ad ad

कारोबार


तीन हजार किमि क्षेत्रमा मोबाइल सेवाको गुणस्तर परीक्षण हुँदै, मापदण्ड पूरा नगर्ने कम्पनीलाई कारबाही

तीन हजार किमि क्षेत्रमा मोबाइल सेवाको गुणस्तर परीक्षण हुँदै, मापदण्ड पूरा नगर्ने कम्पनीलाई कारबाही

नेपालखबर
माघ १४, २०७७ बुधबार १०:७,

मोबाइल सेवाको गुणस्तरका विषयमा धेरै गुनासो आउनथालेपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अनुगमन योजना अगाडि बढाएको छ।

देशका मुख्य सहर, ग्रामीण र हाइवे क्षेत्रका उपभोक्ताले कस्तो मोबाइल भ्वाइस र डाटा प्रयोग गरिरहेका छन् भनेर प्राधिकरणले तीनवटा प्रदेशको ३ हजार किलोमिटर क्षेत्रमा मोबाइल सेवाको गुणस्तर परीक्षण गर्नलागेको हो।

उपभोक्ताले प्राधिकरणले तोकेअनुसारको भ्वाइस र डाटा सेवा प्राप्त गर्न सकेका छन् कि छैनन् भनेर सेवा गुणस्तर जाँच गर्न लागिएको प्राधिकरणले जनाएको छ।

यसअनुसार हाल सञ्चालनमा रहेका नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको सेवाको गुणस्तर परीक्षण गरिनेछ। सेवा गुणस्तर परीक्षणको लागि तीनवटा प्रदेशमा ३ हजार किलोमिटर क्षेत्र छानिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए।

परीक्षणको लागि प्रदेश १, २ र गण्डकीका ९ वटा सहर र त्यसवरिपरिका क्षेत्रहरु छनोट गरिएको छ। जसअनुसार प्रदेश १ मा विराटनगर, बिर्तामोड र इलाममा एक हजार ५० किलोमिटर क्षेत्र परीक्षण गरिनेछ।

त्यस्तै, प्रदेश २ मा जनकपुर, धरान र वीरगन्जको एक हजार किलोमिटर क्षेत्रफलमा र गण्डकी प्रदेशको गोरखा, दमौली र कास्कीको ९ सय ५० किलोमिटर क्षेत्रफलमा यस्तो परीक्षण गर्न लागिएको हो।

३ हजार किलोमिटर क्षेत्र छनोट गर्दा यससँग जोडिएका सहरी, गाउँ, हाइवेलाई मिलाइएको अर्यालले बताए।

‘सहर, ग्रामीण क्षेत्र र हाइवेमा कस्तो छ भनेर एकै पटक पत्ता लगाउन सकिनेछ’, अर्यालले भने।

प्राधिकरणले मोबाइल सेवा दिइरहेका कम्पनीको सेवालाई अनुगमन गर्ने क्रममा यो परीक्षण अगाडि बढाएको हो।

यसमा प्राधिकरणले तोेकेका विभिन्न किसिमका उपकरण, टुल्सहरु प्रयोग हुनेछन्। सबै क्षेत्रमा कस्तो छ हेरेर मापदण्डअनुसार गरेको छ कि छैन, प्रतिवेदन तयार हुनेछ। मापदण्डअनुसार छैन भने सुधारको लागि मौका दिने र त्यसपछि जरिवाना समेत हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले कात्तिक महिनामा अनुगमन गर्ने कम्पनी छनोट गर्न प्रस्ताव आह्वान गरेको थियो। जुन प्रस्तावअनुसार पहिलो चरणमा ६ वटा कम्पनी छनोट भएको अर्यालले बताए।

ती कम्पनीबाट पुनः आर्थिक र प्राविधिक प्रस्ताव मागिँदै छ। आर्थिक र प्राविधिक प्रस्तावको मूल्यांकनपछि एउटा कम्पनी छनोट हुनेछ।

छनोट भएको कम्पनीले प्राधिकरणले तोकेको मापदण्ड, प्राविधिक उपकरणहरु प्रयोग गरेर मोबाइल सेवाको भ्वाइस र डाटाको गुणस्तर परीक्षण गर्नेछ। ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको यो परियोजनाले ३ महिनामा काम सकेर त्यसको प्रतिवेदन प्राधिकरणलाई बुझाउनेछ।

प्राधिकरणले पहिलो चरणमा महाकाली प्रोफेसनल बिजनेस नेटवर्क, मेची टेक्नोलोजी एण्ड सप्लायर्स, स्मार्ट म्यानेजमेन्ट एण्ड रिसर्च र जय बागेश्वरी कन्स्ट्रक्सन एण्ड सप्लायर्स (जेभी), ई–कोइल प्रालि र जलजला बिल्डर्स एण्ड इन्फ्रास्ट्रक्चर (जेभी), इन टेल्को र सोलुुसन इन्क्लुसिभ एभेरेष्ट माइक्रोटेकलाई छनोट गरेको छ।

प्राधिकरणले मोबाइल सेवाको गुणस्तर परीक्षण मुलुकभर योजना अनुरुप यो काम अगाडि बढाइएको अर्यालले बताए। एकै पटक मुलुकभर गर्न नसकिने भएकाले यसपालि तीन प्रदेशका ३ हजार किलोमिटर क्षेत्रलाई छुट्याइएको प्राधिकरणको भनाइ छ।

अन्य क्षेत्रमा पनि यसैगरी गुणस्तर परीक्षण हुँदै जानेछ।

मोबाइल सेवाबाहेक प्राधिकरणले अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले दिने इन्टरनेट सेवाको गुणस्तर पनि परीक्षण गर्ने योजना अगाडि सारेको छ। मोबाइल डाटा र उक्त फिक्स लाइन छुट्टै प्रकृतिका भएकाले फिक्सलाई छुट्टै तरिकाले परीक्षण गर्ने योजना छ।

हाल मुलुकमा नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलले मोबाइल सेवा दिइरहेका छन्। उनीहरुले भ्वाइस र डाटा सेवामा बेलाबेलामा उपभोक्ताले गुणस्तर नभएको गुनासो गर्दै आएका छन्।

कतिपय ग्रामीण क्षेत्रमा भ्वाइस सेवा स्पष्ट नहुने र डाटा पनि राम्रोसँग नचल्ने अवस्था छ। उपभोक्ताले तिरेको मूल्यअनुसार मोबाइल सेवाको गुणस्तर पाउनसकेका छैनन्।

हाल मुलुकमा ४० वटाभन्दा धेरै इन्टरनेट सेवा कम्पनीहरुले इन्टरनेट सेवा दिइरहेका छन्। उनीहरुले तार र ताररहित सेवा दिइरहेका छन्।

मोबाइल सेवामा जस्तै इन्टरनेट सेवा प्रदायक कम्पनीको सेवामा पनि उपभोक्ताबाट गुनासो हुँदै आएको छ।

एकपटक इन्टरनेट जोडेपछि केही दिन वा केही महिना राम्रोसँग चल्ने र त्यसपछि विस्तारै गुणस्तर कमजोर हुँदै जाने समस्या छ। सुरुको अवस्थामा राम्रोसँग सेवा दिए पनि त्यसपछि उपभोक्ताको समस्यालाई ध्यान नदिने, एउटा ग्राहकको इन्टरनेटलाई अन्य ग्राहकसँग सेयर गरिदिने, भनेको समयमा समस्या समाधान नगर्ने जस्ता धेरै समस्या उपभोक्ताले व्यहोर्दै आएका छन्।

यस विषयलाई ध्यानमा राखेर फिक्स्ड लाइन इन्टरनेट सेवाका गुणस्तर अनुगमन तथा परीक्षण गर्ने योजना बनाएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .