ad ad

कारोबार


पाँचौँ पटक थपिएको म्यादमा पनि बनेन भैरहवा विमानस्थल

पाँचौँ पटक थपिएको म्यादमा पनि बनेन भैरहवा विमानस्थल

वसन्त अर्याल
पुस १५, २०७७ बुधबार ७:२६,

पटक–पटक म्याद थप्दा पनि भैरहवा विमानस्थलको निर्माणकार्य समयमै नसकिने भएको छ।

वि.सं. २०७१ मा सुरु भएको भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना पाँचौँपटक म्याद थप गर्दा समेत समयमै सम्पन्न नहुने भएको हो।

कोरोना कहरकै बीच पोखरा विमानस्थलमा चिनियाँ कामदार आइसकेका छन् तर भैरहवा विमानस्थलमा भने ठेकेदारले अझै कामदार ल्याउनसकेको छैन।

भैरहवा विमानस्थलको पाँचौँ पटकको थप भएको म्याद पनि यही पुस १६ अर्थात् डिसेम्बर ३१ मा सकिँदै छ। विमानस्थलमा आवश्यक पर्ने उपकरण जडानका लागि चिनियाँ कामदार आउन नसक्दा काम रोकिएको आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार विमानस्थलका लागि आवश्यक उपकरण आइसकेको छ। भैरहवा विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले ९४ प्रतिशत काम सकिएको बताए।

‘भैरहवा विमानस्थलका लागि पनि कामदार आउने पक्रिया सुरु भएको छ’, अधिकारीले नेपालखबरसँग भने, ‘चिनियाँ कामदार कोरोना खोप लगाएर मात्रै आउने भएकाले ढिलाइ भएको हो।’

उनले खोप लगाएर नेपालका लागि हिँडेका कामदार त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदा एक जनामा कोरोना पोजेटिभ देखिएपछि सबै रोकिएको बताए।

‘भैरहवा विमानस्थलमा उपकरण जडानका लागि ३५ जना कामदार आवश्यक छ। पहिलो चरणमा १० जनाको लागि प्रक्रिया भएको छ’, अधिकारीले नेपालखबरसँग भने, ‘विमानस्थलका लागि आवश्यक सबै उपकरण आइसकेको छ। ९८ प्रतिशत उपकरण आइसकेको छ। बाँकी बोर्डरमा रोकिएको पनि आउने प्रक्रियामा छ।’

अब ६ प्रतिशत मात्रै काम बाँकी छ। ०७१ माघमा शिलान्यास भएको विमानस्थल समयमै काम भएको भए ०७४ पुस मसान्तमा सकिनुपथ्र्यो।

स्थानीय ठेकेदारसँगको विवादले लामो समय काम रोकिँदा निर्माणकार्य पर धकेलिएको निर्माण पक्षको दाबी छ। निर्धारित समयमा काम नसकिएपछि २०१८ को जुनसम्ममा सम्पन्न गर्ने गरी म्याद थप गरियो। उक्त समयावधिमा राम्रो प्रगति हुनसकेन, तेस्रोपटक २८ जुन २०१९ मा थपियो।

तेस्रोपटक थप गर्दा पनि नसकिएको काम डिसेम्बर २०१९ सम्म गर्ने भनियो। डिसेम्बरमा फेरि म्याद थप गरी २०२० को मार्चमा पुर्याइयो। आयोजनाले नयाँ वर्ष मनाउन गएका कामदार कोभिडका कारण आउनै पाएनन्। मार्चपछि पाँचौँ पटक थपिएको म्याद बिहीबार सकिँदै छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले भैरहवा विमानस्थलको अन्तिम म्याद डिसेम्बरसम्म मात्रै रहेको जानकारी दिए।

आयोजना प्रमुख अधिकारी भने अब उपकरण जडान र साना फिनिसिङका काम मात्रै बाँकी रहेको बताउँछन्। उनले भने, ‘कामदार आएपछि छोटो अवधिमै काम सकिन्छ।’

एसियाली विकास बैंकको ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माणकार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाखमा ठेक्का लिएको थियो।

पोखरा विमानस्थल ६ महिनामा सकिने
तीव्ररुपमा काम भएको पोखरा विमानस्थल यो महिनामा सक्ने लक्ष्य राखिएको थियो। तर कोभिडका कारण पोखरा विमानस्थलमा चिनियाँ कामदार तथा निर्माण सामग्रीको अभावले केही अल्झन देखिएको आयोजनाको भनाइ छ।

‘अहिलेसम्म ६८ प्रतिशत काम भएको छ। अझै हामीसँग ६ महिना बाँकी छ’, आयोजना प्रमुख विनेश मुनाकर्मीले भने, ‘पोखरा विमानस्थलमा अब उपकरणको काम बाँकी छ। १८ प्रतिशत काम उपकरण जडानको रहेको छ। त्यो काम सकिँदाबित्तिकै धेरै काम सकिन्छ।’

विमानस्थलमा मुख्यगरी उपकरण जडानको काम बाँकी रहेको उनी बताउँछन्।

‘१५८ जनाको भिसा स्वीकृत भएको छ। जसमा ५२ जना आइसकेका छन्। जनवरी थप १ सयभन्दा बढी कामदार आउँछन्’, उनले भने, ‘अब आउनलागेका कामदारहरु उपकरणसम्बन्धी काम गर्ने आउँदै छन्।’

सन् २०२१ जुलाई १० भित्रमा निर्माणसम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले ०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो । जसको लागत करिब २२ अर्ब रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .