ad ad

कारोबार


चन्द्रागिरिका स्थानीयले छोडे ‘नाजायज’ माग, अब नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा धमाधम काम हुने

चन्द्रागिरिका स्थानीयले छोडे ‘नाजायज’ माग, अब नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा धमाधम काम हुने

नेपालखबर
पुस २३, २०७७ बिहिबार १०:३१,

चन्द्रागिरिका स्थानीयले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा अवरोध हुने गरी राखेको ‘नाजायज’ माग छाडेका छन्।

स्थानीयले सुरुङमार्गमाथिको जग्गाको पनि मुआब्जा चाहिने भन्दै माग गरे पनि पछि हटेका हुन्।

चन्द्रागिरि नगरपालिका २ का वडा अध्यक्ष गोपी सुर्खेतीको संयोजकत्वमा स्थानीयले गत आइतबार आयोजनासँग मुआब्जा पाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।

२०७२ सालमा पहिलोपटक केपी ओली प्रधानमन्त्री भएको बेला सुरु गर्ने भनिएको आयोजना २०७६ कात्तिक ४ गते मात्रै शिलान्यास भएको थियो।

त्यसको १४ महिनापछि सुरु भएको सुरुङ खन्ने कार्यमा वडाअध्यक्षकै नेतृत्वमा अवरोध सुरु भएपछि सर्वत्र आलोचनापछि नगरपालिका मेयरको सहजीकरणपछि स्थानीय पछि हटेका हुन्।

स्थानीयले सुरुङमार्गमाथिको मुआब्जासहित ८ बुँदे माग राख्दै आयोजनालाई २ दिनभित्र माग पूरा हुनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका थिए।

‘हामीले ज्ञापनपत्र बुझाएपछि नगरपालिकामा बैठक बसेका थियौँ’, वडा २ का अध्यक्ष सुर्खेतीले भने, ‘अब नगरपालिकासँगको समन्वयमा अघि बढ्ने सहमति भएको छ।’

उनले नगरपालिकाले सुरुङ मार्गमाथिको जग्गामा भौतिक संरचना बनाउन नक्सा पास गर्ने सहमति भएको बताएका छन्।

‘आयोजनाले सुरुङको माथि डिप बोरिङलगायतको काम गर्न नपाउने भन्ने वडामा पत्र आएको थियो’, सुर्खेतीले नेपालखबरसँग भने, ‘नगरपालिकाले सुरुङ मार्गमाथिको जग्गामा घर बनाउन नक्सा पास गर्ने सहमति भएको छ।’

उक्त वडामा सुरुङमाथिको ९८ प्रतिशत जमिन पर्छ ।

आयोजनाले डिपबोरिङ धेरै गहिरो हुँदा त्यसको निर्माणमा रोक लगाए पनि घर बनाउनको लागि रोक नलगाइएको बताएको छ।

आयोजनाका अनुसार सुरुङमार्ग जमिनभन्दा १०० मिटर तल सुरुङमार्ग बन्ने भएकाले घर सुरुङमार्ग माथिको जग्गामा घर बनाउँदा कुनै असर पर्दैन।

वडाअध्यक्ष गोपी सुर्खेतीले आफूहरुको जमिनमाथिको अधिकारको विषय स्पष्ट भए पनि अन्य माग यथावत् रहेको बताए।

‘अहिलेसम्म बाबुबाजेले बनाएका मुहानबाट पानी खाइरहेका छौँ’, उनले भने, ‘तर सुरुङ खनेपछि मुहान सुक्छन्। राष्ट्रिय गौरवको आयोजना बनेपछि स्थानीयले पानी खान पैसा तिर्नु नपरोस् भन्ने माग हो।’

आयोजनाबाट आफ्नो वडाका पाँच सय घरधूरी प्रभावित हुने उनी बताउँछन्। कृषिका लागि अहिले भइरहेको सिँचाइ पनि सुक्ने भएकाले यसको वैकल्पिक व्यवस्था आयोजनाले गरिदिनुपर्ने माग स्थानीयको माग रहेको छ ।

सुरुङमार्ग आयोजनाले पानीको व्यवस्थापन गरिदिने विषयमा पहिले नै सम्झौता भएको जनाएको छ। आयोजनाले वडा अध्यक्ष र मेयरले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले मेयरको समन्वयमा रोकिएको काम पनि सुरु भएको बताएका छन्।

‘खानेपानी व्यवस्थापन सम्बन्धी यसअघि नै सम्झौता भएको थियो,’ शाक्यले भने‘स्थानियले थप माग गर्दै केहिकाम अवरोध भएका थिए। मेयरले सहजिकरण गरेपछि सबैकाम बिहिबारबाट शुचारु भएको छ।’

१९ मिटर सुरुङ खनियो
२.७ किलोमिटर सुरुङमार्ग मध्ये सिस्नेखोला तर्फबाट १९ मिटर सुरुङ निर्माण भइसकेको छ। थानकोटतर्फको सुरुङ खन्ने कार्यको लागि पोर्टल बनाउने काम भइरहेको छ। केही दिनमै दुवैतर्फबाट सुरुङ खन्ने कार्य सुरु हुने आयोजना प्रमुख शाक्यले जानकारी दिए।

जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा करिब ३ किलोमिटर पहुँचमार्गसहित सुरुङमार्ग निर्माण हुनलागेको हो। आयोजनाका अनुसार समानान्तर दुईवटा सुरुङ हुनेछन्। यसमा मुख्य सुरुङ दुई लेनभन्दा ठूलो तर ३ लेनभन्दा सानो हुनेछ भने अत्यावश्यक समयमा प्रयोग गर्न सकिने सुरुङ निर्माण हुनेछ।

अहिले १९ मिटर निर्माण भएको सुरुङ काठमाडौं–धादिङ सीमा सिस्नेखोलामा इस्केप टनेल अर्थात् अत्यावश्यक अवस्थामा मुख्य टनेलको विकल्पमा प्रयोग गरिने टनेलको हो।

सुरुङमार्ग करिब २२ अर्ब रुपैयाँको लागतमा निर्माण हुँदै छ। जसमा जापानको १६ अर्ब रुपैयाँ सहुलियत ऋण र ६ अर्ब नेपाल सरकारले व्यहोर्नेछ। निर्माणको ठेक्का जापानी कम्पनी हाज्मा–आन्दो कर्पोरेसनले पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .