अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक स्थितिपत्र’ सार्वजनिक गर्दै आर्थिक रूपान्तरणका ११ वटा अवसरहरू रहेको बताएका छन्।
अर्थतन्त्रको विद्यमान चुनौतीहरूको सामना गर्दै आर्थिक रूपान्तरणका लागि बहुआयामिक अवसरहरू उपलब्ध रहेको उनले आर्थिक स्थितिपत्रमा उल्लेख गरेका छन्।
उनले पहिलो अवसरका रुपमा स्थिर सरकारको जगमा सुशासन कायम गर्दै लगानीमैत्री नीतिगत वातावरणमार्फत् निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न सकिने उल्लेख गरेका छन्। यसबाट अर्थतन्त्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि भित्र्याउँदै उत्पादनमूलक क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सकिने संभावना उनले देखेका छन्।
जलविद्युतको विशाल सम्भावनालाई सस्तो र भरपर्दो ऊर्जाका रूपमा उपयोग गर्दै औद्योगिकीकरण, सेवा क्षेत्र विस्तार र ऊर्जा निर्यातमार्फत स्थिर वैदेशिक आम्दानी सिर्जना गर्न सकिने अवसर रहेको उनले स्थिति पत्रमा उल्लेख गरेका छन्।
‘क्षेत्रीय विद्युत् व्यापार विस्तारले हरित ऊर्जा बजारमा नेपालको स्थान सुदृढ गर्ने देखिन्छ,’ वाग्लेले स्थिति पत्रमा भनेका छन्।
‘पुराना दलले चरम नीतिगत अस्थिरता सिर्जना गरे’, अर्थमन्त्रीले भने– त्यसैले अर्थतन्त्र अनुत्पादक चक्रमा फस्यो
तेस्रो अवसरमा रुपमा उनले उल्लेख गरेका छन्, ‘प्राकृतिक तथा सांस्कृतिक सम्पदाले उच्च मूल्यमा आधारित पर्यटन विकासको बलियो आधार प्रदान गरेको छ। हिमाली, सांस्कृतिक र समुदायमा आधारित पर्यटनको एकीकृत विकासमार्फत ग्रामीण क्षेत्रमा रोजगारी र आय सृजना विस्तार गर्न सकिन्छ। पर्यटन पूर्वाधार, सेवा गुणस्तर र गन्तव्य व्यवस्थापन सुधारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्न सहयोग पुर्याउँछ।’
कृत्रिम बौद्धिकता र रोबोटिक्सको उपयोग तथा डिजिटल प्रविधिको विस्तारलाई उनले चौथो अवसरको रुपमा उल्लेख गरेका छन्। भनेका छन्, ‘डिजिटल प्रविधिको सेवा निर्यात र ज्ञानमा आधारित अर्थतन्त्र विकासको अवसर बढ्दो छ। सूचना प्रविधि सेवा, बिजनेस प्रोसेस आउटसोर्सिङ तथा डिजिटल उद्यमशीलतामार्फत न्यून पुँजीमा उच्च मूल्य अभिवृद्धि गर्ने आर्थिक गतिविधि विस्तार गर्दै युवाशक्ति र साना उद्यमलाई विश्व बजारसँग जोडिने सम्भावना उच्च छ।’
वाग्लेले अर्थतन्त्र रुपान्तरणको पाँचौ अवसर कृषि क्षेत्रलाई मानेका छन्। उनले भनेका छन्, ‘कृषि क्षेत्रको आधुनिकीकरणमार्फत् उत्पादन, आय र निर्यात विस्तारको सम्भावना छ। उच्च मूल्यका बाली, पशुपालन, बगैंचा तथा कृषि प्रशोधन उद्योगमा लगानीमार्फत उत्पादकत्व वृद्धि र आयात प्रतिस्थापन गर्न सकिन्छ। भौगोलिक विविधताको उपयोगले क्षेत्रविशेष उत्पादन र ग्रामीण उद्योग विकासलाई टेवा पुर्याउन सक्छ।’
त्यसैगरी, औद्योगिक विकास र आपूर्ति श्रृङ्खला सुदृढीकरणमार्फत् निर्यातउन्मुख उत्पादन विस्तार गर्ने संभावना रहेको उनले बताएका छन्।
यसलाई वाग्लेले छैठौ अवसरको रुपमा उल्लेख गरेका छन्। ‘विशेष आर्थिक क्षेत्र, औद्योगिक क्लस्टर र व्यापार सहजीकरणका उपायहरू मार्फत उत्पादन लागत घटाउँदै प्रतिस्पर्धात्मक क्षमता बढाउन सकिन्छ। भौगोलिक अवस्थाको लाभ उठाउँदै क्षेत्रीय ट्रान्जिट ट्रेड हब बन्ने सम्भावना पनि उत्तिकै छ,’ वाग्लेले स्थितिपत्रमा उल्लेख गरेका छन्।
सातौं अवसरको रुपमा व्यवस्थित शहरीकरण र पूर्वाधार विकासलाई उल्लेख गरेका छन्।
व्यवस्थित सहरीकरण र पूर्वाधार विकासले लगानी आकर्षण र रोजगारी सिर्जनामा सकारात्मक योगदान पु¥याउने उनले उल्लेख गरेका छन्।
‘यातायात, ऊर्जा, सिँचाइ तथा डिजिटल पूर्वाधार विस्तारले उत्पादन र सेवा क्षेत्रको उत्पादकत्व वृद्धि गर्नेछ। सार्वजनिक निजी साझेदारीमार्फत् ठूला आयोजना कार्यान्वयन गर्ने अवसर पनि प्रबल छ,’ वाग्लेले स्थितिपत्रमा उल्लेख गरेका छन्।
रेमिट्यान्सलाई अर्थतन्त्र रुपान्तरणको अर्को अवसर भनिएको छ। आठौ अवसरको रुपमा उल्लेख भएको रेमिटेन्सलाई उत्पादनमूलक क्षेत्रमा रूपान्तरण गर्ने सम्भावना रहेको भनेका छन्।
‘वैदेशिक आम्दानीलाई उद्यमशीलता, सीप विकास र लगानीतर्फ मोड्न सके घरेलु अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउन सकिन्छ। प्रवासी नेपाली एवं वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप र अनुभवलाई स्वदेशी उत्पादन तथा सेवा क्षेत्रमा उपयोग गर्न सकिने अवस्था रहेको छ’, वाग्लेले उल्लेख गरेका छन्।
त्यसैगरी, वित्तीय क्षेत्र सुदृढीकरणले लगानी विस्तार र आर्थिक विविधीकरणलाई टेवा दिन सक्ने भन्दै वाग्लेले यसलाई नवौ अवसर भनेका छन्।
‘वित्तीय समावेशीकरण, डिजिटल वित्तीय सेवा र दीर्घकालीन लगानीका उपकरणहरूको प्रयोगले उपलब्ध बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सहयोग पु¥याउृँछ,’ वाग्लेले भनेका छन्।
अर्थतन्त्र रुपान्तरणको अर्को अवसर भनेर जैविक र पर्यावरणीय सन्तुलनलाई उल्लेख गरेका छन्। स्थिति पत्रमा लेखेका छन्, ‘जैविक र पर्यावरणीय सन्तुलन कायम गर्दै मुलुकभित्र उपलब्ध खनिज, जल, जमीन, जङ्गल र जडीबुटीको प्रचुर उपयोगमार्फत् आय, उत्पादन र रोजगारी बढाउने अवसर छ।’
आर्थिक रूपान्तरणको एघारौँ अवसरको रुपमा सुशासन र संस्थागत सुदृढीकरणलाई उल्लेख गरेका छन्। वाग्लेले भनेका छन्, ‘सुशासन र संस्थागत सुदृढीकरण आर्थिक रूपान्तरणको आधार हो। सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, सेवा प्रवाह अभिवृद्धि तथा सङ्घीय संरचनाको प्रभावकारी कार्यान्वयनमार्फत विकास परिणाम सुधार गर्न सकिन्छ।’
Shares

प्रतिक्रिया