडक विस्तार अयोजना प्रमुख गुरु अधिकारीले चालू आर्थिक वर्षभित्र जति सडक खाली छ, त्यतिमै गरिसक्ने दाबी गरेका छन्।

‘अहिले जति सडक खाली भएको छ। त्यहाँ नाली बनाउने अनि बाँकीमा सडक बनाउने हो’, अधिकारीले भने, ‘गोदावरीबाट कालोपत्रे सुरु भएको छ। चालू आर्थिक वर्षमा सबै सडक कालोपत्रे बन्छ।’

उनले हरिसिद्धिदेखि बाडेगाउँसम्म औसत ७ मिटरको सडक कालोपत्रे हुने जानकारी दिए। गोदावरीको खण्डमा २० मिटरको जग्गामा १६ मिटर खाली गरिएको छ।

‘हामीले भौतिक संरचना हटेको ठाउँमा पनि विद्युत् प्राधिकरणले पोल नसार्दा राम्ररी काम अघि बढाउन सकेका छैनौँ’, अधिकारीले भने, ‘कति भन्यौँ, हामीले भनेको विद्युत प्राधिकरणले मान्दैन।’

भिडिओ: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .