ad ad

कारोबार


नेपाल भित्रिने मालवाहक सवारीसाधनलाई भन्सार विन्दुमा निस्संक्रमण प्रमाणपत्र अनिवार्य

नेपाल भित्रिने मालवाहक सवारीसाधनलाई भन्सार विन्दुमा निस्संक्रमण प्रमाणपत्र अनिवार्य

सन्तोष न्यौपाने
बैशाख १४, २०७७ आइतबार ९:४२,

अब कुनै पनि सामान आयात गर्दा भन्सार विन्दुमा मालवाहक सवारीसाधनले ‘निस्संक्रमण प्रमाणपत्र’ पेश गर्नुपर्ने भएको छ।

सरकारले आयात निर्देशिका जारी गर्दै देशमा भित्रिने मालवाहक सवारीसाधनका लागि निस्संक्रमण प्रमाणपत्र अनिवार्य गरेको हो।

सामान आयात गर्दा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन सक्ने भएकाले भन्सार विन्दुमा अपनाउने विधिसहितको निर्देशिका ‘कोभिड–१९ रोगको महामारीका समयमा आयात विन्दुमा अपनाउनुपर्ने सुरक्षा विधि’ जारी गरिएको हो।

विशेषगरी भारतमा कोरोना भाइरस फैलिरहेको र त्यहाँबाट नेपालमा धेरै सामान आयात भइरहेको छ। निर्देशिका जारी भएसँगै अब यस्ता मालवाहक सवारीसाधनले विशेष सावधानी अपनाउनुपर्नेछ।

बाह्य मुलुकबाट मालवाहक गाडी तथा वस्तुबाट कोरोना भइरस भित्रिन नदिन सरकारले मालवाहक सवारीसाधन निस्संक्रमण निर्देशिका जारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए।

‘बाहिर मुलुकबाट आयात हुने कन्साइनमेन्ट लिई आउने मालवाहक सवारीसाधनमा कन्साइनमेन्ट लोड हुनुअगावै सरसफाइ तथा निस्संक्रमण गरेर मात्र सामान लोड गरेको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्नेछ’, सरकारले जारी गरेको सुरक्षा विधिसहितको निर्देशकामा भनिएको छ, ‘सोको लागि आयात अनुमतिपत्र जारी गर्दा सो शर्तसहितको अनुमतिपत्र जारी गर्ने व्यवस्था मिलाउने।’

सामान आयात गर्दा गाडी चालक र मालवस्तु दिलाउने व्यक्तिमा कोभिड १९ रोगको लक्षण नभएको एकीन गर्नुपर्नेछ। यसका लागि भन्सार विन्दुमा खटिएको हेल्थ डेक्सले मालवस्तु लिएर आउने व्यक्ति र चालकलाई ‘सेल्फ डिक्लेरेसन फर्म’ भराई प्रयोगशालामा परीक्षण गराउनुपर्नेछ।

कोरोनाको लक्षण नभेटिएमा मास्क लगाएको र सेनिटाइजरले वा साबुनपानीले हात राम्रोसँग धोएर मात्र देशभित्र छिर्नुपर्नेछ।

आयात विन्दुमा सवारीसाधनको सरसफाइ तथा निस्संक्रमण गर्नुपर्ने उक्त निर्देशिकामा उल्लेख छ। कन्साइनमेन्ट लिई आउने मालवाहक सवारीसाधन तथा चालकलाई सरसफाइ तथा निस्संक्रमण गरेर मात्र अन्य प्रक्रियाका लागि होल्डिङ यार्डमा पठाउनुपर्नेछ।

यस कार्यका लागि जाँचपासमा संलग्न कर्मचारीको सुरक्षामा पनि ध्यान दिनुपर्नेछ। व्यक्तिगत सुरक्षाका सामग्रीहरुको प्रयोग गरेर मात्र सवारीसाधनको जाँचपास गर्नुपर्ने उक्त निर्देशिकामा उल्लेख छ।

उक्त निर्देशिकामा सवारीसाधनको सरसफाइ तथा निस्संक्रमण विधि समेत उल्लेख गरिएको छ। जसअनुसार सवारीसाधनमा रहेको सुख्खा फोहोरमैला पानीको फोहराको माध्यमबाट हटाउने र सरसफाइ कार्यमा धूलो वा लिक्विड डिटरजेन्ट मिसिएको पानीको प्रयोग (अनुसूचीमा उल्लेख भएअनुसार) गर्नुपर्नेछ।

त्यस्तै, निस्संक्रामक घोलको प्रयोग गरेर सवारीसाधनको बाहिरी सम्पूर्ण भाग निस्संक्रमण गर्नुपर्नेछ। ड्राइभर क्याबिन समेत निस्संक्रमण गर्नुपर्नेछ।

होल्डिङ यार्डमा मालसामान जाँचपास गर्दा अपनाउनुपर्ने विधि समेत निर्देशिकामा उल्लेख गरिएको छ।

जसअनुसार मालवस्तु जाँचपास गर्दा प्राथमिकताका आधारमा गर्ने, औषधि, सड्ने सम्भावना भएका खाद्यवस्तुलाई पहिलो प्राथमिकता दिने, सवारीसाधन (ड्राइभर क्याबिन समेत) र मालसामानलाई प्याकेट बाहिरबाट निस्संक्रमण गरेको एकीन गर्नुपर्नेछ।

सवारीसाधनको भित्री भागको कुनै सतहमा केही दिनसम्म पनि भाइरसको अस्तित्व रहन सक्नेबारे सेवाग्राहीलाई सचेत गराउने र सवारीसाधनबाट मालसामान उतार्ने क्रममा मजदुरहरुले न्यूनतम सामाजिक दूरी कायम गर्दै सुरक्षाको पूर्ण सावधानी अपनाउनुपर्ने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .