लगानीयोग्य रकम (तरलता) थुप्रिने क्रम नरोकिएपछि वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन्। चैतको तुलनामा सातवटा बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १३ बैंकले स्थिर राखेका छन्। अधिकांश बैंकले घटाउने वा स्थिर राख्ने नीति लिएसँगै वैशाखमा निक्षेपको औसत ब्याजदर ओरालो लागेको हो।
बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.४० प्रतिशतमा झरेको छ। चैतमा यस्तो ब्याजदर औसत ४.४९ प्रतिशत थियो। पछिल्लो समय बैंकहरूमा निक्षेप थुप्रिने तर कर्जाको माग नबढ्ने भएपछि बैंकहरूले लागत घटाउन ब्याजदर लगातार झार्दै आएका छन्।
वैशाखका लागि एभरेस्ट, हिमालयन, कुमारी, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर घटाएका हुन्। अन्य १३ बैंकले भने चैतको दरलाई नै निरन्तरता दिएका छन्। एनएमबी बैंकले ५ वर्षभन्दा माथिको अवधिका लागि ५ प्रतिशत ब्याज तोकेको छ, जुन यो महिनाकै सबैभन्दा बढी हो। अन्य सबै बैंकको ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ।
निक्षेपको ब्याजदर घट्दा बैंकहरूको आधार दर (बेस रेट) पनि घट्नेछ, जसका कारण बैंकबाट ऋण लिएका वा नयाँ ऋण लिन चाहने ऋणीहरूलाई राहत पुग्ने देखिन्छ। आधार दर घटेसँगै कर्जाको ब्याजदर स्वतः समायोजन हुने गर्छ।
अहिले वित्तीय प्रणालीमा अधिक तरलता रहेका कारण राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत बैंकहरूबाट पैसा खिचिरहेको छ। लामो समयदेखि कर्जा प्रवाह ठप्प प्रायः हुनु र निक्षेप बढिरहनुले ब्याजदर इतिहासकै न्यून बिन्दुको नजिक पुगेको बैंकरहरू बताउँछन्। वैशाखमा सिद्धार्थ बैंकले ४ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डले ४.१० प्रतिशत ब्याज तोकेका छन्, जुन बजारको न्यूनमध्येमा पर्छन्। कृषि विकास, सिटिजन्स र प्राइम कमर्सियल बैंकले ४.१५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
Shares

प्रतिक्रिया