ad ad

कारोबार


सिंहदरबारभित्रकै काम अति सुस्त, संसद भवन निर्माण १ वर्षमा १५ प्रतिशत मात्रै

सिंहदरबारभित्रकै काम अति सुस्त, संसद भवन निर्माण १ वर्षमा १५ प्रतिशत मात्रै

वसन्त अर्याल
मंसिर २९, २०७७ सोमबार ७:५३,

सिंहदरबारपरिसरमै बन्नलागेको संसद भवनको निर्माणकार्य १ वर्ष बढी हुँदा १५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ।

गत वर्ष असोजमै शिलान्यास भएको भवनको काम तीव्र गतिमा हुन नसकेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारको पुतली बगैँचामा भवनको शिलान्यास गर्दै आगामी आम निर्वाचनमा जानुपहिले संसद भवन सञ्चालन गर्ने दाबी गरेका थिए।

वि.सं. २०७४ को चुनावअघि ५ वर्षमा थुप्रै आयोजना सम्पन्न गर्ने सपना बाँडेर प्रधानमन्त्री भएका ओलीको शासनकालमा सिंहदरबारभित्रै निर्माण भइरहेको संसद भवन पनि सम्पन्न नहुने देखिएको छ।

३ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको भवनका अधिकांश काम भइरहे पनि गति भने निकै सुस्त छ। संघीय संसद् भवनपरिसरमा मुख्य ११ भवनसहित सहायक भवन निर्माण हुनलागेको हो।

samshad bhawan singhadurbar3

संसद भवनको निर्माणमा कन्सलट्यान्टको रुपमा काम गरिरहेका आर्किटेक्चर इन्द्र श्रेष्ठले विभिन्न संरचना निर्माणको काम धमाधम भए पनि अबको २ वर्षभित्र सबै काम सक्न अप्ठ्यारो रहेको बताए।

‘अहिलेसम्म करिब १५ प्रतिशत मात्रै काम भएको छ’, श्रेष्ठले नेपालखबरसँग भने, ‘३ वर्षको समयसीमामध्ये १ वर्ष बढी भएको छ। अबको दुई वर्षमा सबै काम सक्न अप्ठ्यारो नै छ।’

उनले केही भवन निर्माणको जग हाल्ने काम भइसकेको र केही अझै बाँकी रहेको बताए। उनले कोभिडको समयमा केही असर परे पनि पछिल्लो तीन महिनामा तीव्र गतिमै काम भएको दाबी गरे।

कस्ता संरचना बन्दै छन् ?
परिसरभित्र एक–एकवटा प्रतिनिधि तथा राष्ट्रिय सभा भवन निर्माण हुनेछन् भने साझा लबी, अतिविशिष्ट व्यक्तिको कार्यालय, पुस्तकालय र संग्रहालय, संसदीय दलको कार्यालय, संसदीय सचिवालयको भवन, चमेनागृह, प्रेस छपाइ भवन, सात सयवटा सवारीसाधनका लागि पार्किङ र करिब ३ सय सुरक्षाकर्मी अट्ने छुट्टै भवन हुने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।

samshad bhawan singhadurbar4

परिसरभित्रका भवनहरु ३ देखि ५ तलासम्मका हुनेछन्। प्रतिनिधिसभाको भवन ४ सय सिट क्षमताको र राष्ट्रियसभाको भवन १ सय सिट क्षमताको बन्नेछ।

त्यस्तै राष्ट्रपति, प्रधानमन्त्री, विदेशी विशिष्ट पाहुनाहरूबाट हुने सम्बोधनका लागि दुइवटै संसदका सदस्यहरू अटाउने अथवा संयुक्त संसद सञ्चालनका लागि ठूलो हल समेत निर्माण गरिनेछ। परिसरमा भीभीआईपी, सांसद, कर्मचारीलगायत विभिन्न तह र दर्जाका लागि छुट्टाछुट्टै प्रवेशद्वार निर्माण हुनेछ।

प्रतिनिधिसभा भवनमा ४ सय अट्ने ठूलो हलसँगै विभिन्न प्राविधिक कक्ष, सभामुख कार्यकक्ष, पत्रकार सम्मेलन कक्ष, विशिष्ट कक्ष हुनेछन् जसमा ३ सय पत्रकार, दर्शक र आगन्तुक अट्ने बाल्कोनी समेत हुनेछ।

samshad bhawan singhadurbar7

संसद भवनमा हरियालीसहित पर्याप्त खुल्ला क्षेत्र हुने
विभागका अनुसार संघीय संसद् भवनपरिसर निर्माण आयोजनालाई भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्रमा विभाजन गरिएको छ। जसमध्ये भवन क्षेत्रले करिब २७ प्रतिशत स्थान ओगटेको छ भने खुला हरियाली क्षेत्रले ४५ प्रतिशत क्षेत्र ओगट्नेछ भने बाँकी सडक पूर्वाधार तथा जलक्षेत्र हुनेछ।

संसद भवन आपत्कालीन विशेष अवस्था भूकम्प, आगलागीबाट बचाउन नेशनल बिल्डिङ कोड, बिल्डिङ बाइ ल, प्लानिङ नम्र्स पूर्ण पालना गरी निर्माण हुनेछ।

पर्यावरणमैत्री ग्राउन्ड वाटर रिचार्ज, सिवेज ट्रिटमेन्ट प्लान, सौर्य ऊर्जा, रेन वाटर हार्भेस्टिङजस्ता प्रविधि रहनेछन्। संघीय संसद भवनको निर्माण लागत अनुमान ७ अर्ब ७३ करोड छ।

अहिले संघीय संसद अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको छ। जसको वार्षिक १५ करोड रुपैयाँ भाडा रहेको छ।

samshad bhawan singhadurbar9
samshad bhawan singhadurbar10

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .