कारोबार


आम्दानीका बाटा खुम्चिएपछि घट्यो आधा वाणिज्य बैंकहरूको नाफा

आम्दानीका बाटा खुम्चिएपछि घट्यो आधा वाणिज्य बैंकहरूको नाफा

सम्झना घिमिरे
माघ १५, २०८२ बिहिबार १६:५१, काठमाडौँ

बैंकहरूको प्रमुख आम्दानीको स्रोत नै खुम्चिएपछि समग्र नाफामा असर देखिन थालेको छ।

कर्जा प्रवाह गरेर ब्याजमार्फत नाफा संकलन गर्ने बैंकहरू लामो समयदेखि तरलता अधिकको अवस्थामा पर्दा नाफा प्रभावित भएको हो।

पछिल्लो समय ब्याजदर एक दशकयताकै न्यून रहे कर्जा प्रवाह हुन सकेको छैन। फलतः बैंकहरुले ब्याज आम्दानीमा दबाब खेप्नुपरेको छ। यसले सञ्चालनमा रहेका २० मध्ये आधा वाणिज्य बैंकहरूको वासलातमै नकारात्मक असर देखिएको छ भने आधाको सामान्य सुधार देखिएको छ।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ६ महिनाको अपरिष्कृत वित्तीय विवरणमा २० मध्ये ९ वटा बैंकको नाफा घट्दा एउटाको ऋणात्मक देखिएको छ। यस्तै बाँकी १० वटाको भने नाफामा सामान्य सुधार देखिएको छ। 

पुस मसान्तसम्म सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ भने सबैभन्दा थोरै नाफा गर्नेमा एनआईसी एसिया बैंक देखिएको छ। 

गत वर्षको ६ महिनाको तुलनामा चालू आवको ६ महिनामा वृद्धिदरका हिसाबमा सबैभन्दा धेरै १८२.०६ प्रतिशतसहित नेपाल बैंकले नाफा बढाउँदा लक्ष्मी सनराइज बैंकको १२३ प्रतिशतले ऋणात्मक वृद्धिदर छ। 

नाफाको रकममा नेपाल बैंक धेरै कमाउनेको सूचीमा १० नम्बरमा देखिए पनि वृद्धिदरमा अगाडि छ। यो बैंकले प्रोभिजनमा राखेको रकम २ अर्ब बढीले घटाएपछि नाफा बढ्न मद्दत पुगेको हो। 

पुससम्म आधा बैंक कम आम्दानीको शिकार बनिरहँदा नेपाल बैंकसहित सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंक भने नाफामा अब्बल देखिएका छन्। उनीहरूले अधिकतम १८२ प्रतिशतदेखि ४६ प्रतिशतसम्मले नाफा बढाएका छन्। यीबाहेकका ६ वटा वाणिज्य बैंकहरूको पनि नाफा गत वर्षभन्दा बढेको छ। 

पुससम्मको अपरिष्कृत वित्तीय विवरणमा आधारित

गएन कर्जा, गएको पनि आएन फिर्ता
बैंकहरूले नाफा घट्नुलाई साझा कारणको रुपमा कर्जा प्रवाह कम हुनु र गइसकेको कर्जा फिर्ता नहुनुलाई देखाएका छन्। 

नाफामा ऋणात्मक देखिएको लक्ष्मी सनराइज बैंकले घाटा हुनुमा बैंक सञ्चालनमा लाग्ने खर्च अत्यधिक बढ्नु, सर्वसाधारणबाट संकलन गरेको निक्षेप प्रतिफल दिने क्षेत्रमा लगानी गर्न नसक्नुलाई प्रमुख कारण मानेको छ। 

अहिले बैंक तथा वित्तीय संस्थाहरूले करिब १२ खर्बबराबरको लगानीयोग्य रकम बोकेर बसेका छन्। यसले बैंकहरूको आम्दानीलाई खुम्च्याएर लागत बढाउँदा बैंकहरूको नाफामा नकारात्मक असर देखिएको छ। 

६ महिनामै करिब ५ अर्बको नाफा गरेको नबिल बैंकले निष्क्रिय कर्जा व्यवस्थापन, सुस्त अर्थतन्त्र र कमजोर सम्पत्ति गुणस्तर, सरकारले गर्ने पुँजीगत खर्च घट्नुलाई चुनौती औँल्याएको छ।

यो अवधिमा बैंकहरूको खराब कर्जाको अवस्थामा पनि खासै सुधार हुनसकेको छैन। नाफा बढाउन सफल बैंकहरूको पनि खराब कर्जा भने बढेको देखिएको छ। 

तीन बैंकमा धेरै खराब कर्जा
वाणिज्य बैंकहरुमध्ये केहीको अधिकतम करिब ८ प्रतिशतसम्म खराब कर्जा पुगेको छ। 

गत आव र चालू आवको पुससम्म वाणिज्य बैंकहरूको खराब कर्जा

धेरै खराब कर्जा बोक्ने बैंकहरुमा एनआईसी एसिया ७.४७ प्रतिशत, हिमालयन बैंक ७.९६ प्रतिशत र प्रभु बैंक ७.९४ प्रतिशत छन्। 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्षतिका कारण पनि नियमित कर्जा असुलीमा समेत असर देखिएको छ। बैंकहरूले वासलातमै जेनजी आन्दोलनपछि कर्जा असुलीका समस्या बढेको उल्लेख गरेका छन्।

त्यसो त पुस मसान्तसम्मको वित्तीय विवरणमा खराब कर्जासँगै नाफामा पनि दबाबमा देखिएका बैंकलाई नियामकीय लचकताले माघदेखि भने केही सजिलो बनाइदिएको छ। 

गत माघ २ गते नेपाल राष्ट्र बैंकले बैंकहरूले कर्जा प्रवाह गरेपछि सोबापत गर्नुपर्ने प्रोभिजनको अवधिलाई ६ महिनाबाट घटाएर ३ महिनामा राखेको छ। 

यसले लामो समयसम्म बैंकहरूको नाफामा देखाउन मिल्ने रकम प्रोभिजनमा होल्ड हुन कम गर्नेछ। यसले नाफालाई समेत बढाउन मद्दत पुग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad