ad ad

कारोबार


सिंहदरबारको प्रबलीकरण अन्तिम चरणमा : ८ रेक्टरसम्म भूकम्प थेग्ने, पुरानै स्वरुपमा फर्किने

सिंहदरबारको प्रबलीकरण अन्तिम चरणमा : ८ रेक्टरसम्म भूकम्प थेग्ने, पुरानै स्वरुपमा फर्किने

वसन्त अर्याल
मंसिर २२, २०७७ सोमबार ११:४७,

भूकम्पले क्षतिग्रस्त पुरातात्विक र ऐतिहासिक महत्वको सिंहदरबारलाई पुरानै स्वरुपमा फर्काउने गरी रेट्रोफिटिङ अर्थात् प्रबलीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।

१ सय १७ वर्ष पुरानो सिंहदरबारको मुख्य भवनको चार मोहडामध्ये पूर्व, उत्तर र दक्षिण भाग अन्तिम चरणमा पुगेको हो।

सन् १९०३ मा निर्माण भएको यो भवन सन् २०१५ (वि.सं. २०७२) को भूकम्पका कारण जीर्ण बनेको थियो। यसैको पुनर्निर्माण कार्यअन्तर्गत दुई भागमा विभाजन गरी प्रबलीकरण भइरहेको हो।

पूर्व, उत्तर र दक्षिण भागमा प्रबलीकरणको काम सकिएसँगै बाहिरी भागमा सरसफाइ तथा दुबो रोप्ने काम भएको छ भने भित्र सजावट, सुरक्षा उपकरण, आधुनिक प्रविधिको जडान कार्य भइरहेको छ।

Singhadurbar reconstruction 3

लकडाउनको समयमा करिब १ महिना बन्द भए पनि त्यसपछि कामले गति लिएको थियो। पुनर्निर्माण प्रधिकरणले उक्त भाग मंसिरभित्रै सक्ने लक्ष्य लिएको थियो। तर सजावटसहित विद्युतीकरणको काम बाँकी नै रहेकाले पुससम्म काम नसकिने देखिएको छ।

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार युरोपेली शैलीमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासका रुपमा बनाएका थिए। सुरुमा निजी निवासको रुपमा बनाए पनि पछि देशको प्रमुख प्रशासकीय केन्द्र बन्दै आएको छ।

२०७२ वैशाख १२ को भूकम्पसम्म यो भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहेको थियो। भूकम्पले भवनमा क्षति पुर्याएपछि प्रधानमन्त्री कार्यालयलाई अर्को भवनमा सारिएको थियो।

Singhadurbar reconstruction 2

भूकम्पबाट क्षति भएको भवनलाई भत्काएर नयाँ बनाउने वा प्रबलीकरण गर्ने भन्ने विषयमा लामो छलफल तथा बहसपछि प्राधिकरणले भवनलाई प्रबलीकरण गर्न सकिने निष्कर्ष निकाल्दै ठेक्का लगाएको थियो।

पुनर्निर्माण प्राधिकरणले मौलिक सामग्री प्रयोग गरेर पहिलेकै शैलीमा निर्माणको काम भइरहेको बताएको छ। भवन संरचनालाई मजबुत बनाउन स्टिल ज्याकेटिङको प्रयोग गरिएको छ।

पुरातात्विक कलाकृति, स्मारकलाई जोगाउन कार्बन फाइबर प्रयोग गरिएको बताइएको छ। सिंहदरबार पुनर्निर्माणको ठेक्का शर्मा–न्यू टेक्निकल जेभीले गर्दै आएको छ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ भवनका आयोजना उपनिर्देशक झप्पर सिंह विश्वकर्माले पुरानै डिजाइनमा नयाँ प्रविधि थप गरिएको बताए।

नेपालीको शान र चिनारीको रुपमा रहेको सिंहदरबारमा वि.सं. २०३० सालमा आगलागी भएको थियो।

Singhadurbar reconstruction 4

आगलागीमा मानवीय क्षति नभए पनि ठूलो भौतिक सम्पत्ति र महत्वपूर्ण कागजपत्र तथा दस्तावेजहरु जलेर नष्ट भएको थियो। आगलागी हुँदा पूर्व, उत्तर र दक्षिण मोहडा जलेर नष्ट भएको थियो।

‘२०३० सालमा आगलागी भएको सिंहदरबारमा फाइर फाइटिङको नयाँ प्रविधि जडान गरिएको छ। जसमा अटोमेटिक र म्यानुअल दुवै तरिकाले त्यसको प्रयोग गर्न सकिन्छ’, उपनिर्देशक विश्वकर्माले नेपालखबरसँग भने।

उनका अनुसार देशको प्रमुख प्रशासनिक कार्यालय भएकाले आधुनिक प्रविधिका सुरक्षा उपकरणहरु जडान गरिएको हुनेछ। पहिला नभएको फर्निचरसहितको लेआउट बन्नेछ। हरेक कोठामा एयर कन्डिसनको प्रयोग गरिनेछ।

पुनर्निर्माण प्राधिकरणले उक्त भागको प्रबलीकरणका लागि ५५ करोडमा ठेक्का लगाएको थियो। प्रधानमन्त्री कार्यालय भएकाले रेड कार्पेटलगायतका इन्टेरियर र एक्सटेरियर सबै खर्च यसैमा रहने विश्वकर्माले बताए।

Singhadurbar reconstruction 13

सिंहदरबारको यो भवन युरोपेली शैलीमा बनेको हो। २०३० सालमा आगलागी भएपछि यो भवन सिमेन्ट, बालुवा, छडलगायतका वस्तु प्रयोग गरी जीर्णोद्धार गरिएको थियो।

११७ वर्ष पुरानो पश्चिम मोहडाको काम पनि धमाधम
वि.सं. २०३० मा आगलागीबाट समेत बचाउन सफल पश्चिम मोहडा भूकम्पको कारण बढी क्षति भएको थियो। यो भवन ११७ वर्ष पुरानो हो। तत्कालीन समयमा यसलाई एसियाकै सबैभन्दा ठूलो दरबारका रुपमा लिइएको विश्वास गरिन्छ।

यो भवन निर्माण गर्दा अधिकांश कामदार र निर्माण सामग्री निःशुल्क जुटाइएको थियो। काठको काम गर्ने सिकर्मी, गारोको काम गर्ने डकर्मीदेखि कुल्ली काम सैनिक, प्रहरी र कैदीहरुबाट गराइएको बताइन्छ।

उक्त समयमा त्यतिबेलाको करिब २५ लाखमै पूरै भवन निर्माण सकिएको बताइने गरे पनि इतिहासकारहरुबीच मतैक्य पाइँदैन।

Singhadurbar reconstruction 12

उत्तर, दक्षिण र पूर्व मोहडा प्रबलीकरण गर्न सकिने निष्कर्ष निकाल्दै छिट्टै काम अघि बढाए पनि पश्चिम मोहडा अघि बढ्न सकेको थिएन।

सुरुको अध्ययनले प्रबलीकरण गर्न नसकिने भने पनि प्राधिकरणले पुरातत्वविद्सहित फेरि अध्ययन गर्दा राणाकालमा बनेको भवन हुँदा प्रबलीकरण गर्ने निष्कर्ष निकाल्दै गत चैतबाट काम सुरु भएको थियो।

भूकम्पले अत्यधिक क्षति भएकाले प्रबलीकरणमा फलामको प्रयोग बढी गरिएको छ। प्राधिकरणले पुरानो गाह्रोलाई बलियो बनाउन फलामको प्रयोग गर्नुपरे पनि भवनको स्वरुपमा नदेखिने प्रष्ट पारेको छ। २०७८ सम्म पश्चिम मोहडाको काम समेत सक्ने लक्ष्य छ।

प्राधिकरणले पश्चिम मोहडा जटिल प्रकृतिको भएको र बहुमूल्य सामानहरु समेत रहेकाले त्यसलाई जोगाइराख्ने गरी काम भइरहेको बताएको छ।

Singhadurbar reconstruction 10

पश्चिमपट्टिको मोहडामा सुर्खि, चुना, फलाम, सिसा, काठ प्रयोग गरी बनाइएकाले सोहीअनुसार नै पुनर्निर्माणको काम अगाडि बढाइएको छ।

प्राधिकरणले करिब ८ रेक्टरको भूकम्प आउँदा पनि क्षति नहुने गरी प्रबलीकरण भइरहेको दाबी गरेको छ।

प्रबलीकरणका थप तस्बिर

Singhadurbar reconstruction 5
Singhadurbar reconstruction 1
Singhadurbar reconstruction 6
Singhadurbar reconstruction 7
Singhadurbar reconstruction 8
Singhadurbar reconstruction 9
Singhadurbar reconstruction 11

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .