ad ad

कारोबार


नेपाली कपडाको खपत ह्वात्तै बढ्यो, व्यवसायी भन्छन्– स्वदेशी उद्योगमैत्री नीति बनाऊ

नेपाली कपडाको खपत ह्वात्तै बढ्यो, व्यवसायी भन्छन्– स्वदेशी उद्योगमैत्री नीति बनाऊ

सन्तोष न्यौपाने
चैत ५, २०७७ बिहिबार ११:३८,

कोरोना संक्रमणले विदेशी सामान आयात सहज नहुँदा स्वदेशी उत्पादनको प्रयोग बढ्दै गएको छ। यसले स्वदेशी उद्योगलाई सहज बनाउँदै नेपाली उत्पादनको प्रयोग बढेको छ।

यसरी स्वदेशी सामानको माग बढ्नेमा स्वदेशी कपडा अगाडि छ। कोरोना संक्रमणको बहानामा चिनियाँ कपडाको आयात सहज नहुँदा स्वदेशी कच्चा कपडा तथा तयारी पोशाकको प्रयोग बढेको हो।

चीनबाट आउने सस्ता कपडा बजारमा उपलब्ध नभएपछि स्वदेशी कपडाको माग बढेको व्यवसायी बताउँछन्। उनीहरुका अनुसार नेपाली कपडा उत्पादन गर्ने उद्योग, गार्मेन्टदेखि तयारी पोशाक बनाउने कलकारखानासम्मलाई यसपालि भ्याइनभ्याइ छ।

दुई दशकदेखि स्वदेशी कपडा उत्पादन गर्दै आएका असनका इन्द्रमान महर्जनले लकडाउन खुलेपछि स्वदेशी कपडाको माग उच्च भएको बताए।

‘अहिले स्वदेशी कपडा उत्पादन गर्नेहरुलाई भ्याइनभ्याइ छ’, महर्जनले नेपालखबरसँग भने, ‘कच्चा कपडा लिनको लागि लाइन लागेर बस्नुपर्ने अवस्था छ।’

उनले नेपाल टिसर्ट नाममा डेढ दशकदेखि टिसर्ट उत्पादन गरिरहेका छन्। तयारी पोशाकमात्र होइन कच्चा कपडा पनि माग बढेको छ।

‘आफूले खोजेको कलरको कपडाको थान पाउन लाइन लागेर बस्नुपर्ने अवस्था छ’, महर्जनले भने, ‘धेरै वर्षदेखि चिनजान भएकाले मेरो लागि समस्या छैन।’

नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले पनि चीन र भारतबाट कपडा आयात असहज भइदिँदा स्वदेशी कपडाको माग बढेको बताए।

चीनबाट आयात कम हुने र स्वदेशमा पनि प्रशस्त उत्पादन भइरहेको अवस्थामा नेपाली कपडाको माग बढेको उनको भनाइ छ। पछिल्लो समय धागो र कच्चा पदार्थको मूल्य बढेको छ। त्यसले गर्दा उत्पादित कपडा पनि महंगो हुनपुगेको प्रधानले बताए।

विदेशी कपडा आयात सहज नहुँदा नेपाली कपडा बिक्री बढ्नुलाई ज्ञानका रुपमा लिएर सरकारले नीति तर्जुमा गर्नुपर्ने प्रधानले बताए।

‘यसलाई बुझेर सरकारले विदेशबाट आउने कपडालाई भन्सारमा कडाइ गर्ने, जथाभावी मूल्यांकन गरेर आउन दिन भएन’, प्रधानले भने, ‘यसो गरेमा राजस्व पनि बढ्छ र अर्कोतिर नेपालका कपडा उद्योगको उत्पादन बढ्छ।’

यसमा सरकारले ध्यान नदिएको उनीहरुको गुनासो छ।

स्वदेशी उत्पादनले आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेको अवस्था छ। यसको मुख्य कारण सरकारको नीतिदेखि कमजोर उत्पादन क्षमता हुनु हो।

प्रधानका अनुसार साफ्टाअन्तर्गत कटन कपडा आयात गर्दा ६ प्रतिशत भन्सार छुट छ। अरुलाई १५ प्रतिशत हुँदा उसलाई थप सुविधा हुन्छ। भ्याट पनि ३ प्रतिशत कम हुन्छ। जसले गर्दा १० प्रतिशत कम हुन जान्छ।

अर्कोतिर दुई वर्षअघि नेपाली कपडा उद्योगले मूल्यअभिवृद्धि करमा पाउँदै आएको सुविधा पनि कटौती गरेको थियो।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले २०७५ को बजेटमार्फत नेपाली कपडा उद्योगले पाउँदै आएको मूल्यअभिवृद्धि करमा छुट सुविधा हटाएका थिए।

नेपाली कपडा मूल्यअभिवृद्धि करमा दर्ता भए पनि त्यसमा छुटको व्यवस्था थियो। सुतीको हकमा समायोजन हुने र सिन्थेटिकको हकमा उठाइएको करमा ७५ प्रतिशत फिर्ता पाउने सुविधा थियो।

‘उक्त सुविधा हटाउँदाबित्तिकै नेपाली उत्पादनको मूल्य १३ प्रतिशतले वृद्धि भएको थियो’, प्रधानले भने, ‘यसले प्रतिस्पर्धी क्षमता घटेको छ।’

नेपालमा अहिले २ सय ५० भन्दा धेरै कपडा उद्योगहरु छन्। उद्योगको संख्या धेरै भए पनि उत्पादन भने कममात्र भइरहेको प्रधानले बताए।

यी उद्योगबाट वार्षिक झण्डै १ अर्ब मूल्यबराबरको कपडा उत्पादन भइरहेको छ भने ४० हजारले रोजगारी पाएका छन्।

नेपाली कपडा उद्योगको भविष्य राम्रो भएकाले अबको पाँच वर्षमा ३ लाखलाई रोजगारी दिन सकिने उनको भनाइ छ। नेपाली कपडा उद्योग फस्टाउँदा कपासखेतीदेखि धागो, कपडा र रेडिमेड कपडा व्यवसाय ठूलो रुपमा फैलिनसक्छ।

विदेशमा टेक्सटाइल उद्योगमा सरकारले अनुदान र सुविधा दिएर प्रवर्द्धन गरिरहेको भए पनि नेपालमा त्यस्तो सुविधा पाउन नसकेको व्यवसायीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .