लकडाउन सुरु भएको तीन दिनमात्र भएको थियो। व्यापार व्यवसाय प्रायः बन्द थिए। सबैजना घरभित्र फुर्सदिला भए।
त्यही बेला ज्ञानेन्द्र खड्का भने नयाँ व्यवसायको ध्याउन्नमा थिए।
कोभिड १९ संक्रमण बढ्ने डरले मानिसहरु घरबाट निस्किन डराइरहेका थिए। आवश्यक वस्तु किन्न असहज हुने अवस्था सृजना भयो।
खाद्यान्नदेखि तरकारीसम्मको अति आवश्यक वस्तु मान्छेहरुले दैलोमै आउने विधि अपनाउन थाले। अनलाइन सपिङहरुको व्यवसाय बढ्नथाल्यो।
‘मलाई पनि लाग्यो अब यही मौका हो’, झम्सिखेलको आफ्नै कार्यालय ग्यापु मार्केट प्लेसमा गफिँदै ३६ वर्षे खड्काले भने, ‘हामीले ग्यापु मार्केट प्लेस सुरु गर्यौँ।’
अर्थात् नेपालको इ–कमर्समा नयाँ अनलाइन सपिङ खुल्यो- ग्यापु डटकम।
चार वर्षअघिको ग्यापु मार्केट प्लेसको अवधारणालाई लकडाउनको समयमा पूर्णता दिए। उनलाई सफ्ट्वेरिका कलेजका विज्ञान श्रेष्ठले ‘पार्टनरसिप’ दिए।
कोभिड–१९ भएकाले बजारमा मास्क र सेनिटाइजरको माग थियो। उनीहरुले आफ्नो लगानी ठानेर लागत मूल्यभन्दा सस्तोमा दिए। किराना वस्तु र तरकारी वितरण गर्नथाले।
‘दुई महिनाको अवधिमा डेढ करोड रुपैयाँको कारोबार हामीले गरिसकेका थियौँ’, खड्काले सुनाए, ‘विस्तारै हामीले बजार विस्तार गर्दै गयौँ।’
लकडाउन सुरु भएसँगै उनको टिकेटिङको काम गर्ने अफिस एक्सलट्रिप नेपाल बन्द भएको थियो। त्यहाँ कार्यरत तीन दर्जन कर्मचारी कामविहीन भएका थिए।
त्यही टिमलाई उनले ग्यापुमा ल्याए।
कोरोना संक्रमणले सबै त्रासमा थिए। त्यही पनि सुरक्षा अपनाएर काम गर्ने भनेर एक दर्जन आफ्ना स्टाफलाई ‘कन्भिन्स’ गरे। उनीहरु रात–दिन अफिसमै बस्नथाले।
अफिसको माथिल्लो तलामा तीनवटा कोठालाई गेष्ट रुम बनाए। अगाडिको सांग्रिला होटलमा चारवटा कोठा भाडामा लिए। आजसम्म यी कर्मचारी अफिसमै बसेर काम गरिरहेका छन्। अहिले यस कम्पनीमा ३५ जना स्टाफ पुगिसकेका छन्।
उनीहरु प्राविधिक रुपमा तयार थिए। नेपालका विद्युतीय भुक्तानी कम्पनीहरु पहिले नै उनको पार्टनरसिपमा सहभागी थिए।कमी भनेको बजारसम्मको पहुँच थियो। बिक्रेता (भेन्डर) र गाडीहरु थिएनन्।
दुई/तीन दिनमा भेन्डरहरु खोजे। सातवटा गाडी भाडामा लिए तर ड्राइभर भएनन्।
कोरोना संक्रमणले कुनै पनि चालकले काम गर्न मानिरहेका थिएनन्।
‘मैले मेरो आफ्नो, साथी, सफ्ट्वेरिका कलेजका चालकलाई ल्याएर गाडी बजारमा पठाएँ’, खड्काले नेपालखबरसँग भने, ‘अहिले १० वटा गाडी बजारमा छन्।’
लकडाउनको सुरुमा किराना सामानको माग उच्च भयो। त्यसपछि तरकारी र फलफूल मगाउने पनि धेरै थिए।
‘लकडाउनको सुरुमा दैनिक ८ सय डेलिभरीसम्म भयो’, उनले भने, ‘लकडाउन खुल्दै गएपछि विस्तार घट्दै गयो।’
दराज, सस्तोडिल, सेल्सबेरीहरु पहिले नै बजारमा स्थापित भइसकेका छन्। उनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्छ भन्ने खड्कालाई थाहा थियो।
त्यही प्रतिस्पर्धाको लागि तयारी कमी नहोस् भनेर उनले भारतको अनलाइन सपिङ स्न्यापडिलबाट विज्ञ ल्याए। एक्सलट्रिप ग्लोबलका डिजिटल मार्केटिङ स्टाफलाई पनि नेपालमा ल्याए।
अहिले अनलाइन सपिङ खोलेको एक सय दिन पुगेको छ। यो बीचमा अनलाइन सपिङमा ग्यापुको चर्चा राम्रै भइसकेको छ। अहिले दैनिक १० लाखको व्यापार भइरहेको खड्का बताउँछन्।
चार वर्षअघिको योजना
लकडाउनमै ग्यापु अनलाइन सुरु गर्ने अवसर जुटे पनि यसको तयारी भने अलि अगाडि नै थियो। चार वर्षअघि नै उनले त्यस्तो कम्पनीको परिकल्पना गरेका थिए जसले अनलाइन सपिङमा भिन्न छाप छोडोस्!
अमेरिका, नेपालसहित अन्य देशमा खोल्ने योजना बनाएका थिए। त्यही बेला नै एक युनिक नाम खोजे।
नाम आकर्षक, छोटो र आफ्नो परिचय बोकेको होस् भन्ने उनको चाहना थियो। त्यसैले आफ्नो कम्पनीको नाम आफ्नै परिवारभित्रै खोजे।
‘मेरो नामको ‘ग्या’ र श्रीमतीको पूजाको पहिलो अक्षर ‘पु’ मिलाएर ‘ग्यापु’ नाम बनाएँ’, उनले कम्पनीको नामबारे भने, ‘यो नाम नयाँ र आफ्नोपन हुन्छ जस्तो लाग्यो।’
खड्काले २०१९ अगष्टदेखि नै ग्यापुमार्केट प्लेसको काम सुरु गरेर जनवरीमा ‘अप्रेसन’मा ल्याउने योजना बनाएका थिए।
यता नेपालमा पर्यटन वर्ष २०२० आउँदै थियो। त्यही मौकामा खड्काले नेपालमा पर्यटन प्रवर्द्धन गर्न भनेर एक्सलट्रिप नेपाल पनि सार्वजनिक गरे र नेपाल पर्यटन बोर्डसँग सहकार्यको प्रस्ताव अगाडि बढाए।
नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने र भिजिट नेपाल २०२० को अफिसियल ट्राभल पार्टनर बन्ने योजनासहित ४ वर्षको सम्झौता पनि भयो। जनवरीमा सुरु गर्ने भनिएको ग्यापुलाई अलि पर सार्दै अप्रिलमा पुर्याए।
यसैबीच, लकडाउन सुरु भयो। खड्काले सोचे– ग्यापु सुरु गर्ने यो नै उपयुक्त अवसर हो।
दुई साथी मिलेर १० करोडसहित अनलाइन सपिङ सुरु गरे। दुई वर्षसम्म बजार पहुँच विस्तार गर्ने तर लगानी नखोज्ने योजना उनीहरुको छ।
सय दिनको अनुभव
पछिल्लो सय दिनको अनुभवले उनलाई लागेको छ– नेपालमा वास्तविक इ–कमर्सको अभ्यास भएकै छैन। अनलाइनको रुपमा वेबसाइटमा सामानको फोटो राखे पनि व्यवहार भाटभटेनीको जस्तै छ।
ग्यापु मार्केट प्लेसले नेपालको अनलाइन सपिङमा रुपान्तरण ल्याउन चाहन्छ।
‘यसमा हस्तक्षेप गर्नुपर्छ भन्ने उद्देश्य राखेर ग्यापुलाई सुरु गरेका हौँ’, खड्काले भने, ‘नेपालको अनलाइन सपिङमा हस्तक्षेप गर्ने केही मोडलहरु तयार गरेका छौँ।’
नेपालका अनलाइन सपिङमा धेरै समस्या भएको उनी बताउँछन्। पहिलो त वेबसाइटमा जुन सामानको फोटो देखिएको छ, त्यही सामान ग्राहकले पाउँदैनन्।
दोस्रो अनलाइनमा पाउने सामान बजारभन्दा महंगो छ।
तेस्रो, समयमै ग्राहकले सामान पाउँदैन। भनेको सामान उपलब्ध छैन। गुणस्तरीय छैन।
चौथो, भेन्डरले समयमै भुक्तानी पाउँदैन। अनलाइन सपिङहरुले जोसँग सामान किन्ने सम्झौता गरेका हुन्छन्, उनीहरुले महिनौँ भुक्तानी गर्दैनन्।
उनले नेपालका अनलाइन सपिङका समस्याका लामै सूची सुनाए।
नेपालभन्दा पनि बाहिरको इ–कमर्स कसरी चल्छ, त्यो यहाँ लागू गराउन चाहेको उनी बताउँछन्। त्यसका लागि नयाँ चिज ल्याउन खोजेका छन्। तर यहाँ धेरैथरि समस्या छन्।
नेपालमा इ–कमर्स सुरुवात भएको २० वर्ष भयो तर अहिलेसम्म यसले ठूलो फड्को मार्नसकेको छैन। यहाँका समस्या के–के छन्, तिनीहरु आफूले भोग्न नपरोस् भन्ने उनीहरुको उद्देश्य छ।
यी सबै विषयमा ‘डिस्रप्सन’ (क्रमभंगता) ल्याउन चाहन्छन् उनी। एक वर्षमा नेपालको अनलाइन सपिङको अधिकांश हिस्सा आफ्नो कब्जामा पर्ने रणनीतिमा रहेको उनी बताउँछन्। अनलाइन सपिङमा देखिएका कुनै पनि समस्या नआउन भन्नेमा हेक्का राखेका छन्।
समयमै उपभोक्ताले सामान पाउनुपर्छ र उपभोक्ताले खोजेकै सामान उनीहरुको हातमा परोस् भन्ने उनको चाहना छ। उनको अनुभव छ, ‘सामान डेलिभरीपछि अफिसबाट फोन गर्छन्। सामान भनेअनुसार पाउनुभयो कि भएन? सोध्छौँ।’
अहिले ग्राहकको सन्तुष्टिमा ध्यान दिएको उनको भनाइ छ। ग्यापुले आफूले बेच्ने सामान बजारभन्दा सस्तो हुनुपर्छ भन्ने ‘बटमलाइन’ बनाएको छ। सामानको ‘लाइभ’ गर्नुअघि नै बजारमा ती सामान कति मूल्यमा उपलब्ध छन्, त्यो सबै अध्ययन गरेर मात्र हाल्ने गरेको उनले सुनाए।
‘हाम्रो सामान भाटभटेनी, दराज, सस्तोडिल, सेल्सबेरीभन्दा सस्तो पाइन्छ’, खड्काले भने, ‘तपाईंले वेबसाइटमा गएर चेक गर्न सक्नुहुन्छ।’
६ महिनादेखि एक वर्षसम्म घाटा खाएर भए पनि सस्तो सामान बेच्ने योजना रहेको उनले बताए। ‘यो अहिलेको लगानी हो। हामीलाई अरुको बजार लिनु छ’, उनले भने।
भेन्डरलाई सामान बिक्री भएको ३ दिनभित्र भुक्तानी गरिन्छ।
अहिले ग्यापुले सामानहरु थप्दै लगेको छ। हरेक दिन नयाँ नयाँ भेन्डरहरुसँग सम्झौता गरिरहेको छ।
‘हामीसँग दश हजार उत्पादनहरु छन्’, उनले भने, ‘लकभक सबै आइटमहरु जिरादेखि हिरासम्म राखेका छौँ।’
२ सय भेन्डरले उनीहरुसँग सहकार्य गरेका छन्। दैनिक ४ सयदेखि ५ सय नयाँ प्रोडक्ट ‘अपलोड’ भइरहेको छ। उनीहरुको आफ्नै फोटोग्राफर, स्टुडियो छन्। भेन्डरसँगको सामानको फोटो आफैँ खिचेर मात्र ‘अपलोड’ गर्छन्।
बजारमा आफ्नो पहुँच विस्तार गर्न लकडाउन अवसर बन्यो तर यो सधैँभरि रहँदैन।
यो पछिल्लो पटकको डेलिभरी संख्याले नै देखिइसकेको छ। लकडाउनको सुरुमा दैनिक औसत ८ सय डेलिभरी हुनेमा बजार खुलेपछि ४ सयमा झरेको छ।
अहिले उनीहरु काठमाडौं उपत्यकामा निःशुल्क डेलिभरी गरिरहेका छन्।
पोखरामा पनि आफ्नो सेवा सुरु गरिसकेको खड्काले जानकारी दिए। योसँगै कम्पनीले मुलुकभर सेवा पु¥याउने योजना सार्वजनिक गरिसकेको छ।
ग्यापु मार्ट
उनीहरुले अनलाइन सपिङसँगै काठमाडौं उपत्यकामा ग्यापु मार्ट सञ्चालन गर्ने योजना बनाएका छन्। बिग मार्टभन्दा अलि ठूलो र सेल्सबेरीभन्दा अलि सानो स्तरको ग्यापु मार्टको योजना रहेको खड्काले सुनाए।
ग्यापु मार्ट भएपछि स्थानीयलाई बजारसँगै अनलाइनमा आएको अर्डरलाई नजिकैको मार्टबाट वितरण गर्न सकिने पनि भयो।
यसको लागि जग्गा खोज्ने काम सुरु भइसकेको छ। काठमाडौंभरि ७ ठाउँमा यस्ता मार्ट खोल्ने योजना उनीहरुको छ। सकेसम्म खाली जग्गा र नभएर चल्न नसकेका रेष्टुरेन्टलाई पनि भाडामा लिने योजना अगाडि बढाएका छन्।
अर्को वर्ष नेपालबाहिर
अहिलेसम्म नेपालका कुनै पनि ‘टेकबेस्ड’ कम्पनीहरुले विदेशमा लगानी विस्तार गर्नसकेका छैनन्। बरु, पठाओ, दराजजस्ता कम्पनी नेपाल भित्रिरहेका छन्।
ग्यापु मार्केट प्लेस यो क्रमलाई तोड्न चाहन्छ। त्यसैले ग्यापुले अगामी वर्ष नेपालबाहिर पनि सेवा सुरु गर्ने योजना बनाएको खड्काले बताए। उनको पहिलो लक्ष्य भारतको दिल्ली र भियतनाममा छ।
‘अर्को वर्ष जनवरीमै ती ठाउँमा काम सुरु गर्ने लक्ष्य छ’, खड्काले भने, ‘परिस्थितिले कति साथ दिन्छ, त्यसमा पनि केही भर पर्ला।’
भियतनाममा उनको आफ्नो व्यवसाय पनि छ। त्यसले गर्दा पनि सजिलो हुने उनले बताए। भियतनाम विश्वमै तीव्र विकास भइरहेको अर्थतन्त्र हो। भियतनाममा अमेरिकादेखि चीनसम्मका ठूला लगानीकर्ता आएका छन्। जनसंख्या पनि धेरै छ।
चितवनदेखि सिलिकन भ्यालीसम्म
चितवनको टाँडीमा जन्मेका ३६ वर्षे खड्का विश्वका विभिन्न कम्पनीमा लगानी गर्दै पुनः आफ्नै मुलुकमा आएका छन्। टाँडीमा स्कुल सकेपछि उनले हेटौंडामै १२ कक्षा सके। त्यसपछि उनी विदेशको यात्रा सुरु भयो।
‘स्नातक पढ्न म सिंगापुर गएँ’, खड्काले भने, ‘सिंगापुरमा एमबीए सकाएँ।’
पढाइ सकेपछि उनी व्यापारतिर लागे। त्यसको सुरुवात सिंगापुरमा कम्प्युटर र मोबाइलको व्यापार सुरु गरे। त्यसपछि उनी अनलाइन व्यापारतिर लागे।
‘पछि बैंकक गएर बच्चाहरुको म्याट्रेस उद्योग खोलेँ’, उनले भने, ‘त्यो सामान थाइल्याण्डमा उत्पादन गरेर स्विडेनमा बेच्नथालेँ।’ उनीसँग स्विडिस पार्टनर पनि थिए।
उनको लगानी विस्तार हुँदै गयो। थाइल्याण्डमा तीनवटा होटलमा लगानी गरे।
सन् २०१३ मा अमेरिकामा इनर्जी ड्रिंक्स कम्पनीमा लगानी गरे। त्यहाँ उनी चिफ अफ इन्भेष्टर थिए तर पार्टनर बीचैमा बेचेर भाग्यो।
पछि केही स्टार्टअप प्रविधिमा लगानी गर्नथाले। त्यसपछि उनी अमेरिका बसे। सिलिकन भ्यालीमा अफिस खोलेर २०१६ सम्म स्टार्टअप, नयाँ प्रविधिमा आधारित कम्पनीहरुमा ‘फन्डिङ’ लगानी गरिरहे।
‘सन् २०१६ मा मैले एक्सलट्रिप ग्लोबल खोलेँ’, खड्काले सुनाए, ‘केन्द्रीय कार्यालय अमेरिका एक्सल ट्रिप ग्लोबलमा १५ लाख होटल र ४ सयभन्दा धेरै एयरलाइन्स जोडिएका छन्।’ यसले होटल र फ्लाइट बुकिङको काम गर्छ।
खड्काले अहिलेसम्म २६ कम्पनीमा सेयर लगानी गरेका छन्। जसमध्ये अधिकांश अमेरिकमा रहेका छन्। अहिले उनी एक्सलट्रिप ग्लोबलसँगै नेपालबाहिर रहेका ४ वटा कम्पनीका मालिक हुन्।
प्रतिक्रिया