ad ad

कारोबार


इन्टरनेटको ब्यान्डविथ खपत २० प्रतिशतले बढ्यो, बढेन सेवाप्रदायकको आम्दानी

इन्टरनेटको ब्यान्डविथ खपत २० प्रतिशतले बढ्यो, बढेन सेवाप्रदायकको आम्दानी

सन्तोष न्यौपाने
बैशाख १५, २०७७ सोमबार ११:२,

मुलुकमा लकडाउन सुरु भएपछि इन्टरनेट खपतमा उल्लेख्य वृद्धि भएको छ।

अन्तर्राष्ट्रिय ब्यान्डविथ, मोबाइल डाटादेखि फिक्स्ड लाइनको इन्टरनेट खपतमा वृद्धि भइरहेको बेला त्यसबाट आउने प्रतिफल भने बढ्न नसकेको सेवा प्रदायकले गुनासो गरेका छन्।

लकडाउनको समयमा उपभोक्ताको चाप र लामो समय इन्टरनेट प्रयोग हुँदा पहिलेको तुलनामा खपत वृद्धि भएको इन्टरनेट सेवा प्रदायकको भनाइ छ।

लकडाउन सुरु भएपछि धेरै कम्पनीहरुले अन्तर्राष्ट्रिय ब्यान्डविथ बढाएर ‘ट्राफिक’ म्यानेजमेन्ट गरिरहेको जनाएका छन्।

‘लकडाउन सुरु भएपछि अन्तर्राष्ट्रिय ब्यान्डविथ २० प्रतिशतले वृद्धि भएको छ’, नेपाल इन्टरनेट सेवा प्रदायक संघ (इस्पान)का अध्यक्ष भोजराज भट्टले भने, ‘अहिले वृद्धि भएको ट्राफिकलाई म्यानेजमेन्ट गर्न अन्तर्राष्ट्रिय ब्यान्डविथ वृद्धि भएको हो।’

नेटम्याक्स इन्टरनेटका सञ्चालक समेत रहेका भट्टले लकडाउन सुरु भएपछि इन्टरनेट खपतको ‘ट्राफिक’ वृद्धि भएकोले अन्तर्राष्ट्रिय ब्यान्डविथ बढाएर लोड धानिएको बताए।
‘लकडाउन सुरुका केही दिनसम्म ट्राफिक व्यवस्थापनमा धेरै गाह्रो भयो’, भट्टले भने, ‘यो समस्यालाई अहिले व्यवस्थापन गरिएको छ।’

इस्पानको पूर्वअध्यक्ष तथा भायनेटका प्रबन्धनिर्देशक विनय बोहरा धेरैजसो इन्टरनेट सेवा प्रदायकले अन्तर्राष्ट्रिय र स्थानीय ब्यान्डविथ बढाएको बताए।

भायनेटले पहिले भएको सोलसेल ब्यान्डविथलाई अहिले प्रयोगमा ल्याएको बताए।

‘मैले बेच्नुपर्छ भनेर होलसेल ब्यान्डविथ रोखेको थिए’, बोहोराले भने, ‘त्यसलाई प्रयोग गरिरहेको छु।’

लोकडाउनको अवधिमा शतप्रतिशत लोकल ब्यान्डविथ प्रयोग भइरहेको उनको भनाइ छ। मुलुकभित्र पनि स्थानीय ब्यान्डविथ जम्मा भएको हुन्छ। गुगल, फेसबुक, नेटफिल्क्सहरुको ब्यान्डविथ लोकल हुन्छ। उनीहरुले ब्यान्डविथ क्यासिन गरेर राखेका हुन्छ।

नेपाल टेलिकमले लोकल ब्यान्डविथ प्रयोग गरेर बढेको ट्राफिक व्यवस्थापन गरिरहेको जनाएको छ। नेपाल टेलिकमका प्रबन्धनिर्देशक डिल्ली अधिकारीका अनुसार ब्यान्डविथको प्रयोग १५ प्रतिशतले वृद्धि हुँदा मोबाइल डाटा प्रयोग ३० प्रतिशतले वृद्धि भएको बताए।

गुगल, फेसबुक, नेटफ्लिक्सजस्ता क्यास सर्भर र लोक ब्यान्डविथको प्रयोगमा वृद्धि भएको उनले बताए।

लकडाउनपछि इन्टरनेटको प्रयोगको प्रवृत्तिमा केही फरक भएको छ। घरको इन्टरनेट प्रायः बेलुका मात्र धेरै प्रयोग हुन्थ्यो। लकडाउनपछि भने यो ट्रेन्ड परिवर्तन भएको छ। अहिले घरको इन्टरनेट पनि बिहान, दिउँसो, बेलुका प्रयोग भइरहको छ। अनलाइन कक्षाहरु सञ्चालन भइरहेका छन्।

भएका उपभोक्ताले बिहानदेखि बेलुकासम्म प्रयोग गरिरहेका छन्। घरेलु इन्टरनेटमार्फत विभिन्न गतिविधि समेत भइरहेका छन्।

वर्क फ्रम होम, स्टडी फ्रम होम, जुम मिटिङ, जुम कन्फेरेन्स, युट्युब र नेटफ्लिक्स हेरेर नेट प्रयोग गरिरहेका छन्। सामाजिक सञ्जाल सञ्चारमाध्यमको प्रमुख माध्यम बनेका छन्।

अर्कोतिर, कार्यालय र व्यवसायमा प्रयोग भएका इन्टरनेट चलेका छैनन्। व्यावसायिक इन्टरनेट खपत नहुँदा उपभोक्ताबाट शुल्क उठ्न नसकेको बोहराले बताए। त्यस्ता इन्टरनेट चलाउन कतिपय ग्राहकले लाइन काटिदिन समेत भनेको उनले बताए।

‘अहिले प्रयोग भइरहेको इन्टरनेटको पैसा उठिरहेको छैन’, बोहराले भने, ‘ कार्यालय, व्यवसाय स्थलमा प्रयोग भएको इन्टरनेटको पैसा उठ्ने सम्भावना छैन।’

घरेलु प्रयोगमा शुल्क उठाउन गाह्रो भइरहेको सेवा प्रदायकको भनाइ छ

कमाइ कसरी घट्यो?
उपभोक्ताको चापले इन्टरनेट उपभोग बढिरहेको भए पनि सेवा प्रदायकहरु भने त्यसअनुसारको आम्दानी नभएको बताउँछन्।

‘इन्टरनेट खपत बढेको छ तर आम्दानी भने अझ भटेको छ’, बोहराले भने, ‘खपत बढ्यो भनेर मख्ख पर्नुपर्ने अवस्था छैन। हाम्रो आम्दानी ५० प्रतिशतले घटेको छ।’

आम्दानी नबढ्नुमा मुख्य त तीन कारण रहेको सेवा प्रदायकको भनाइ छ।

पहिलो कारण हो, नयाँ उपभोक्ता थप्न नपाउनु। इन्टरनेट सेवा प्रदायकको प्रमुख आम्दानीको स्रोत भनेको नयाँ ग्राहक थप्नु हो। बोहराका अनुसार नयाँ ग्राहक थप्दा ३० प्रतिशत कमाइ हुन्छ।

मुलुकभर लकडाउन हुदा कुनै पनि कम्पनीले नयाँ ग्राहक थप्न पाएका छैनन्।

‘नयाँ ग्राहकबाट हुने ३० प्रतिशत आम्दानी घटेको छ’, बोहराले भने, ‘मार्केटिङ र नेटवर्किङको काम हुनसकेको छैन।’

दोस्रो कारण, भएका ग्राहक पनि घट्न थालेका छन्। लकडाउनका कारण व्यावसायिक रुपमा चलाएका ग्राहकले झण्डै डेढ महिनाभन्दा धेरैदेखि इन्टरनेट चलाएका छैनन्। स–साना व्यवसाय गरिरहेका त्यस्ता व्यक्तिहरुले इन्टरनेट लाइन काटिदिन भन्न थालेको बोहराले बताए।

त्यस्तै, काठमाडौंजस्ता ठूला सहरमा बस्ने विद्यार्थीलगायतका ठूलो समूह गाउँमा गएको छ। सहरमा इन्टरनेट जोडेका ती समूहले दुई महिनाको इन्टरनेटको मूल्य बिनासित्ती तिर्नुभन्दा लाइन नै काटिदिन भन्न थालेका छन्।

सेवा प्रदायकका अनुसार आम्दानी घट्नुको अर्को कारण हो घरेलु इन्टरनेटको खपत बढ्नु तर व्यावसायिक घट्नु।

घरेलु इन्टनेटको शुल्क सस्तो हुने र व्यावसायिक रुपमा चलाइएको इन्टरनेट अलि महंगो र खपत धेरै हुन्छ। यसको अर्थ के हो भने अहिले धेरै चलेको इन्टरनेट भनेको घरेलु हो। जसको शुल्क कम हुन्छ तर खपत धेरै भइरहेको छ।

‘हाम्रो व्यवसायमा मुख्य स्रोत भनेको व्यवसाय र कार्यालयबाट हो’, बोहराले भने, ‘घरेलु प्रयोगकर्ता भनेको कस्तो हुन्थ्यो भने दिउँसोमा कार्यालयमा, व्यवसायम प्रयोग भइरहेको इन्टरनेट बेलुका घरेलुमा प्रयोग हुन्थ्यो। अहिले त घरेलुले दिनभर चलाउने भए, व्यवसाय कार्यालयमा बन्द भयो।’

त्यो सन्तुलन बिग्रिएको उनको भनाइ छ। इन्टरनेटको खपत धेरै हुँदा ब्यान्डविथको मूल्य तिर्नुपर्ने तर आम्दानी बढ्न नसकेको उनको गुनासो छ।

आगामी दिनमा कस्तो होला?
लामो लकडाउनको समयले इन्टरनेट प्रयोग बढेको मात्र होइन, यसमा केही नयाँ गतिविधि पनि देखिएका छन्।

नेपाली उपभोक्ताले खासै प्रयोग नगरेको ‘वर्क फ्रम होम’, भर्चुअल मिटिङ, अनलाइन कक्षाहरु सञ्चालन भइरहेका छन्। नेपाली उपभोक्तामाझ यी गतिविधिमा बानी पर्न गएमा भविष्यमा पनि इन्टरनेटको प्रयोग गरेर कार्यालय र व्यवसायका काम हुनसक्ने बोहराले बताए।

‘कोरोना भाइरसको भ्याक्सिन पत्ता नलाग्दासम्म वर्क फ्रम होम चलिरहन्छ जस्तो लाग्छ’, बोहराले भने, ‘सामाजिक दूरी कायम राख्नुपर्ने हुन्छ।’

अफिस र व्यवसायको काम घरबाटै गर्ने परम्परले निरन्तरता पाएमा घरेलु प्रयोगकर्ता अझ बढ्ने उनको विश्लेषण छ।

अहिलेको राम्रो पक्ष भनेको इन्टरनेट नभई नहुने सेवा रहेछ भन्ने धेरैले थाहा पाएको बोहराले बताए।

अर्कोतिर, लकडाउनले खस्केको आर्थिक अवस्थाले गर्दा अन्य व्यवसायसँगै इन्टरनेट खपत पनि कम हुनसक्ने बोहराको बुझाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .