ad ad

कारोबार


विभागलाई राजस्वसचिवको १८ बुँदे निर्देशन : ७/७ दिनमा प्रगतिको जानकारी गराउनू

विभागलाई राजस्वसचिवको १८ बुँदे निर्देशन : ७/७ दिनमा प्रगतिको जानकारी गराउनू

दीपक भट्ट
बैशाख ११, २०७७ बिहिबार ८:४,

राजस्व सचिव रामशरण पुडासैनीले भन्सार विभागलाई १८ बुँदे निर्देशन दिएका छन्। नेपालको भन्सार प्रशासन सुधारका लागि सचिव पुडासैनीले विभागका महानिर्देशक सुमन दाहाललाई गत चैत २६ मा उक्त निर्देशन दिएका हुन्।

सचिव पुडासैनीले गत चैत ७ मा विभागको अनुगमन गरेका थिए। सोही अनुगमनपछि महानिर्देशकलाई पत्र पठाउँदै ती निर्देशनहरु दिइएको हो। अन्तर्राष्ट्रिय व्यापार सहजीकरण र भन्सार राजस्व परिचालनमा विभागको भूमिका महत्वपूर्ण हुने भएकाले सोहीअनुसार विभागले काम गर्नुपर्ने राजस्व सचिव पुडासैनीको भनाइ छ।

त्यस्तै, नेपालको वित्त संरचना र कर प्रणालीमा विगतमा भएका सुधारको राम्रो प्रभाव परेको उनको भनाइ थियो। अर्थमन्त्री र अर्थसचिवले दिएका निर्देशन गम्भीरतापूर्वक परिपालना गरी देहायका विषय कार्यान्वयन गर्न उक्त पत्रमा भनिएको छ।

यस्तो छ १८ बुँदे निर्देशन :
१. भन्सार विभागअन्तर्गत लागि चालू आर्थिक वर्षमा संकलन गर्नको लागि तोकिएको राजस्वको तुलनामा फागुन मसान्तसम्म ७१.८६ प्रतिशत मात्र संकलन भएको छ। अधिकांश भन्सार कार्यालयहरुले तोकेको राजस्वको लक्ष्यभन्दा कम राजस्व संकलन गरेको देखिएको छ । अतः बाँकी अवधिमा तोकिएको लक्ष्य पूरा गर्नका लागि वैकल्पिक कार्ययोजना तयार गरी हरतरहको प्रयास गर्नुहुनेछ । महानिर्देशक स्वयंले वैकल्पिक कार्ययोजनामा रहेका क्रियाकलापहरुको कार्यान्वयनको निरन्तर अनुगमन गरी हरेक ७/७ दिनमा मलाई प्रगतिको जानकारी गराउनुहुनेछ।

२. बजारमा केही विदेशी मालवस्तुको उपलब्धता पर्याप्त भएता पनि त्यस्ता मालवस्तु वैध तरिकाले पैठारी नभएको भन्ने गुनासो आउने गरेको छ । अतः अस्वाभाविक रुपमा पैठारी घटेका मालवस्तुहरुको विश्लेषण गरी पैठारी घटेको तर बजारमा माग र आपूर्ति सामान्य अवस्थामा भएको पाइएमा अन्य सम्बद्ध निकायहरुको समन्वय र सहकार्यमा बजार हस्तक्षेपको उपयुक्त रणनीति अवलम्बन गर्नुहुनेछ।

३. भन्सारमा पैठारी हुने मालवस्तुको घोषणा यथार्थपरक भएमा त्यसको सकारात्मक प्रभाव राजस्व संकलन लगायत मुलुकको समग्र अर्थव्यवस्थामा पर्ने भएता पनि अझै पनि मालवस्तुको आधारभूत विवरण खोली वास्तविक घोषणा हुने गरेको देखिएको छैन। हालको घोषणाको प्रवृत्ति विश्लेषण गर्दा मालवस्तुको घोषणा स्पष्ट नगर्ने, ब्रान्ड तथा मोडल नखोल्ने प्रवृत्तिका कारण जतिसुकै रेप्युटेड ब्रान्डको मालवस्तु भएता पनि साधारण भनी घोषणा गर्ने, भन्सार मूल्याङ्कन प्रयोजनको लागि आयातसँग सम्बन्धित फ्रेट इन्स्योरेनस लगायतका भन्सार नाकासम्मका सम्पूर्ण खर्चहरु घोषणा नगर्ने र वस्तु वर्गीकरण संकेत नम्बर फरक पारी घोषणा गर्ने गरेको देखिएको छ। अतः मालवस्तको घोषणा स्पष्ट र वास्तविक नपाइएमा (ब्राण्ड, मोडेल, आकार, मालवस्तुको कारोवार मूल्य र वस्तु वर्गीकरण संकेत नम्वर) तत्काल त्यस्तो घोषणालाई विभागबाटै अनलाइन मोनिटरिङको क्रममा लक गरी आर्थिक ऐनको प्रावधानअनुसार कारबाही गर्ने व्यवस्था मिलाउनुहुनेछ । साथै, मालवस्तुको घोषणा स्पष्ट नगराई जाँचपास गर्ने जुनसुकै कर्मचारी भएता पनि निजलाई कारवाहीको दायरामा ल्याउनुहुनेछ ।

४. राजस्व जोखिम भएका मालवस्तुको पहिचान गरी त्यस्तो मालवस्तुको विभिन्न भन्सार कार्यालयहरुले कायम गरेको मूल्यको विवरण संकलन गरी कुनै कार्यालयमा असाध्यै फरक पाइएमा फरक देखिएको भन्सार कार्यालयमा तत्काल पुनरावलोकन गर्न लेखी पठाउनुहुनेछ। त्यस्तै, मासिक रुपमा कम्तिमा १० वटा मुख्य पैठारी हुने वस्तुहरुको आयातित मूल्य, अन्तर्राष्ट्रिय बजार मूल्य र आन्तरिक बजार मूल्यको विश्लेषण गरी नियमितरुपमा मलाई जानकारी गराउनुहुनेछ ।

५. विभागको वाइड एरिया अनलाइन मोनिटोरिङलाई थप प्रभावकारी बनाउन हरेक दिन घोषणा हुने कम्तिमा ८० प्रतिशत घोषणाको प्रत्यक्ष अनुगमन गर्ने, विदाको दिन र कार्यालय समयपछि पनि कर्मचारी खटाउने, अनुगमनको क्रममा दरवन्दी फरक पाइएमा त्यस्तो प्रवृत्तिको मालवस्तुको प्रणालीबाटै विगत चार बर्षको परिक्षणगर्ने, १० वटा ठूला भन्सार कार्यालयबाट जाँचपास भएका वा हुने क्रममा रहेका न्यूनतम ३ वटा शंकास्पद कनसाइनमेन्ट प्रणालीबाटै दैनिक पहिचान गरी सम्बन्धित कार्यालयलाई छड्के परीक्षण गर्न लगाउने तथा गम्भीर प्रकृत्तिको कैफियत देखिएमा त्यस्ता कन्साइनमेन्ट रोक्न लगाई विभागको टोलीले पुनः छड्के जाँच गर्ने व्यवस्था मिलाउनु हुनेछ ।

६. भन्सार प्रसाशनबाट सम्पादन हुने कार्यलाई विशिष्टीकृत र गुणात्मक बनाउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको फंक्सनल सिस्टम अनुसारको शाखा र कर्मचारीहरुको कार्यविभाजन १५ दिनभित्रमा पूर्णरुपमा लागू गरी मलाई जानकारी गराउनु हुनेछ। साथै, १० वटा मुख्य भन्सारमा लोकल अनलाइन मोनिटोरिङ कक्षको स्थापना गरी कर्मचारी नियमित खटाउने व्यवस्था मिलाउनु हुनेछ।

७. भन्सार नियन्त्रण पक्षलाई सवल बनाउनको लागि भन्सार जाँचपासमा पूर्णरुपमा जोखिम व्यवस्थापनको प्रयोग गर्ने, जोखिम व्यवस्थापन ईकाइबाट कम्तिमा ७र७ दिनमा रिस्क प्रोफाइल अद्यावधिक तथा रेड च्यानलबाट हुने जाँचपासको प्रतिशत तत्काल घटाउने व्यवस्था मिलाउनु हुनेछ । साथै, एकै प्रवृत्तिको गल्ती बारम्बार एउटै कार्यालय, एउटै पैठारीकर्ता र एउटै एजेन्टको पाइएमा संलग्न पदाधिकारीलाई विभागीय कारवाही गर्ने र अन्यलाई भन्सार ऐन अनुसार हदैसम्मको कारवाही गर्ने व्यवस्था मिलाउनु हुनेछ । त्यस्तै पैठारीकर्ताको भन्सार नाका परिवर्तन गर्ने प्रवृत्तिको विश्लेषण गरी सो नियन्त्रणको उपयक्त उपायहरु अवलम्बन गर्नुहुनेछ ।

८. भन्सार जाँचपास परीक्षण कार्यालयबाट हुँदै आएको भन्सार जाँचपास पछिको परिक्षण कार्य प्रभावकारी देखिएको छैन। एकातिर ग्रिन च्यानलबाट हुने जाँचपासको प्रतिशत निरन्तर बढाइँदै लगिएको छ भने अर्कोतर्फ जाँचपास पछिको परिक्षण कार्यालयको भुमिका प्रभावकारी देखिएको छैन। अतस् यस कार्यालयलाई प्रभावकारी बनाउनका लागि कार्ययोजना सहितको सुझाव १५ दिन भित्र पेश गर्नु हुनेछ।

९ चोरी पैठारी कार्यलाई निरुत्साहित गर्नका लागि भन्सार कार्यलयमा खटिएको सुरक्षा बललाई भन्सार कार्यालयको नेतृत्व, रेखदेख र नियन्त्रणमा प्रभावकारीरुपमा परिचालन गर्ने व्यवस्था मिलाउन हनेछ।

१०. सीमा व्यवस्थापनमा खटिएका सबै निकायहरुबीच उपयुक्त समन्वय र सहकार्यको संयन्त्र निर्माण गर्नुहुनेछ।

११. भन्सार कार्यालयमा रहेका सबै बेवारिसे मुद्दा २ महिना भित्रमा र वारिसे मुद्दा ४ महिना भित्रमा फैसला गर्ने तथा मुद्दाको सम्बन्धमा गोदाममा रहेका सम्पूर्ण मालवस्तु ९० दिन भित्रमा लिलाम गरी सक्ने व्यवस्था मिलाउनु हुनेछ।

१२. सबै बैंक जमानतको अभिलेख व्यवस्थित गरी म्याद नाघेको जमानतको तत्काल भुक्तानी प्राप्त गर्ने र प्रयोजन समाप्त भएको धरौटी पहिचान गरी एक महिना भित्रमा सदरस्याहा गर्ने व्यवस्था मिलाउनु हुनेछ।

१३. भन्सार परिसर तथा गोदाममा रही ६० दिन नाघेका मालवस्तु अनिवार्यरुपमा जफत गरी लिलाम गर्ने व्यवस्था मिलाउनु हुनेछ।

१४. बेरुजु फछ्यौटको कार्ययोजना बनाई चालू आर्थिक वर्षको लागि तोकेको लक्ष्य हासिल हुने गरी कार्य गर्नु हुनेछ ।

१५. हाल विद्यमान भन्सार कार्यालयको संख्या धेरै भएको देखिएकाले ती नाकाहरुको आवश्यकता, औचित्य र तीनलाई कसरी व्यवस्थित बनाउन सकिन्छ, सोको अध्ययन गरी सुधार सम्बन्धी प्रतिवेदन पेश गर्नु हुनेछ।

१६. भन्सार प्रशासनलाई पूर्णरुपमा स्वचालित बनाउन कार्ययोजनासहित सुधारको कार्य निरन्तर अगाडि बढाउनु हनेछ। साथै, भन्सार प्रशासनमा भएको सुधारको प्रभाव नतिजामा देखिनेगरी आफ र अन्तर्गतका कार्यालयहरुको प्रभावकारिता देखिने किसिमले आफ्नो कार्य सम्पादनलाई निर्दिष्टता गर्नुहुनेछ ।

१७. कार्यालय प्रमुख लगायत सबै कर्मचारीहरुले सदाचार पद्दतिमा रही कार्य सञ्चालन गर्नु हुनेछ। कार्यालय प्रमुखले आफ्ना कर्मचारीहरुको गैर व्यावसायिकरपेशागत आचरणको सूक्ष्म रुपमा अनुगमन गरी कुनै अवान्छित कियाकलापमा संलग्न भएको देखिएमा तत्काल कारबाही गरी माथिल्लो तहमा जानकारी गराउने व्यवस्था मिलाउनु हुनेछ ।

१८. कार्यालयबाट सेवाग्राहीहरुलाई प्रवाह गरिने सेवामा कुनै किसिमको गुनासो आउन नदिई प्रचलित कानून र स्वीकृत मापदण्ड बमोजिम तत्काल गुणस्तरीय सेवा उपलब्ध गराउने व्यवस्था मिलाउनु हुनेछ । साथै, ऐन नियम प्रतिकूल भएको वा अन्य कुनै कारणले तत्काल सेवा दिन नमिल्ने भएमा सोको स्पष्ट आधार कारण खोली सम्बन्धित सेवाग्राहीलाई जानकारी दिई तालुक निकायमा प्रतिवेदन गर्नुहोला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .