ad ad

कारोबार


सर्वोत्तम सिमेन्टको आईपीओ बिक्री प्रबन्धकमा क्यापिटल मार्केट, ३ महिनाभित्र ३५ प्रतिशत लाभांश बाँडिने

सर्वोत्तम सिमेन्टको आईपीओ बिक्री प्रबन्धकमा क्यापिटल मार्केट, ३ महिनाभित्र ३५ प्रतिशत लाभांश बाँडिने

नेपालखबर
चैत ४, २०७७ बुधबार ६:५०,

सर्वोत्तम सिमेन्टले निष्काशन गर्नलागेको साधारण सेयरको बिक्री प्रबन्धकमा क्यापिटल मार्केट नियुक्त भएको छ। त्यस्तै सहबिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन्।

कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता सेयर वितरण गर्नलागेको हो। यसअनुसार २४ लाख कित्ता संस्थागत लगानीकर्तालाई, ८ लाख कित्ता स्थानीय जिल्लाबासीलाई र २८ लाख कित्ता कम्पनीका कर्मचारी र अन्य सर्वसाधारणलाई छुट्याएको छ।

कम्पनीले धितोपत्र बोर्डले ल्याएको नयाँ विधि ‘बुक बिल्डिङ’बाट मूल्य निर्धारण गरी साधारण सेयर जारी गर्नलागेको हो।

कम्पनीले यसरी जारी हुने आईपीओको प्रतिकित्ता मूल्य ७ सय ५० रुपैयाँभन्दा माथि हुने स्पष्ट पारेको छ।

कस्तो कम्पनी हो यो?
सर्वोत्तम सिमेन्ट प्रालि वि.सं. २०६७ सालमा इन्जिनियर विष्णुप्रसाद न्यौपानेको अगुवाइमा ७ जना स्वदेशी र विदेशी लगानीकर्ता मिली स्थापना भएको थियो। वि.सं. २०७१ मा क्लिंकर उत्पाद तथा बिक्री गर्दै २०७३ देखि यसले सिमेन्ट उत्पादन थालेको हो।

२०७६ साउनमा प्रालिबाट लिमिटेड कम्पनी बनेको सर्वोत्तम सिमेन्टको उत्पादन क्षमता ३ हजार टन प्रतिदिन क्लिंकर र सिमेन्ट ग्रिन्डिङ क्षमता हाल २८ हजार बोरा प्रतिदिन रहेको छ। २०७७ माघदेखि यसको क्षमता बढेर दैनिक ६० हजार बोरा (वार्षिक २ करोड बोरा) उत्पादन क्षमतायुक्त बनेको छ। यसले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

यसको चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ अर्थात् ३ करोड ४० लाख कित्ता सेयर संख्या छ। यसमा ६० लाख कित्ता सर्वसाधारणलाई जारी गर्दा चुक्ता पुँजी ४ अर्ब पुग्नेछ।

कम्पनीमा ५ सय बढी कामदार र कर्मचारी प्रत्यक्ष जोडिएका छन् भने ६ सय भन्दा बढी डिलर नेटवर्क रहेको छ।

प्रतिफल दिने आधार यस्तो छ
कम्पनीले वार्षिक २ करोड बोरा सिमेन्ट उत्पादन क्षमता भएको र कम चुक्ता पुँजीमा बढी उत्पादन हुँदा प्रतिफल बढी दिनसक्ने दाबी गरेको छ।

कम्पनीले आफ्नो व्यावसायिक उत्पादन सुरु गरेपछि नै नाफा कमाउँदै आएको र विगत ३ वर्षमा औसत (करपछि) मुनाफा वार्षिक १ अर्ब ४ करोड बढी रहेको जनाएको छ।

विगत ३ वर्षको औसत ईपीएस ५२ रुपैयाँ रहेको कम्पनीले आगामी ३ वर्षको औसत ईपीएस ४५ रुपैयाँभन्दा बढी हुने प्रक्षेपण गरेको छ।

कम्पनीको सञ्चिति २०७७ माघसम्म २ अर्ब ३१ करोड बढी छ। आगामी ३ वर्षमा आयकरमा ५० प्रतिशत छुट पाउने हुँदा बढी प्रतिफल दिनसक्ने कम्पनीको दाबी छ।

आईपीओबाट पैसा उठाएर ४० प्रतिशत ऋण तिर्ने
त्यस्तै कम्पनीले आईपीओ निष्काशनपछि संकलित रकममध्ये ४० प्रतिशतले ऋण भुक्तानी गरी शतप्रतिशत ऋणमुक्त हुने र बाँकी रकम उत्पादन क्षमता दोब्बर गर्ने योजना बनाएको छ। यसबाट ४ वर्षपछि वार्षिक प्रतिफल ७५ प्रतिशतभन्दा बढी हुन जाने कम्पनीको प्रक्षेपण छ।

आईपीओ जारी भएको ३ महिनाभित्र १० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने निश्चित भएकोले सोबापत झण्डै सय रुपैयाँ प्रतिसेयर आम्दानी हुने कम्पनीले जनाएको छ।

सेयरधनीले तिरेको ६ सय ५० रुपैयाँ प्रिमियमको १५ प्रतिशतले हुन आउने प्रतिसेयर ९७÷५० रुपैयाँ कम्पनीको सञ्चित कोषमा रहने भएकोले सोबापत थप बोनस सेयर जारी हुने सम्भावना समेत रहेको कम्पनीको दाबी छ।

यो कम्पनीले आईक्राबाट आईपीओ रेटिङ बीबीबी प्लस पाएको छ। सोही कारण कम्पनी लगानीकर्ताको लागि औसतभन्दा बढी राम्रो रहेको जनाएको छ।

कम्पनीको सेयर संस्थागत लगानीकर्ताले ७ सय ५० रुपैयाँ र सर्वसाधारणले १० प्रतिशत कम ६ सय ७५ रुपैयाँमा पाउनेछन्।

त्यस्तै कम्पनीले आफ्नो हालसम्मको रिजर्भबाट १० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने हुँदा सेयर खरिदको ३ महिनाभित्र लगभग सय रुपैयाँ बराबरको प्रतिफल प्राप्त हुने र त्यसले गर्दा लगानीकर्ताको सेयर मूल्य ६ सय ७५ बाट सय रुपैयाँ घटेर ५ सय ७५ रुपैयाँ मात्र पर्न जाने बताएको छ।

कम्पनीसँग अनुभवी सञ्चालक र ९० वर्षलाई पुग्ने चुनढुंगा खानी रहेको कम्पनीले दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .