ad ad

कारोबार


लकडाउनको असर पुनर्निर्माणमा, यस्तो छ अहिलेसम्मको अवस्था

लकडाउनको असर पुनर्निर्माणमा, यस्तो छ अहिलेसम्मको अवस्था

नेपालखबर
बैशाख १०, २०७७ बुधबार १०:४६,

राष्ट्रिय पुननिर्माण प्राधिकरणले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण पुनर्निर्माणको कार्यमा असर पारेको बताएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले कोरोना भाइरसको महामारीको असर पुनर्निर्माणको कार्यमा गम्भीर रुपमा परेको बताएका हुन्। २०७२ साल वैशाख १२ गतेको भूकम्प पछिको ५ वर्ष पूरा हुन दुईदिन बाँकी छँदा प्राधिकरणका सीईओ ज्ञवालीले लकडाउनका कारण अर्थतन्त्रमा गम्भीर असर गरेको र यसले पुननिर्माणको बजेटमा समेत असर पार्ने बताए।

उनले कोरोनाले राजस्व संकलनमा प्रभाव पार्ने र यसले प्राधिकरणको श्रोत व्यवस्थापनामा समेत असर पार्ने बताए। तर निजी आवासको पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिने उनले बताए। यस्तै विद्यालय र स्वास्थ्य संस्थाको पूर्वाधारको पुनर्निर्माणमा पनि ध्यान दिइएको र विश्व बैंक लगायतका दातासँग छलफल भइराखेको उनले बताए। यस्तै सरकारका विभिन्न निकायले पुनर्निर्माणको कामलाई निरन्तरता दिन सक्ने क्षमता राख्ने भएकाले पुननिर्माण प्राधिकरणको अवधि सम्पन्न हुँदा समेत कुनै फरक नपर्ने उनले बताए। सीईओ ज्ञवालीले स्रोत साधनको कमिको कारण वा समय अभावको कारणले पुननिर्माणको काम प्रभावित नहुने समेत बताए।

सीईओ ज्ञवालीले कोरोनाले पारेको प्रभावले पुननिर्माणका बाँकी काम सम्पन्न गर्न चुनौती थपिदिएको समेत बताए। उनले प्राधिकरणले अहिलेसम्म निजी आवास पुननिर्माणको काममा ८८ प्रतिशत प्रगति भएको बताए। अहिलेसम्म ६३ प्रतिशत अर्थात ४ लाख ९४ हजार निजी आवास पुनर्निर्माण सम्पन्न भइसकेको र २५ प्रतिशत अर्थात १ लाख ९० हजार १ सय ४५ निजी आवास पुनर्निर्माणको चरणमा रहेको उनले बताए। यस्तै अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणिकरण गरिएका लाभग्राहीको संख्या ७२ प्रतिशत अर्थात ५ लाख ६१ हजार ६ सय ५० रहेको समेत उनले बताए। निजी आवस पुननिर्माणका लागि ७ लाख ८१ हजार १ सय ७६ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ।

यस्तै, भुकम्पबाट क्षतिग्रस्त ७ हजार ५ सय ३ विद्यालयमध्ये ७४ प्रतिशत विद्यालयहरु अर्थात ५ हजार ५ सय ९८ विद्यालयको पुननिर्माण सम्पन्न भइसकेको छ। १ हजार ४ सय ९२ अर्थात २० प्रतिशत विद्याय पुननिर्माणको क्रममा रहेका छन्। ३२ जिल्लाका ९ सय २० वटा सम्पदा मध्ये ४ सय २ वटाको पुननिर्माण सम्पन्न भइसकेको पनि सीईओ ज्ञवालीले बताए। यसबाहेक १ सय ४१ सम्पदा पुनर्निर्माणको चरणमा छन्। काठमाडौं उपत्यका भित्र विश्व सम्पदा क्षेत्र भित्र रहेका १ सय ७० वटा सम्पदा मध्ये १ सय १ वटाको पुननिर्माण सम्पन्न भइसकेको छ भने ५४ वटा पुननिर्माणको क्रममा छन्।

यसबाहेक १ हजार १ सय ९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटाको पुननिर्माण सम्पन्न भइसकेको छ भने १ सय ४५ वटा पुननिर्माणको क्रममा छन्। स्वास्थ्य क्षेत्रमा ६८ प्रतिशत प्रगति भएको छ। यस्तै ४ सय १५ सरकारी भवन मध्ये ३ सय ४९ वटाको पुननिर्माण सम्पन्न भइसकेको छ। ४९ वटा पुन निर्माणको क्रममा छन्। सुरक्षा निकायका १ सय ९४ संरचनाको पुननिर्माण सम्पन्न भएको र २२ वटा पुननिर्माणको क्रममा चरणमा रहेको उनले बताए।

भूकम्पपछि असुरक्षित स्थानमा रहेका लाभग्राहीमध्ये ४ हजार २ सय ४ जना लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गाको व्यवस्था मिलाइएको र ८ हजार ७ सय ४४ लाभग्राहिका लागि जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्थाद्धारा आवास पुननिर्माण गर्ने वातावरण प्राधिकरणले मिलाइ सकेको छ। यस्तै ४३ वटा एकीकृत वस्तीको योजना स्वीकृत भएको छ भने ९ वटाको पुननिर्माण सम्पन्न भइसकेको छ । २७ वटाको डिपिआर स्वीकृत भई निर्माणको तयारीमा छन भने ७९ वटा पुननिर्माण हुँदै छन्।

विभिन्न जिल्लामा ७ सय ६२ किलोमिटर सडक पुननिर्माण गर्नुपर्नेमा ४ सय ४३ किलोमिटर सडक पुननिर्माण सम्पन्न भइसकेको छ। यस्तै ३ सय १९ किलोमिटर सडकको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । खानेपानी विभाग मार्फत १ हजार वटा खानेपानी योजना सम्पन्न भएका छन भने १ सय वटा योजना कार्यान्वयनको चरणमा रहेका छन्।

प्राधिकरणले अहिले सम्म ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको समेत बताएको छ। पुननिर्माणका लागि अहिलेसम्म सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपैयाँ खर्च भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .