कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न संघ/संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिरहेका छन्। कहिले आफैं प्रत्यक्ष सहभागी भएर सहयोग गरेका छन् भने केहीले सरकारले खडा गरेको कोरोना कोषमा रकम जम्मा गरेर सहयोग गरेका छन्।
नयाँ पुस्ताको बैंक सिभिल बैंकले पनि कोरोना रोकथामका लागि सहयोग गरेको जनाएको छ। बैंकले कोरोना संक्रमणको रोकथामको लागि नेपाल सरकारद्वारा गरिएको प्रयासलाई साथ दिन ७८ लाख ५० हजार रुपैयाँ प्रदान गरेको हो।
संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ७० लाख रुपैयाँ र बैंकको सञ्चालक समितिको एक बैठकको भत्ता र कर्मचारीहरुको एक दिनको पारिश्रमिकको योगदानबाट संकलित रकमबाट ८ लाख ५० हजार रुपैयाँ समेत गरी सो सहयोग रकम प्रदान गरेको हो।
सो रकममध्ये ४३ लाख ५० हजार रुपैयाँ नेपाल सरकारद्वारा खडा गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियंत्रण तथा उपचार कोषको खातामा दाखिला गरिएको छ। त्यस्तै देशको सातै प्रदेश सरकारलाई प्रतिप्रदेश ५ लाख रुपैयाँका दरले गरी जम्मा ३५ लाख रुपैयाँ प्रदान गरिने भएको छ।
कर्मचारीहरुको एक दिनको पारिश्रमिक र बैंक सञ्चालक समितिको एक बैठकको भत्ताबाट संकलित रकमबाट माथि उल्लिखित रकममा थप करिब ८ लाख ५० हजार रुपैयाँ पनि बैंकको प्रदेश प्रमुखहरुमार्फत आवश्यक परेको विभिन्न स्थानीय तहमा सोझै सहयोग प्रदान गरिने भएको छ।
यो रकम समेत सिभिल बैंकले कोरोना भाइरसको संक्रमण रोकथाम, नियंत्रण तथा उपचारको लागि ८७ लाख योगदान गरेको छ।
प्रतिक्रिया