कारोबार


संकट छिचोल्दै लघुवित्त : १८ कम्पनीको नाफा बढ्यो, अभियानको फड्को उच्च

संकट छिचोल्दै लघुवित्त : १८ कम्पनीको नाफा बढ्यो, अभियानको फड्को उच्च

सम्झना घिमिरे
माघ २६, २०८२ सोमबार १६:५२, काठमाडौँ

विगत तीन वर्षदेखि शिथिल बनेको लघुवित्त क्षेत्रको वित्तीय स्वास्थ्यमा सुधारका संकेतहरू देखिन थालेका छन्। २०७९/८० को आर्थिक मन्दीपछि समस्याग्रस्त बनेका लघुवित्त कम्पनीहरूले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आफ्नो वासलातमा उल्लेख्य सुधार गरेका हुन्।

सहकारी र लघुवित्त क्षेत्रमा देखिएको ऋण असुलीको संकटले समग्र वित्तीय प्रणालीलाई नै प्रभावित बनाएको थियो। वाणिज्य बैंकहरूमा अझै पनि त्यसको बाछिटा कायम रहँदा लघुवित्तहरूले भने आफ्नो बिग्रिएको हिसाबकिताब दुरुस्त पार्दै नाफाको बाटोतर्फ लागेका छन्। पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका २० वटा लघुवित्तमध्ये १८ वटाको नाफामा राम्रो सुधार देखिएको छ।

नाफाको उकालो यात्रा हालसम्म विवरण सार्वजनिक गरेकामध्ये अधिकांश लघुवित्तको नाफा वृद्धिदर उत्साहजनक छ। विशेषगरी आशा लघुवित्तले ४३१.५५ प्रतिशत र एनआईसी एसिया लघुवित्तले ३४६.४६ प्रतिशतले नाफा बढाउन सफल भएका छन्। नाफा बढाउने अन्य कम्पनीहरूमा एनएमबी लघुवित्त १९२.८३ प्रतिशत, स्वावलम्बन लघुवित्त ११३.८३ प्रतिशत र सपोर्ट लघुवित्त १०४.८३ प्रतिशत रहेका छन्।

यस्तै, आरम्भ चौतारी ८३.०८ प्रतिशत, डिप्रोक्स ८०.२९ प्रतिशत, आरएसडिसी ७३.५३ प्रतिशत र गुराँस लघुवित्त ७२.१५ प्रतिशतको नाफामा पनि उल्लेख्य बढोत्तरी देखिएको छ। हिमालयन लघुवित्त ७१.६६ प्रतिशत, स्वरोजगार ४४.८७ प्रतिशत, स्वाभिमान ४३.८२ प्रतिशत र फर्स्ट माइक्रोफाइनान्स ३४.६३ प्रतिशतले पनि आफ्नो कमाइमा सुधार गरेका छन्।

अभियान लघुवित्तको नाटकीय सुधार यसपटकको वित्तीय विवरणमा अभियान लघुवित्तको प्रगति सबैभन्दा रोचक देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्म जम्मा ३७ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालू आवको सोही अवधिमा १९४३.३ प्रतिशतको फड्को मार्दै ७ करोड ७३ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यो तथ्याङ्कले कम्पनीले खराब कर्जा व्यवस्थापन र असुलीमा आक्रामक रणनीति अपनाएको सङ्केत गर्छ।

घाटाबाट नाफातिर गत वर्षको दोस्रो त्रैमासमा ऋणात्मक अवस्थामा रहेका तीन वटा लघुवित्तहरू यसपटक नाफामा उक्लिन सफल भएका छन्। इन्फिनिटी लघुवित्त, नेरुडे लघुवित्त र समता घरेलु लघुवित्तले आफ्नो सञ्चालन खर्च कटौती र कर्जा असुलीमा ध्यान केन्द्रित गरेसँगै वित्तीय अवस्थामा सुधार आएको हो।

अपवादमा साना किसान र सिवाइसी अधिकांश लघुवित्त नाफामा रमाइरहँदा दुई वटा कम्पनीको अवस्था भने प्रतिकूल देखिएको छ। साना किसान लघुवित्त र सिवाइसी नेपाल लघुवित्तको नाफामा गत वर्षको तुलनामा गिरावट आएको छ। विवरणअनुसार साना किसानको नाफा २६.४२ प्रतिशत र सिवाइसी नेपालको नाफा १३.६० प्रतिशतले घटेको हो।

समग्रमा, चालू आवको दोस्रो त्रैमासिक विवरणले लघुवित्त क्षेत्रमा देखिएको चरम अविश्वास र संकट बिस्तारै हटेको पुष्टि गर्छ। कर्जा असुलीमा देखिएको सुधार र वित्तीय अनुशासनका कारण आगामी दिनमा यो क्षेत्र अझै सुदृढ हुने अपेक्षा लगानीकर्ताहरूले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad