ad ad

कारोबार


ललितपुरमा सुरु भयो ऊर्जा बचत अभियान

ललितपुरमा सुरु भयो ऊर्जा बचत अभियान

नेपालखबर
भदौ ४, २०७७ बिहिबार ७:२६,

दक्षिण ललितपुर भेगका जनतालाई ध्यानमा राखी सञ्चालन गरिएको ‘दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड’ ले आफ्ना उपभोक्ता र सेयर सदस्यका लागि ऊर्जा बचत अभियान सुरु गरेको छ।

संस्थाले विद्युत् महसुल भुक्तानीमा सहजीकरणका लागि उक्त अभियान सञ्चालन गरेको हो। यसले ऊर्जाको अधिकतम उपयोगद्वारा प्रविधियुक्त उद्यम व्यवसायको प्रवद्र्धन गर्दै उपभोक्ताको आर्थिक विकासमा टेवा पु¥याउन सहयोग गर्ने संस्थाका अध्यक्ष गोविन्द बजगाईँले बताए। उनले भने, “यस संस्थाले मुलुकमै पहिलो पटक सहकारीको नमूना बनी सामुदायिक विद्युतीकरण अभियान चलाएर ललितपुरका विकट बस्तीहरुमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवाको पहुँच पु¥याएको छ।”

वि.सं. २०५४ देखि संस्था विद्युतीय अभियान सुरु गरी २०५७ सालमा विधिवत् रुपमा दर्ता भएर २०६१ साल भदौ २ गते साविकको देवीचौर गाविसमा केन्द्रीय प्रसारण लाइनको बिजुली बाल्न सफल भएको बजगाईँले जानकारी गराए।

सो संस्थाले समाजमा उद्यमशीलताको विकास गर्दै ग्रामीण क्षेत्रमा रोजगारीको अवसर सिर्जना, विद्युत् महसुल भुक्तानीका लागि अग्रिम बचत गराउन सहयोग, न्यून आयस्तर भएका र ऊर्जामा आधारित उद्यम व्यवसाय सञ्चालन तथा विस्तार गर्न चाहने उपभोक्तालाई ऋण सहयोगका साथै विद्युतीय प्रविधि खरीदका लागि बचत रकमको उपयोग गराउन मद्दत गर्छ।

उक्त संस्थाले दक्षिण ललितपुरका करीब छ हजार ५०० घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा पु¥याएकामा अब लगभग एक हजार घरधुरीमा मिटर जडान गर्न बाँकी छ । संस्थाले हालसम्म ललितपुरका तीन गाउँपालिका र गोदावरी नगरपालिकाको देवीचौरमा एक सयभन्दा बढी ट्रान्सफर्मर, १७८ किलोमिटर एचटी र करीब ४६० किलोमिटरमा एलटी लाइन जडानसमेत गरेको छ।

लगनखेलस्थित सबस्टेशनदेखि चापागाउँ फिडर हुँदै दक्षिण ललितपुरका सबै क्षेत्रमा लाइन गएकाले चापागाउँ फिडर जीर्ण र लोड बढी भएर लाइन ट्रपिङको समस्या बढी हुने गरेको छ । यसैगरी कान्ति राजमार्गमा समयसमयमा पहिरो जाँदा सडकका साथै विद्युत् आपूर्तिमा पटकपटक बाधा पुगेको बजगाईँले जानकारी दिए।

संस्थाले समय समयमा विद्युतीय समस्या अन्त्य गरेर दीर्घकालीन समाधानका लागि उन्यूचौरमा सबस्टेशन निर्माणको काम अघि बढाउने भएको छ । उक्त स्टेशनले काम गर्न थालेपछि दक्षिण भेगको विद्युत् आपूर्तिमा थप सहजता र गुणस्तरीयता कायम हुनाका साथै उद्योगधन्दा सञ्चालनमा समेत उपयोगी हुने बताइएको छ ।
उक्त संस्थाले सञ्चालनमा ल्याएको प्रविधिमा आधारित अनलाईन पेमेन्ट र मोबाइल एप्सको प्रयोग पनि सफल भइरहेको संस्थाका सचिव लोकबहादुर पुलामीले जानकारी दिए।

उनले भने, “हामीले विभिन्न संस्थाको सहकार्यमा महिला उद्यमशीलता विकासका लागि सीपमूलक तालीमका साथै व्यवसाय सञ्चालनमा सहजीकरण र व्यवस्थापनको कामसमेत गर्दै आएका छौँ।”

गत वर्ष ६४ भन्दा बढी महिलालाई उद्यमशीलता विकासको तालिम दिएर आत्मनिर्भर हुन सिकाएको पुलामीले बताए। संस्थाले न्यून आय भएका कमजोर उपभोक्ता तथा शेयर सदस्यका घरमा सरल कर्जामार्फत विद्युत् सेवाको पहुँच विस्तारसमेत गरेको कोषाध्यक्ष गोविन्दप्रसाद घिमिरेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .