ad ad

कारोबार


कलंकी–महाराजगञ्ज चक्रपथ विस्तारः अघिल्लो गल्ती सच्याइने

कलंकी–महाराजगञ्ज चक्रपथ विस्तारः अघिल्लो गल्ती सच्याइने

नवराज रेग्मी
जेठ २७, २०७६ सोमबार ७:३८,

चक्रपथ सुधार आयोजनाले कलंकी–महाराजगञ्ज चक्रपथ सडक विस्तारी गरेसँगै पहिला देखिएका गल्ती सच्याउन लागिएको हो।

चीन सरकारको सहयोगमा चक्रपथ विस्तारको पहिलो चरण अन्तर्गत कलंकी–कोटेश्वर सडक विस्तार भएको थियो। यो खण्ड विस्तारमा इन्जिनियरिङदेखि अन्य विषयमा समेत गल्ती देखिएका थिए।

दोस्रो खण्ड पनि चीन सरकारकै सहयोगमा हुन लागेको हो।

आयोजनाका इन्जिनियर निरञ्जन शर्मा अर्यालका अनुसार दोस्रो खण्डमा पैदालयात्रु, साइकल यात्रीलाई समेत ध्यान दिएर डिजाइन बनाइनेछ। ‘साइकलयात्रीका लागि छुट्टै लेनको व्यवस्था हुनेछ’, उनले नेपालखबरसँग भने, ‘सडकको बीच भागमा डबल लाइन मार्किङको साटो मुख्य डिभाइडर राखिनेछ।’

दोस्रो खण्डको विस्तृत योजना प्रतिवेदन (डीपीआर) निर्माण आउने क्रममा छ। चीनले स्थलगत अध्ययन गरी प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाए पनि अन्तिम अध्ययन प्रतिवेदन बुझाइसकेको छैन। अघिल्लो योजना निर्माणका क्रममा भएका त्रुटि सच्याई विस्तृत अध्ययन प्रतिवेदन सरकारलाई बुझाएपछि मात्रै काम सुरु हुने इन्जिनियर शर्मा बताउँछन्।

सरकारले संरचना हटाए भुक्तानी दिनुपर्ने
सडक विभागले कलंकी–महाराजगञ्ज चक्रपथ सडक सीमाभित्र पर्ने स्थायी र अस्थायी प्रकृतिका संरचना हटाउने प्रक्रिया सुरु गरेको छ। सडक विभाग अन्तर्गत वैदेशिक समन्वय महाशाखाअन्तर्गतको काठमाडौं चक्रपथ सुधार योजनाले शुक्रबार सूचना प्रकाशित गर्दै सडक सीमा दायाँबायाँ दुवैतर्फ ३१–३१ मिटरभित्र रहेका स्थायी र अस्थायी संरचना १५ दिनभित्र हटाउन सूचना जारी गरेको हो।

उक्त खण्डमा निर्माण, सुधार र विस्तार तत्काल सुरु हुने भन्दै १५ दिने समयसीमा तोकेर हटाउन भनिएको छ।

विभागले चक्रपथ सडक सीमाभित्रका घर, टहरा, घुम्ती, बिग्रिएका सवारीसाधन र हार्डवेयरका पसल, सामान तथा अन्य प्रकृतिका पसल हटाउन तथा त्यस्ता संरचना नराख्न समेत भनेको छ। १५ दिनभित्र सडक सीमा खाली नगराए सार्वजनिक सडक ऐन २०३१ को दफा १८ बमोजिम काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयले भत्काउनेछ।

सरकार आफैँले संरचना हटाए पनि त्यसको भुक्तानी सम्बन्धित धनीसँग असुल उपर गरिने योजना प्रमुख अमृतमणि रिमाल बताउँछन्। यसरी संरचना हटाउने समय सीमा असार ६ गतेसम्मलाई तोकिएको छ।

संरचनाधनीले नहटाए मात्र सरकारले हटाउनेछ।

सुधार योजनाको दोस्रो खण्डको रुपमा कलंकी–महाराजगञ्ज सडक विस्तार सुरु गर्न लागेको हो।

पहिलो चरणमा कलंकी–कोटेश्वर चक्रपथ १०.३९ किलोमिटर सडक विस्तार भएको थियो। यसका लागि करिब ५ अर्ब रुपैयाँ लागत खर्च भएको थियो। पहिलो खण्डमा चार ठाउँमा मोटरेबल पुल तथा तीनवटा आकाशेपुल चीनले बनाइदिएको थियो। पछि डिजाइनमा सुधार गर्ने कुरा आएपछि नेपालले सरकार लागतमा ६ वटा आकाशेपुल थप्ने योजना बनेको थियो।

दोस्रो खण्ड निर्माणको लागत करिब ६ अर्ब रहने अनुमान गरिएको छ। निर्माण सुरु हुनुभन्दा अघि नै सार्वजनिक खरिद ऐन छैटौँ संशोधनअनुसार साइट क्लियर गर्ने, पोल, खानेपानी, ढललगायतको व्यवस्थापन गरिसक्नुपर्ने हुन्छ। त्यसपछि मात्र काम सुरु हुने योजनाका इन्जिनियर निरञ्जन शर्मा अर्याल बताउँछन्।

विस्तार चाबहिलसम्म लम्बिनसक्छ 
कलंकी–महाराजगञ्ज क्षेत्र भनी सूचनामा उल्लेख गरे पनि योजना चाबहिलसम्म लम्बिन सक्ने इन्जिनियर शर्मा बताउँछन्। महाराजगञ्जसम्म कलंकीदेखि करिब १२ किमी दूरी पर्दछ। जुन अघिल्लो खण्डको भन्दा धेरै हो। तुलनात्मक रुपमा दोस्रो खण्डलाई सडक विस्तारको लागि सहज मानिए पनि महाराजगञ्ज क्षेत्रमा धेरै स्थायी संरचना हटाउनुपर्ने स्थिति छ। चाबहिलसम्म विस्तार भए चाबहिलमा पनि स्थायी संरचना भत्काउनुपर्ने हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .