ad ad

कारोबार


हुवावेका संस्थापक रेन : सामान्य जीवनशैली, संसार हल्लाउने काम

हुवावेका संस्थापक रेन : सामान्य जीवनशैली, संसार हल्लाउने काम

जेन झांग/सेलिया चेन
बैशाख १४, २०७७ आइतबार ७:५९,

हुवावे टेक्नोलजिजका संस्थापक रेन झेंगफेईलाई लाग्छ – ‘समयक्रमसँगै मलाई पनि सबैले बिर्सिनेछन्।’

‘म एउटा बूढो मान्छे। मलाई सम्झिनुपर्ने त्यस्तो के छ र? मानिसहरुले भविष्य र संसारको बारेमा धेरै सोच्नुपर्छ’, ७५ वर्षीय उनले पछिल्लो अन्तर्वार्तामा भनेका थिए, ‘मेरो ठूलो इच्छा भनेको कसैले थाहा नपाउने क्याफेमा बसेर कफी पिउनु हो।’

यो एउटा आफैँमा सानो तर ....यस्तो देखिन्छ कि.... संसारकै ठूलो दूरसञ्चार सामग्री आपूर्तिकर्ता कम्पनीको प्रमुख कार्यकारीका लागि पूरा हुन कठिन चाहनाजस्तो।

हुवावे चीन–अमेरिका प्रविधि युद्धको मध्यभागमा उभिएको छ। अमेरिकाले हुवावेविरुद्ध एकपछि अर्को आक्रमण गरेपछि सामान्य जनजीवनमा रमाउने रेनलाई पर्दापछाडिबाट अगाडि आएर आफूले स्थापना गरेको कम्पनी जोगाउनुपर्ने बाध्यता आइपरेको छ।

huawei ren zhengfei 2
हुवावे टेक्नोलजिजका संस्थापक रेन झेंगफेई

रेनकी छोरी तथा हुवावेकी प्रमुख वित्तीय अधिकृत मेंग वांग्झाउ सन् २०१८ डिसेम्बरमा क्यानडामा पक्राउ परेसँगै हुवावेविरुद्ध अमेरिकी आक्रमण सुरु भयो। मेंग अहिले पनि घरमै नजरबन्दमा छिन्। अदालतमा उनीबारे सुनुवाइ जारी छ। उनलाई क्यानडाले ‘बैंकिङ फ्रड’मा अमेरिका सुपुर्दगी गर्नसक्ने चिन्ता पनि छ।

गत वर्ष मेमा वासिङटनले हुवावेलाई राष्ट्रिय सुरक्षामा खतरा पर्ने भन्दै कालोसूचीमा राखेको थियो। तर हुवावेले उक्त आरोप अस्वीकार गर्दै आएको छ। ट्रम्प प्रशासनले युरोपमा आफू पक्षराष्ट्रलाई पनि फाइभजी मोबाइल नेटवर्क विकासमा हुवावेविरुद्ध लबिङ गर्दै आएको छ।

मेंगको पक्राउअघि रेनले कहिल्यै पनि टेलिभिजन अन्तर्वार्ता दिएनन्। पत्रकारसँग उनी विरलै कुरा गर्थे। शेन्जेन हेडक्वार्टरमा काम गर्नेहरुले समेत रेनलाई कहिल्यै भेट्दैनथे।

meng wanjhou of huawei
मेंगको पक्राउअघि रेनले कहिल्यै पनि टेलिभिजन अन्तर्वाता दिएनन्।

तर कम्पनीको अनलाइन आन्तरिक फोरम सिनसेंग कम्युनिटीमा भने उनको राम्रै प्रभाव थियो। त्यहाँ उनी कम्पनीको सुधारलगायत धेरै विषयमा कम्पनीका कार्यकारी सदस्यसँग छलफल हुन्थ्यो।

उनलाई सिधा कुरा गर्ने संस्थापकका रुपमा पनि चिनिन्छ। नाम बताउन नचाहने हुवावकै लामो समयसम्म काम गरेका कर्मचारी एकपटक आफूले रेनले सोधेका कम्पनीको उत्पादनलगायत प्रश्नको उत्तर दिन नसक्दा साह्रै नराम्ररी रिसाएको सम्झिन्छन्।

एससीएमपीसँगको अन्तर्वार्तामा रेन आफैँले भनेका थिए, ‘म भित्रैदेखि स्वतन्त्र भएर बोल्छु।’ यसरी बोल्दा कर्मचारीले समेत कुनै बाधा सृजना गर्दैनन्।

उदाहरणका लागि, उनले बोल्ने सैन्य शब्दावलीहरुले कम्पनीप्रतिको धारणालाई सघाउ नपुग्ने भए पनि उनले प्रयोग गर्न छाड्दैनन्।

सैन्यपृष्ठभूमिका उनको सम्बन्ध चिनियाँ अधिकारीसँग निकट छ तर कसैले उनलाई रोक्न प्रयास नगर्ने एक कर्मचारी बताउँछन्।

हुवावेमा १० वर्ष बिताइसकेका उनी भन्छन्, ‘रेन एक पूर्ण नेता हो, हुवावेका समर्पित नेतृत्वकर्ता हो।’ तर रेन स्वयं भने आफूलाई त्यस्तो ठान्दैनन्। उनी भन्छन्, ‘म हुवावेको समर्पित नेतृत्व होइन, कठपुतली नेता हो।’

huawei ren zhengfei 3
कम्पनीमा रेनको मुख्य योगदान वैज्ञानिक अनुसन्धान र उत्पादनलाई निरन्तरता दिनेतर्फ रहेको उनी बताउँछन्।

कम्पनीमा रहेका अरु नेतृत्वतर्फ इंगित गर्दै एससीएमपीसँगको अन्तर्वार्तामै भनेका थिए, ‘म सांकेतिक भूमिका निभाउँछु, मन्दिरको माटाको मूर्तिजस्तै। योविना मन्दिर खाली देखिनसक्छ तर सत्य भन्नुपर्दा मूर्तिले साँच्चै केही गर्ने त होइन नि! म हुवावेमा हुँदा नहुँदा केही वास्तविक प्रभाव छ जस्तै लाग्दैन।’

कम्पनीलाई बचाइराख्न हुवावेले कर्पोरेट फाइलका लागि ‘सनसेट प्रोभिजन’को व्यवस्था गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट प्रेरित भएर यस्तो प्रावधान ल्याएको रेन बताउँछन्। यसको आयु ५ वर्षको हुन्छ। कम्पनीमा रेनको मुख्य योगदान वैज्ञानिक अनुसन्धान र उत्पादनलाई निरन्तरता दिनेतर्फ रहेको उनी बताउँछन्।

आफूले धेरै अन्तर्वार्ता नदिनुबारे उनी केवल बाँच्नु नै कुराकानीको विषय नभएको भन्न रुचाउँछन्। कम्पनीलाई गाह्रो क्षणमा बचाइराख्नु आफ्नो मुख्य ध्यान केन्द्रित गरेको उनको भनाइ छ।

चीनकै गरिब प्रान्तको एउटा पहाडी सहरमा जन्मिएका उनी कठिनाइसँग परिचित छन्। एक शिक्षकका सन्तानको रुपमा जन्मिएका रेनले सन् १९५८ र १९६१ को बीचमा चीनले भोगेको अनिकालका साक्षी भए।

पछि उनी पिपल्स लिबरेसन आर्मी (पीएलए) मा सन् १९७४ मा इन्जिनियरको रुपमा सम्बन्धित हुनपुगे। त्यतिबेला चीनमा सांस्कृतिक क्रान्ति चलिरहेको थियो। त्यसबेला आफूले रोजेको बाटोलाई उनी कठिन समयको सर्वोत्कृष्ट विकल्प भन्छन्।

४ वर्षपछि रेनले चीनको सत्ता हाँक्ने चिनियाँ कम्युनिष्ट पार्टीमा जोडिए। यसमा उनलाई सुपरभाइजर पार्टी संगठनले मद्दत गरेको थियो।

त्यतिखेर उनले नेशनल साइन्स कन्फ्रेन्समा सिन्थेटिक फाइबर फ्याक्ट्रीमा परिष्कृत टेस्टिङ उपकरणको आविष्कार गरेका थिए।

Huawei Founder Shrugs Off US Blacklisting Order | Voice of America ...
सैन्य जीवनले उनलाई ‘सेन्स अफ ड्युटी’ अर्थात् कामप्रतिको लगाव जगायो।

त्यतिखेर सम्झिँदै अहिले रेन भन्छन्, ‘हामी त आप्रवासी कामदार जस्तै थियौँ। सेनाभित्र धेरै प्राविधिक नै थिएनन्, त्यसकारण मजस्ता विज्ञता नभएका सेनालाई यो फ्याक्ट्रीमा पठाइन्थ्यो।’

सैन्य जीवनले उनलाई ‘सेन्स अफ ड्युटी’ अर्थात् कामप्रतिको लगाव जगायो। जुन हुवावेमा पनि लागू भएको छ। सन् १९८७ मा उनले २१ हजार युआनमा यसको स्थापना गरेका थिए।

यही लगावले हुवावेका इन्जिनियरहरुले सन् २००८ मा सिचुआनमा आएको वेन्चुआन भूकम्पमा उद्धारमा सहयोग गरे भने सन् २०११को जापानमा आएको टोहोकु भूकम्प र फुकुसिमा आणविक भट्टी चुहावटमा मद्दत गरेका थिए।

अझ हुवेईको प्रान्तीय राजधानी वुहानमा हुओशेनशान र लेशेनशान कोरोनाभाइरस उपचार अस्पतालका लागि फाइभजी टेलिकम पूर्वाधारमा समेत कम्पनीले राम्रै सहयोग गरेको थियो। यसलाई उनी कम्पनीको दायित्व मान्छन्। आकस्मिक अवस्थामा केवल कम्पनी मात्र नभएर आफूहरु समस्या समाधानमा जुनसुकै भूमिका निर्वाह गर्न तत्पर हुने उनको प्रतिबद्धता छ।

हुवावे इन्टरनेशनल एडभाइजरी काउन्सिलका एक सल्लाहकार टिआन ताओ रेन २० वर्षयता आफ्नो साथी भएको र असम्भवलाई सम्भव बनाउने संस्थापकको रुपमा लिन्छन्।

हुवावे स्थापनाका बेला १० वर्गमिटरको सानो कोठामा खुम्चिनुपरेको थियो, जहाँ रेन, उनको परिवार र भतिज बस्थे। निकै साँघुरो थियो। बाहिरपट्टि पकाएर खानुपर्ने कुरा उनले सन् २००१ मा नै एउटा विचारमा लेखेका थिए।

Huawei rings up stellar numbers - Asia Times
कम्पनी स्वयं आफ्ना कर्मचारीलाई समयमै तलब दिन सक्दैनथ्यो।

सरकारी बैंकबाट ऋण लिने पहुँच थिएन। पुँजी निकै सानो थियो। कम्पनी स्वयं आफ्ना कर्मचारीलाई समयमै तलब दिन सक्दैनथ्यो। त्यसको साटो अतिरिक्त बोनस दिने वचन दिन्थ्यो, सेयर दिने प्रतिबद्धता जनाउँथ्यो र त्यसैले कम्पनीको छुट्टैखाले कर्मचारी सेयर संरचना बनेको छ।

टिआन भन्छन्, ‘यस्तो कठिनाइका बाबजुद जब कम्पनीले ५ वर्ष पूरा गर्यो, रेनले भनेकै थिए – हुवावे आगामी २० वर्षभित्र विश्वको तीन ठूला दूरसञ्चार मुख्य कम्पनीमा अटाउनेछ।’ यो महत्वाकांक्षा अहिले सही साबित भएको छ।

हुवावका प्रारम्भिक दिनहरुमा कम्पनीले ठूलो संघर्ष गरेको थियो, रेन डिप्रेसनमा पुगेका थिए। टिआनसँग कतिपटक रोएका थिए।

‘४४ देखि ७३ वर्ष हुँदासम्म रेन झेंगफेईले आफ्नो फोन चौबीसै घण्टा अन गरेका छन्, वर्षको एकतिहाइ समय विश्व विमान यात्रामा बिताएका छन्’, टिआनले आफ्नो पुस्तक ‘विल हुवावे बि द नेक्स्ट टु फेल ?’मा लेखेका छन्।

परिणामतः उनका धेरै साथी छैनन्। ‘मैले रेनलाई २० वर्षदेखि चिनेको छु, उद्योगमा, सरकारमा र मिडियामा उनका धेरै साथी छन् जस्तो लाग्दैन’, रेनको यही बानीले आफ्ना निकटका साथी, परिवार र नातागोता पनि निकै महंगो परेको टिआनको भनाइ छ। उनले भन्ने गरेका छन्, ‘यो मेरा लागि सबैभन्दा ठूलो पश्चात्ताप हो।’

सेनामा रहँदादेखि नै रेनले परिवारलाई त्यति वास्ता नगरेको फाइबर फ्याक्ट्रीमा काम गर्दा आफ्ना सैन्य सहकर्मीलाई बताउने गरेका थिए। उनले यसलाई ठूलो अवसर मानेका थिए। पछि हुवावेलाई विश्वस्तरीय दूरसञ्चार उपकरण निर्माता बनाइसकेपछि त झन् घरमा धेरै समय नै बिताउन पाएनन्।

‘मेरा सन्तान हुर्किसकेका छन्, उनीहरुसँग लुकामारी गर्ने समयमा म थिइनँ’, उनले भने, ‘मेरो श्रीमती र म आफ्नै हकमा पनि त्यस्तै भयो, श्रीमतीसँग पनि म त्यस्तो नजिक भइन, धेरै समय बिताउन पाइन, यो मेरा लागि पश्चात्तापको कुरा हो।’

ठूली छोरी मेंगले पनि कम्पनीमा १ दशक बिताइसकेकी छिन्। छोरा मेंग पिंग पनि हुवावेकै सब्सिडरी कम्पनीमा काम गर्छन्। उनको दोस्रो विवाहबाट जन्मिएकी छोरी अन्नाबेल याओ अहिले हार्वर्ड युनिभर्सिटीमा पढ्दै छिन्।

छोरी मेंगसँग पछिल्लोपटक रेनले चिनियाँ लुनार न्यु इयरमा कुरा गरेका रहेछन्। उनले गला अवरुद्ध पार्दै भने, ‘हामीले केवल च्याट गर्यौँ।’

छोरीको सम्झना कति आउँछ भन्ने प्रश्नमा उनी भन्छन्, ‘धेरै। तर उनलाई सम्झिँदैमा केही मद्दत मिल्ने होइन, त्यहाँ धेरै कानुनी प्रक्रिया छन्।’

आफ्नो परिवारलाई समय नै नदिने रेन कम्पनीका नजिकका कर्मचारीलाई भने पर्याप्त समय दिने गरेको टिआन बताउँछन्। उनीहरुको ससाना कुरामा पनि ध्यान दिन्छन्।

कोरोना भाइरस संक्रमण व्यापक बनेपछि हुवावेले ट्रक ड्राइभरका लागि स्न्याक बक्सहरु सहयोग गरेको उनको भनाइ छ। उनको भनाइमा ट्रक ड्राइभर तिनै हुन्, जसले हुवावेका सामग्री बोक्छन्। सोही कारण उनीहरुप्रति रेन दयालु छन्। ती स्न्याक बक्सभित्र तातो कफी, चिया, स्यान्डविच र मास्कलगायत हुने उनको भनाइ छ।

रेनको नराम्रो पाटोबारे टिआन धैर्य गर्ने स्वभावलाई औँल्याउँछन्। झट्टै रिसाउँछन्। उनका अनुसार रेनको जीवन दिक्क लाग्दो र निरस छ। थोरै सोखहरु छन्। उनी छिटो पढिसक्छन्। धेरै स्रोतहरुबाट उपायहरु सिक्छन् र तिनलाई हुवावेमा लगेर जोड्छन्।

उनी अमेरिकी रक्षा मन्त्रालयका प्रकाशित सामग्रीसम्म पढ्न भ्याउँछन्। तत्कालीन रक्षामन्त्री जेम्स म्याटिसले सैन्य परिचालन गर्ने आदेशबारे उनले फाइभजीका अवसर र चुनौतीबारे छलफल नै गरेका थिए। यसबारे हुवावेले नै लेखिसकेको छ, ‘उनीहरु जान्दछन्, कसरी हामीविरुद्ध प्रभावकारी क्याम्पेन चलाउने भनेर।’ तर यसले आफूहरुलाई सुधार्ने रेनको दाबी छ।

पछिल्लो समय उनले अध्ययन छोडेका छन्। यो आँखा जोगाउनका लागि हो। नयाँ कुरामा उनको रुचि जाग्नथालेको छ। उनी डोउयिनका भिडियो र चिनियाँ भर्सनको टिकटक, फिल्म र टिभी ड्रामा बढी हेर्नथालेका छन्।

Dibuang' AS dan Google, Beginilah Perjuangan Ren Zhengfei Dirikan ...
उनी डोउयिनका भिडियो र चिनियाँ भर्सनको टिकटक, फिल्म र टिभी ड्रामा बढी हेर्नथालेका छन्।

‘यो ७५ वर्षीय रेनको गोप्य मामिला हो, चर्चित शोहरु उनले हेर्ने गरेका छन्’, साथी टिआन भन्छन्, ‘आई विल फाइन्ड यु अ बेटर होम र द फर्स्ट हाफ अफ माइ लाइफ उनले बढी हेर्छन्।’

सायद, यो अर्को संकेत पनि हुनसक्छ। दशकौँ समय कम्पनीमा ध्यान केन्द्रित गरेसँगै रेनले आफूरहित कम्पनी र भविष्यलाई आत्मसात् गर्नखोजेका हुन् कि!

‘मैले विश्राम लिने दिन अवश्य आउनेछ’, एससीएमपीसँगको अन्तर्वार्तामा रेनले भनेका थिए, ‘सबैले जानैपर्छ, सदाका लागि कोही पनि रहँदैन।’

रेनले शेन्जेनको सुन्दरता चाख्न नसकेको समेत बताएका थिए। जहाँ हुवावेको मुख्यालय छ। तर कोभिड–१९ को महामारीसँगै उनले धेरै पार्क, क्याफे र खाली शपिङ मलहरु घुम्न पाए। त्यहाँ पुगेर आफ्नो तस्बिर खिच्न पाए।

‘यो नै सबैभन्दा ठूलो कुरा हुने थियो– कसैले मलाई क्याफेमा ध्यान नदिऊन्, जब म बूढो हुन्छु, टाउकामा ह्याट हुन्छ, हातमा लौरो र अनुहारमा चाउरी परेका छालाका लहरा हुन्छन्’, उनले भने, ‘मेरो देशको गौरव म आफ्नै आँखाले हेर्न पाऊँ।’

(कसरी हुवावे अमेरिका–चीन प्रविधि युद्धको बीचमा पर्‍यो भन्ने सन्दर्भमा साउथ चाइना मर्निङ पोस्टले प्रकाशन गरेको शृंखलाबद्ध स्टोरीको पाँचौँ खण्डको नेपाली अनुवाद) सबै तस्बिर: एजेन्सीहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .