ad ad

कारोबार


आँप फल्ने झापामा ‘स्वीट चार्ली’ स्ट्रबेरी

आँप फल्ने झापामा ‘स्वीट चार्ली’ स्ट्रबेरी

नेपालखबर
जेठ २०, २०७६ सोमबार ११:४३,

आँप फल्ने झापाको गर्मीमा स्ट्रबरी खेती सुरु भएको छ।

पहाडी भेगमा उत्पादन हुने स्ट्रबेरी खेती जयन्त गोल्यान फाउन्डेशन तथा आश्रय नेपालको संयुक्त पहलमा झापाको रंगपुरमा भइरहेको हो।

गोल्यान फाउन्डेशनका प्रमुख पवन कुमार गोल्यानको योजनामा उक्त स्ट्रबेरी खेती भइरहेको हो। उनी भारत तर्फ घुम्न जाँदा गर्मी भेगमा पनि स्ट्रोबेरी फलेको देखेपछि पारीपट्टि फल्ने वारी किन नफल्ने भन्ने लागेछ। त्यसपछि पश्चिम बंगलाको सिलिगुडीस्थित कृषि विश्वविद्यालय गएर उनले स्ट्रबेरीको जात र लगाउने तौरतरिका बुझेर कृषि प्राविधिक ल्याएर स्थानीयको सहयोगमा स्थानीयकै जग्गामा उक्त स्ट्रबेरी लगाएका हुन्। अहिले झापामा सो स्ट्रबेरी फूल्न थालेको देखिन्छ।

झापाको रंगपुरमा लगाइएको उक्त स्ट्रबेरी स्वीट चार्ली जातको हो। लगाएको तीन महिनामै यसले फल दिन्छ। रंगपुरको १२ कठ्ठा जमिनमा ९ हजार बेर्ना लगाइएको छ। यो खेती लगाउन हालसम्म ८ लाख रुपैयाँ खर्च भैसकेको छ।

अहिले यो केवल नमुनाका लागि मात्रै लगाइएको पवन कुमार गोल्यान बताउँछन्। बृहत् खेतीका लागि झापाका हरेक स्थानीयलाई अर्गानिक बनाउने उद्देश्य साथ पूर्व मोडल खुस्बु ओलीले सञ्चालन गरेको आश्रय नेपाल नामक संस्थाको समन्वयमा काम भइरहेको उनी बताउँछन्।

‘स्थानीयलाई पनि खेती सिकाउनु छ, आफू पनि गर्नुछ’, उनी भन्छन्, ‘त्यसकारण सामाजिक उत्तरादायित्व अन्तर्गत स्थानीयलाई सहयोग गरिरहेको छु, कृषिमा लगानी गर्न जग्गा किनेको छु।’

झापाको स्ट्रबेरी खेतीलाई परीक्षणको रुपमा मात्र लिएको उनले बताए। कृषि प्राविधिकको सहयोगमा सुरु भएकोले अहिलेको स्ट्रोबेरी राम्रो देखिएको छ।

एउटा बिरुवामा ६ सय ग्रामदेखि एक किलोसम्म स्ट्रोबेरी फल्ने प्राविधिकहरुले जानकारी दिएका छन्।

स्ट्रबेरीको माउ बिरुवाको लहराबाट नर्सरी राखेर प्रत्येक बर्ष नयाँ बिरुवा रोपेर खेती गर्न सकियो भने उत्पादन वृद्धि हुने र फलको आकार पनि नघट्ने कृषि प्राविधिक बताउँछन्। यसको उपयोग गर्दै पहाडी जिल्ला इलाममा व्यवसायिक स्ट्रबेरी खेती गर्ने गोल्यानको योजना छ।

स्ट्रबेरी लोकप्रिय तथा महँगो फल अन्तर्गत पर्छ। यसको बजार भाउ ८ सयदेखि १ हजार रुपैयाँ प्रतिकिलोसम्म छ। स्ट्रोबेरीमा कोलेस्ट्रोल घटाउने, एण्टी अक्सिडेण्ट, भिटामिन र अन्य खनिज पदार्थ प्रचुर मात्रामा पाइन्छ। पोषणविज्ञले स्वास्थ्यका लागि यो फललाई अत्यन्तै लाभदायक मानेका छन्।

नेपालमा यो भन्दा अघि ककनीमा मात्रै यसको खेती हुँदै आएको थियो। ककनीमा उत्पादन हुने स्ट्रबेरी भने जापानी जातको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .