कारोबार


रसुवागढी नाकाबाट ३१ अर्बको आयात: नेपालबाट सुक्खा घाँस निर्यात

रसुवागढी नाकाबाट ३१ अर्बको आयात: नेपालबाट सुक्खा घाँस निर्यात

नेपालखबर
बैशाख १४, २०८३ सोमबार ८:४७, काठमाडौँ

नेपाल–चीन व्यापारको महत्वपूर्ण  नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा रु ३१ अर्ब ३० करोड बराबरका बस्तु भित्रिएको छ।

नाकाबाट आयात हुने सामग्रीमा रोल कपडा, तयारी पोसाक, विद्युतीय इभी गाडी, जलविद्युत् तथा पूर्वाधार विकास आयोजनाका निर्माण सामग्री, स्याउ, लसुन, औद्योगिक कच्चापदार्थ, उद्योग तथा मिलका मेसिनरी सामग्री र नेपाली सेनाले निर्माण गरिरहेको ‘फास्ट ट्र्याक’ आयोजनाका उपकरण प्रमुख छन्।

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार आयातित सामग्रीको मूल्याङ्कनबाट नौ महिनाको अवधिमा  छ अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ। कठिन भौगोलिक अवस्था र पटक–पटक आउने प्राकृतिक अवरोधबीच पनि नाकाबाट व्यापार सञ्चालन भइरहेको उनले जानकारी दिए।

 नेपालबाट चीनतर्फ हस्तकलाका सामग्री, परम्परागत नेपाली कपडा, बाँसका मुढा, तिब्बत क्षेत्रमा चौँरीलाई खुवाइने ‘प्याकिङ’ गरिएको सुक्खा घाँस, चाउचाउ तथा बिस्कुट गरी करिब रु ६५ करोड बराबरका वस्तु निर्यात भएका छन्। सीमित उत्पादन क्षमताका बाबजुद नेपाली वस्तुको निर्यात क्रम विस्तार हुँदै गएको भन्सार कार्यालयले जनाएको छ।

गत असार २४ गते ल्हेन्देखोलामा आएको भीषण बाढीले मितेरी पुल बगाएपछि केही समय व्यापार पूर्ण रूपमा प्रभावित भएको थियो। पुल पुनःनिर्माण ढिलो सम्पन्न हुँदा गत पुस १७ गतेदेखि मात्रैसामग्रीको  आयात–निर्यात भई  पुनः नियमित रूपमा सञ्चालन हुन थालेको भन्सार कार्यालयले जनाएको छ।

सानो आकारको सडक  रसुवागढी क्षेत्र बारम्बार बाढी, पहिरो तथा सडक स्तरोन्नति कार्यका कारण प्रभावित हुँदै आएको छ।  व्यवसायीले सडक पूर्ण रूपमा बन्द नगरी समय तालिका मिलाएर मर्मत र व्यापार दुवै कार्य एकसाथ सञ्चालन पार्न माग गरेका छन्।
       
बाढीको असरले भन्सार याडमा सामान जाँचपास गर्ने मुख्य स्थान बालुवा खोलाको किनारमा रहेको छ। दिनभरि चिसो हावा र धुलोबीच कर्मचारीले निरन्तर काम गर्नुपर्ने अवस्था छ। पर्याप्त संरचना, सुरक्षित भवन तथा कार्य वातावरणको अभावले कर्मचारी कठिन परिस्थितिमा सेवा दिन बाध्य रहेको गुनासो कर्मचारीहरू बताउँछन्।

कर्मचारीले आधुनिक गोदाम, सुरक्षित जाँचपास स्थल, स्वास्थ्य सुरक्षाका सामग्री तथा विश्रामकक्षको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad