ad ad

कारोबार


पोखरामा नेपालकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृहको निर्माण सुरु

पोखरामा नेपालकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृहको निर्माण सुरु

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार १०:५५,

नेपाल आयल निगमले नेपालकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृहको निर्माण सुरु गरेको छ।

निगमले बिहीबारदेखि कास्कीको पोखरा महानगरपालिका २९ र ३० गगनगौडामा रहेको डिपोको भण्डारण क्षमता विस्तार सुरु गरेको हो।

यस डिपोको भण्डारण क्षमता विस्तारले गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोशेढुंगा साबित हुने निगमको दाबी छ।

निगमले सबै प्रदेशमा ९० दिनका लागि पुग्ने इन्धन भण्डारण गृह निर्माणको नीतिअनुसार काम अघि बढाएको हो। वि.सं. २०५८ पछि निगमको आफ्नै लगानीमा पहिलो कामको रुपमा यो योजना अघि बढेको बताइएको छ।

गण्डकीमा प्रत्येक वर्ष पेट्रोलियम पदार्थको खपत बढिरहेको छ। हरेक दिन चार लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुँदै आएको छ। एकै दिनमा गण्डकीमा ३ लाख २५ हजार लिटर डिजेल र एक लाख ४२ हजार लिटर पेट्रोल बिक्रीवितरण हुने गरेको छ।

No description available.

यो डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजेल र ३ लाख ५० हजार लिटर पेट्रोल भण्डारण क्षमता छ। दैनिक खपत र भण्डारणको अहिलेको अवस्थाअनुसार पेट्रोलियम पदार्थ आपूर्तिमा अवरोध हुँदा डिजेलको माग ७ दिन र पेट्रोलको २ दिनमात्रै धान्न सकिने निगमको भनाइ छ। तर आज शिलान्यास भएको भण्डारण परियोजना सञ्चालन भएसँगै डिजेलको ३० दिन र पेट्रोलको १२ दिनसम्म माग धान्न सकिनेछ।

एसियाली विकास बैंकको सहयोगमा २०५८ मा डिपो बनेयता बल्ल यसको क्षमता विस्तार सुरु गरिएको हो। अमलेखगन्जपछिको नेपालकै सबैभन्दा दोस्रो ठूलो भण्डारण गृह बन्ने निगमले जनाएको छ।

चितवनको लोथरमा बन्ने ठूलो ब्लक भण्डारण गृहको सप्लाई चेनको रुपमा निगमले गगनगौंडा डिपोलाई लिएको छ। यो ७७ रोपनी जग्गामा बन्नलागेको हो। यसको प्राविधिक अध्ययन इन्जिनियरिंग अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले गरेको हो। यसको निर्माण लागत खर्च ७७ करोड रुपैयाँ र निर्माण अवधि २ वर्ष तोकिएको छ। यसको ठेक्का समानान्तर रेलिगेयर भारत ट्यांक्सले पाएका छन्।

परियोजनाअन्तर्गत हालको डिपो हातामा ५० लाख लिटर क्षमताका दुई ठूला डिजेल भण्डारण ट्यांक बन्नेछन्। त्यस्तै एउटा नयाँ पहुँच सडक, २ लाख लिटर क्षमताको पानी भण्डारण ट्यांक, डिपोको चमेनागृह, चालक तथा सुरक्षाकर्मी बस्नका लागि पनि नयाँ संरचना निर्माण गरिनेछ। इन्धन भण्डारण ट्यांक र यसमा जडान हुने संरचना जर्मन प्रविधिमा आधारित पूर्ण स्वचालित हुने निगमले जनाएको छ।

डिजेल लोड तथा अनलोड सुविधा पूर्ण रुपमा स्वचालित र हाइटेक सुरक्षा प्रविधिमा आधारित हुनेछन्। डिपोको भण्डारण क्षेत्रमा अग्नि सुरक्षाका लागि विशेष प्रविधि र सावधानीको कार्य पनि यही परियोजनाकै सिलसिलामा हुनेछ। नयाँ भण्डारण गृहमा २० हजार लिटर क्षमताका ३३ देखि ४० ट्यांकरले दैनिक डिजेल अनलोड गर्न सक्नेछन्।

No description available.

ट्यांकर अनलोडका लागि प्रतिघण्टा १ सय २० किलोलिटर क्षमताका ५ वटा पम्प जडान गरिनेछ। चारवटा नयाँ वे पनि सञ्चालन हुनेछ भने भण्डारण गृहको तापमान, इन्धन चुहावट, आगलागीलगायतको दुर्घटना पहिचान गर्न विशेष प्रविधि डिपोमा जडान हुने निगमले जनाएको छ।

आपत्कालीन अवस्था आएमा एकै स्विचमा सबै प्रणाली बन्द गर्न सकिने एकीकृत रिमोट कन्ट्रोल प्रविधि डिपोमा हुनेछ। कुनै पनि कारणबाट डिपोमा आगो लागेमा करिब २ घण्टासम्म निरन्तर आगो नियन्त्रणका लागि लड्ने क्षमताको पूर्वाधार डिपोमा हुनेछ। ७० प्रतिशत पानी र ३० प्रतिशत फोमयुक्त अग्नि नियन्त्रण उपकरण त्यसको लागि प्रयोग हुने निगमले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .