कारोबार


सेनाको कल्याणकारी कोषद्वारा ४ अर्ब ४३ करोडको कर्जा वितरण

सेनाको कल्याणकारी कोषद्वारा ४ अर्ब ४३ करोडको कर्जा वितरण

नेपालखबर
साउन २५, २०७६ शनिबार १०:४०,

सैनिक कल्याणकारी कोषले आफ्ना हिताधिकारीलाई चार अर्ब ४३ करोड ११ लाख ८६ हजार लघुवित कर्जा उपलब्ध गराएको छ।

सेवामूलक व्यवसाय सञ्चालन गरी लाभग्राहीको आय आर्जन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरिएको लघुवित कर्जा तथा सुलभ घरकर्जा कार्यक्रमबाट हालसम्म २६ हजार ६ सय ४१ जना लाभान्वित भएको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए। नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा सहुलियत ब्याजदर (वार्षिक ४.५ प्रतिशत)मा कर्जा दिने व्यवस्था गरिएको छ।

सैनिक सेवाबाट अवकास भएका व्यक्तिको जीवनलाई सवल र सक्रिय तुल्याउन योगदान पुगोस् भन्ने हेतुले कोषले परिवार तथा आवास अनुदान सहुलियत कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति मासिक चार सय रुपैयाँका दरले कल्याणकारी कोषबाट अनुदान दिई अवकाश हुँदाका बखत एक मुष्ट साँवा ब्याज लिन पाउने व्यवस्थासहित सकलदर्जाका लागि आवास र बीमा कार्यक्रम सञ्चालन भइरहेको कोषले जनाएको छ।

कोषले विगतको द्वन्द्वमा अशक्त भएकालाई राहतस्वरुप ३७ जनालाई स्कुटर, १५६ जनालाई ह्वाल चियर तथा ६५ जनाको नाममा मुद्दति खाता खोलेर प्रतिव्यक्ति एक लाख चार हजार जम्मा गरिदिएको जनाएको छ। सैनिक विद्यालय तथा महाविद्यालयमा अध्ययन गर्न मौका नपाएका सैनिक परिवारका एक सन्तानलाई १० हजार प्रतिवर्ष उपलब्ध गर्दै आएको छात्रवृत्ति रकमलाई बढाएर २० हजार पु¥याइएको छ । सेवामा रहँदा मृत्यु भएका सैनिकका दुई सन्तानलाई ६ देखि १४ वर्ष उमेर नपुगेसम्म उपलब्ध गराउँदै आएको १२ हजारबाट वृद्धि गरी रु २० हजार प्रतिवर्ष पुर्‍याइएको जानकारी दिइयो ।

कोषले उपलब्ध गराउने छात्रवृत्तिबाट २१ हजार ४६८ सन्तति लाभान्वित भएको जनाइएको छ । सेवामा रहेका र अवकाश प्राप्त गरेका सैनिकका सन्ततिलाई स्वदेश वा विदेशमा चिकित्साशास्त्र, इञ्जिनीयरिङ, सूचना प्रविधि, कृषि, पशुविज्ञान तथा वन विज्ञान सङ्कायमा स्नातक तहको अध्ययनको लागि सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा कार्यक्रममार्फत १४५ जनालाई ५ प्रतिशत ब्याजमा २१ करोड ७४ लाख कर्जा उपलब्ध गराउन कोषले सिफारिस गरेको छ ।

सैनिक विद्यालय नभएका प्रदेशका हिताधिकारीका सन्ततिलाई अध्ययन सुविधाका लागि कोषले प्रदेश नं २ र ५ का १९ वटा उत्कृष्ट निजी तथा सामुदायिक विद्यायय छनौट गरी ५२१ जनालाई अध्ययनको व्यवस्था मिलाएको जनाइएको छ । आगामी वर्ष ७७ जिल्लामा उक्त सुविधा विस्तार गर्ने जनाइएको छ ।

कोषद्वारा सञ्चालित विद्यालय र महाविद्यालयबाट माध्यमिक शिक्षा परीक्षमा कुल एक हजार ९४ जना विद्यार्थी सामेल भएकामा ७८।५ प्रतिशत विद्यार्थीले ए भन्दा माथिल्लो ग्रेडिङ प्राप्त गरेको कोषद्वारा शुुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आव २०७५/७६मा सैनिक विद्यालयमा अध्ययनरत सैनिकतर्फका ३३२ विद्यार्थीलाई नौ करोड २४ लाख तथा गैरसैनिकतर्फका १३२ विदार्थीलाई सात करोड ७६ लाख बराबरको छात्रवृत्ति उपलब्ध गराइएको जानकारी दिइयो।

नेपाल मेडिकल काउन्सिलद्वारा लिइएको एमबिबिएसको अनुमति परीक्षामा देशभरको औसत उर्तिण ४० प्रतिशत रहेकोमा कोषद्वारा सञ्चालित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको नतिजा शतप्रतिशत रहेको बताइयो । सैनिक विद्यालय तथा महाविद्यालयमा कूल विद्यार्थी सङ्ख्याको ४० प्रतिशत विद्यार्थी गैरसैनिकका सन्तति भर्ना लिने व्यवस्था गरिएको छ । बहालवाला तथा अवकाश प्राप्त सैनिकका श्रीमान्÷श्रीमतीलाई सैनिक अस्पतालमा उपचार हुन नसक्ने गम्भीर प्रकृतिको रोग लागेमा प्रतिव्यक्ति पाँच लाखसम्मको उपचार सुविधा प्राप्त गर्ने स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको कोषले जनाएको छ ।

कोषद्वारा सञ्चालित वीरेन्द्र सैनिक अस्पतालबाट २०७६ असार मसान्तसम्ममा चार लाखले स्वास्थ्य उपचार सेवा लिएकामा त्यसमध्ये ९३ हजार ११२ थप उपचारका लागि अस्पताल नै भर्ना भएका थिए । उक्त अस्पतालबाट हालसम्म एक हजार ९१ जना गैर सैनिकले पनि स्वास्थ्य उपचार सेवा लिएको कोषले जनाएको छ ।

कोषमार्फत बहालमा रहेका सैनिक तथा भूपूका परिवारजनलाई लक्षित गरेर विभिन्न सीपमूलक स्वरोजगार तालीमसमेत सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .