१० वर्षअघि नेपाली ब्रान्डको कपडा उत्पादन गर्दा सञ्जीव श्रेष्ठका साथीहरु उनलाई जिस्क्याउँदै भन्थे– ‘नेपाली ब्रान्डमा जिन्स कपडा बेच्ने’!
त्यतिबेला समय पनि त्यस्तै थियो। नेपाली उत्पादन भनेपछि ग्राहकहरु नाक खुम्च्याउँथे।
अहिले पनि झण्डै त्यस्तै छ। नेपालमा जति पनि स्थानीय कपडा उत्पादन भइरहेका छन्, अधिकांश विदेशमा चलेका ब्रान्डको नाम राखेर उत्पादन गर्छन्।नेपालमै उत्पादन भएका कपडामा पनि चर्चित विदेशी ब्रान्डको नाम झुण्डिएकै हुन्छ। किनभने नेपाली कपडा भनेपछि ग्राहकले किन्दैनन् भन्ने आम बुझाइ छ।
उपभोक्तामाझ परेको उक्त छाप हटाउने गाह्रो थियो तर स्वदेशी उद्योगीले नै त्यसको सुरुवात गर्ने हो। त्यही आँटको सुरुवात गरे सञ्जीवले।
‘तिमीहरुले जेसुकै भन, मैले आफ्नै ब्रान्ड बनाइछोड्छु’, नेपाली ब्रान्ड बनाउने अठोट गरेका ३७ वर्षे सञ्जीवले साथीहरुलाई भने।
संगीतकार समेत रहेका सञ्जीवको त्यही अठोटसँगै १० वर्षअघि भर्जिन्स ब्रान्डको नेपाली कपडा उत्पादन सुरु भएको थियो। सुरुका दिन संघर्षमय थिए। नयाँ ब्रान्डलाई उपभोक्ताले पत्याउन गाह्रो भयो।
ब्रान्ड स्थापना गर्न मिहिनेत गर्नुपर्ने कुरा बुझेका सञ्जीवले एक दिन, दुई दिन गर्दै एक–एक ग्राहकलाई भर्जिन्स ब्रान्ड चिनाउँदै गए। आज परिस्थिति बेग्लै बनिसकेको छ। भर्जिन्स ब्रान्डका कपडाहरु नेपाली उपभोक्तामाझ लोकप्रिय छन्।
दश वर्षअघि सञ्जीवलाई नपत्याएका साथीहरुलाई पनि आफ्नै ब्रान्ड बनाउन सकिने रहेछ भन्ने भएको छ। उनीहरु अहिले सञ्जीवको प्रयास पछ्याउन थालेका छन्।
भर्जिन्स ब्रान्डबाट अहिले खासगरी पुरुषका कपडा जिन्स पाइन्ट, ज्याकेट, कटन पाइन्ट, टिसर्ट उत्पादन भइरहेका छन्। निकट भविष्यमा लेडिजका कपडा पनि उत्पादन गर्ने लक्ष्य राखेको सञ्जीव बताउँछन्।
पाँच लाख रुपैयाँ सुरुवाती लगानी गरेको यस कपडा उद्योगमा अहिले झण्डै ४० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। ७० जनाले अप्रत्यक्ष रोजगारी पाइरहेका छन्।
भर्जिन्स ब्रान्डको गुणस्तर जोगाउनको लागि सञ्जीव आफ्नै वासिङमा धुन्छन्। अहिले यो ब्रान्डका एक हजारदेखि ३ हजारसम्म पर्ने जिन्स पाइन्ट विभिन्न अनलाइनमा लोकप्रिय छन्।
दाइले डोर्याउँदै पसल लगेपछि...
संगीतमा विशेष रुचि राख्ने सञ्जीव ललितकला क्याम्पसमा संगीत पढ्दै थिए। त्यही बेला उनका ठुल्दाइ महाबौद्धमा कपडाको व्यापार गर्थे। झण्डै २४ वर्षअघि सुरु भएको पसल अहिले पनि चलिरहेको छ।
महाबौद्धमा चीनबाट सामान ल्याएर बिक्री गरिन्छ। सञ्जीव पसलमा पाइला टेक्दा चिनियाँ सामानले नेपाली बजार कब्जा गरेको थियो। अहिले पनि त्यस्तै अवस्था छ।
दाइले सञ्जीवलाई पढाइसँगै पसल पनि हेर्न भन्नुभयो। दाइको त्यही आग्रहसँगै व्यवसायमा पहिलो पाइला टेके। बिहान कलेज जाने दिउँसो पसल। यसरी उनका दिनहरु बित्न थाले। दाइसँग झण्डै दश वर्ष काम गरे। दाइसँग काम गर्दागर्दै व्यवसायको बारेमा उनले धेरै बुझ्ने मौका पाए।
उनलाई केही विशेष गर्नैपर्छ भन्ने लागिरहेको थियो। चीनबाट सामान ल्याएर बेच्ने मात्र होइन, आफ्नै नेपाली ब्रान्डका उत्पादन गर्ने सोच थियो उनको।
‘दाइले नै यस क्षेत्रमा ल्याउनुभयो। दाइबाट यो व्यवसायबारे बुझेँ’, उनले भने, ‘त्यो सीपलाई थप परिष्कृत गर्दै नयाँ ब्रान्ड स्थापना गर्न मन थियो।’
त्यही इच्छा पूरा गर्न १० वर्षअघि सन् २०१० मा उनले आफ्नै कपडा उत्पादन सुरु गरे। उनले आफ्नै ब्रान्डको कपडा उत्पादन गरेपछि कसैले पनि पत्याएनन्। कसैले विश्वास गरेनन्।
‘जान्ने भएर किन नेपाली ब्रान्ड बनाउनुपरेको होला’, सञ्जीवका व्यवसायी साथीहरुले भने, ‘चलेको विदेशी नाम नराखेर।’
उनका साथीहरुले अहिले पनि नेपाली ब्रान्ड चल्दैन भन्ने विश्वास गर्छन्। उनीहरु नेपाली कपडा उत्पादन गरिरहेका छन् तर आफ्नै ब्रान्डको नाम राख्न सक्दैनन्।
बजारमा अहिले चीनबाट जे सामान आयो, त्यही कपी गरेर नामको ट्याग लगाएर बेच्न चलन छ।
नेपालमा दुई हजारभन्दा धेरै कपडा उद्योग छन्। त्यसमध्ये आधाले विना दर्ता चलाइरहेका छन्। त्यसरी दर्ता नगरीकन स्थानीय सामान उत्पादन गर्ने र विदेशी ब्रान्डको नाम चोरेर बेच्छन्। सरकारलाई कर तिर्नुपर्छ भनेर पनि दर्तामा आएका छैनन् ती कम्पनी।
‘परिस्थिति प्रतिकूल भए पनि नेपाली ब्रान्ड नै बनाउने धोको थियो मेरो’, सञ्जीवले ती दिन सम्झिए।
लगानी धेरै थिएन। ५ लाख लगानीमा ‘भर्जिन्स’ नामको नेपाली कपडाको ब्रान्ड सुरु गरे। सुरुको केही समय सामान बेच्न गाह्रो भयो। विदेशी ब्रान्डको ‘डोमिनेसन’ रहेको अवस्था नेपाली ब्रान्ड बिक्री गर्न गाह्रो थियो।
उनले आफ्ना ग्राहकलाई भन्थे, ‘यो ब्रान्डको कपडा लगेर एक पटक हेर्नुस्।’
सामान बिकाउन गाह्रो थियो तर उनले मुख्य ध्यान गुणस्तरमा दिए। त्यही भएर पनि एक पटक सामान किनेपछि ग्राहक फर्केर आउँथे।
‘भर्जिन्सको कपडा राम्रो हुदो रहेछ’ भन्ने ग्राहकलाई पर्दै गयो। दश वर्षको मिहिनेतपछि सञ्जीवलाई अब भर्जिन्सको बारेमा उपभोक्तालाई भनिरहनुपरेको छैन।
‘अनलाइनहरुमा हाम्रा उत्पादन हिट लिष्टमा छन्’, सञ्जीवले भने, ‘उपभोक्ता आफैँले खोज्न थालेका छन्।’
यसको कच्चा पदार्थ उनले चीन र भारताट कपडा ल्याउँछन्। नेपालमा पनि उनले आफ्नै कपडा खोजेका थिए। केही ठाउँमा अर्डर पनि गरे तर गुणस्तरीय कपडा दिन सकेनन्। गुणस्तरीय फेब्रिक कपडा पाउन नसकेको उनी बताउँछन्।
नेपालमा गुणस्तरीय कपडा उत्पादन गर्ने क्षमता हुँदाहुँदै पनि त्यसतर्फ कसैको ध्यान जान सकेको छैन। कपडा मात्र होइन, जिपर, बटन बन्दैनन्।
कपितय नेपाली व्यवसायीकै कारण पनि स्वदेशी उत्पादनमा उपभोक्ताले विश्वास गर्न सकेका छैनन। कतिपय व्यापारीले ड्यामेज बेच्ने, गुणस्तर नभएको बेच्ने गर्दा पनि नेपाली सामानले ग्राहकको मन जित्न सकेका छैनन्।
‘नेपाली सामान भनेपछि नाक खुम्च्याएर हिँड्छन् ग्राहक’, सञ्जीव भन्छन्, ‘गुणस्तरीय सामान दिन नसक्दा यस्तो अवस्था सृजना भएको हो।’
संगीतकार सञ्जीव
ललितकलामा संगीत पढ्दै गर्दा दाइले व्यवसायमा तान्नुभयो। संगीतमै करियर बनाउने धोको भएका सञ्जीवलाई तत्कालीन परिस्थितिसँग जुध्न पनि केही व्यवसाय गर्नुपर्ने थियो। महाबौद्धमा व्यवसाय गर्ने र कलेज जाने सँगैसँगै गरे।
क्लासिकल म्युजिकमा स्नातक गरेका सञ्जीवले म्युजिक कम्पोज गर्छन्, गीत लेख्छन् र गाउँछन् पनि।
‘मेरा दुई एल्बम निस्केका छन्’, सञ्जीव भन्छन्, ‘एउटा एल्बममा मेरो आफ्नै स्वर छ।’ अहिलेसम्म उनका झन्डै ४० गीत निकालिसकेका छन्। कर्ण दास, अन्जु पन्त जस्ता कयौँ कलाकारले उनका गीत गाएका छन्।
भर्जिन्स नामकै उनको आफ्नै स्टुडियो पनि छ। म्युजिक पढ्दै गर्दा व्यवसाय सुरु गरेपछि संगीतमा समय दिन सकेनन्।
म्युजिक छोडेर व्यवसाय गर्न मन थिएन। तर दाइसँगको व्यापारमा जाँदाजाँदै ‘जबर्जस्ती’ तानिँदै गए। ‘अहिले ठीकै गरेछु भन्ने लागेको छ’, उनी भन्छन्।
अधिकांश समय व्यवसाय भए पनि संगीतप्रतिको झुकाव छोड्न सक्दैनन्। मनमस्तिष्कमा संगीतले जरा गाडिसकेको छ। ‘छोड्ने कुरै भएन, यो मेरो प्यासन नै हो’, भर्जिन्स ब्रान्डका कम्पोजर सञ्जीव भन्छन्।
Shares
प्रतिक्रिया