ad ad

कारोबार


विषादी जाँचविनै तरकारी आयात : भन्सारका कर्मचारी कारबाहीमा, मन्त्रालयले पनि छानबिन थाल्यो

विषादी जाँचविनै तरकारी आयात : भन्सारका कर्मचारी कारबाहीमा, मन्त्रालयले पनि छानबिन थाल्यो

प्रकाश न्यौपाने
साउन २१, २०७७ बुधबार ९:०,

कृष्णनगर भन्सार कार्यालयका दुई जना कर्मचारी कारबाहीमा परेका छन्। भन्सार कर्मचारीहरु नासु प्रेम पौडेल र कमल नेपाली कारबाहीमा परेका हुन्।

मिलेमतोमा विषादी जाँचको नक्कली कागजात बनाएर अघिल्लो शनिबार १५ बढी फलफूल तथा तरकारी बोकेका गाडी भन्सार पास गराएपछि उनीहरु कारबाहीमा परेका हुन्।

तरकारी तथा फलफूल जाँचकीको भूमिकामा रहेर काम गर्दै आएका दुई जना सुब्बालाई कारबाही गरिएको भन्सारका सूचना अधिकृत बासु नेपालले बताए। तर, उनले नाम भने खुलाएनन्।

‘तत्काल जिम्मेवारीबाट मुक्त गरिएको छ, कारबाहीको प्रक्रिया अझै चलिरहेकाले नाम भन्न मिल्दैन’, उनले भने।

शनिबार विषादी जाँच गर्ने प्रयोगशाला र प्लान्ट क्वारेन्टिन बन्द हुने भएकाले सरकारले मुलुकका सबै नाकाबाट तरकारी तथा फलफूल भन्सार पास गर्न रोक लगाएको छ।

तर, कृष्णनगर भन्सार नाकाबाट भने भन्सार, विषादी परीक्षण प्रयोगशाला, क्वारेन्टिनका कर्मचारी, भन्सार एजेन्ट र व्यवसायीको मिलेमतोमा अघिल्लो दिनको स्वस्थकर प्रमाणपत्र (नक्कली कागजात) बनाई तरकारी तथा फलफूल (कृषिउपज) भारतबाट आयात हुँदै आएको थियो।

शनिबार भन्सार पास भएका गाडीले शुक्रबार (साउन १६) विषादी जाँच र क्वारेन्टिन जाँच गरेको स्वस्थकर प्रमाण पत्र लिएका थिए। यसको प्रमाणसहित नेपालखबरले समाचार प्रकाशन गरेको थियो।

त्यसपछि भन्सारले २ जना कर्मचारीलाई कारबाही गरेको हो। यद्यपि १५ वटा गाडी दुई जना जाँचकीले मात्रै भन्सार पास गराए भनेर तत्काल प्राप्त प्रमाणहरुबाट पत्याउन सकिने अवस्था भने छैन।

तल्लो तहका कर्मचारीलाई कारबाही, माथिल्लो तहका उम्किँदै !
भन्सार प्रमुख विष्णुप्रसाद पौडेलसहितको संलग्नतामा नै तरकारी तथा फलफूलका गाडी भन्सार पास गराइएको भए पनि तल्लो तहका कर्मचारीलाई मात्रै कारबाही गरिएको एक कर्मचारीले बताए।

ती कर्मचारी भन्छन्, ‘आफू छानविन र कारबाहीबाट बच्न हत्तपत्त तल्लो तहका कर्मचारीलाई कारबाही गरे। आफूसहित अन्य अधिकृतलाई बचाउन यो सबै गरिएको हो।’ यस विषयमा भन्सार विभागले पनि छानविन गरिरहेको बुझिएको छ।

नियमअनुसार फलफूल तथा तरकारीका गाडी नेपालतर्फको भन्सारमा आएपछि भन्सारका कर्मचारीले नमूना निकालेर भन्सारको पत्रसहित नमूनाको सिल प्याकिङ गरेर बुटवलस्थित विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाईमा पठाएर विषादी जाँचको रिपोर्ट आएपछि मात्रै गाडी निस्कन पाउँछन्। प्रयोगशालाले कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीको जाँच गरेको स्वस्थकर प्रमाण पत्र जारी गर्ने गर्छ।

यस्तै, क्वारेन्टिन कार्यालयले भने भन्सारमै गएर आफै गाडीबाट नमूना लिएर रोग र किरा छ÷छैन भन्ने जाँच गरी स्वस्थकर प्रमाणपत्र जारी गर्छ। तर, यहाँ गाडी भारतीय भूमिमै हुँदै अन्य गाडीबाट नमूना जाँच गराउने गरिएको थियो। यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको चिकित्सकहरु बताउँछन्। अर्कोतर्फ गाडीले कति तौल बोकेको छ भनेर भन्सारमा नापजाँच समेत गरिँदैन। अनुमानकै भरमा नापजाँच गर्दा राज्यले लाखौं रुपैयाँ राजस्व गुमाएको छ।

मन्त्रालयले थाल्यो छानबिन
यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बुटवलमा रहेको प्रयोगशालाको भूमिकाबारे छानविन थालेको छ। मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले सत्यतथ्य छानविन गरी रिपोर्ट पेस गर्न केन्द्रीय कृषि प्रयोगशालालाई निर्देशन दिइसकेको जनाए।

‘बुटवलस्थित विषादी जाँच प्रयोगशालाका साथीहरुले हाम्रो हस्ताक्षर किर्ते भयो भन्नुभएको छ। तथापि हामीले वास्ताविकता के हो भनेर छानविन सुरु गरेका छौं, केही दिनमै रिपोर्ट प्राप्त हुन्छ र सत्यतथ्य बाहिर आउँछ’, उनले भने।

तर, हामीलाई प्राप्त प्रमाण अनुसार प्रयोगशालाका कर्मचारीको हस्ताक्षर, छाप, ह्यान्ड राइटिंग, लेटरप्याड सबै मिलेको छ। त्यसैले कारबाहीबाट बच्न प्रयोगशालाका कर्मचारीले आफूहरुको हस्ताक्षर किर्ते भएको बताउँदै आएका हुन्। किनभने यही प्रयोगशालामा भैरहवा भन्सारबाट सिल प्याक नभई गएको नमूना जाँच गरिन्न तर कृष्णनगर भन्सारको भने जाँच गरिन्छ।

याे पनि -
भन्सार कर्मचारी र व्यवसायीको मिलेमतोमा विषादी जाँचविनै भारतीय तरकारी नेपालमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .