ad ad

कारोबार


सधैँ पर्यटकको स्वागत गर्न आतुर सिक्लेस छिर्ने बाटोमा ‘काँडेतार’

सधैँ पर्यटकको स्वागत गर्न आतुर सिक्लेस छिर्ने बाटोमा ‘काँडेतार’

वाशुदेव मिश्र
बैशाख ४, २०७७ बिहिबार १५:४९,

कास्कीको उत्तरपूर्वी गाउँ हो सिक्लेस। अहिले मादी गाउँपालिकामा पर्ने अन्नपूर्णको काखैमा रहेको सिक्लेस सम्भवतः देशकै बाक्लो गुरुङ बस्ती भएको गाउँ पनि हो।

हिमाल हेर्न र गुरुङ संस्कृतिमा रमाउने त छँदैछ, कुनै बेला तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले तत्कालीन विद्रोही नेता पुष्पकमल दाहाल र बाबुराम भट्टराई भेटेको ठाउँ पनि हो, यो। पर्यटकीय गाउँको पहिचान बोकेको सिक्लेसमा होटल मात्रै छैनन्, होमस्टे पनि चलाइएको छ। समय अनुकुल रहेको भए यतिबेला पर्यटकहरु सिक्लेस उक्लिरहेका हुन्थे। गाउँको ‘नारे पा (कोदोको रक्सी) को चुस्की लगाउँदै हिमाल हेरिरहेका हुन्थे, कोही कपुचे तालतिर लाग्थे।

गाउँलेहरुले सिक्लेस आउन निम्तो बाँडिरहेका हुन्थे। गाउँमा पुग्ने पर्यटकलाई माला लगाएर स्वागत गरिरहेका हुन्थे। पर्यटक बोलाउन गाउँको गीत नै बनाएको सिक्लेसले अहिले भने पर्यटक आउने बाटै बन्द गरेको छ।

देशमा कोरोना संक्रमितहरु बढ्दै गएको र केही मान्छेहरु रातारात पोखराबाट हिँडेर गाउँमा पस्दा असुरक्षा भएको भन्दै गाउँलेहरुले बिहीबारबाट गाउँ आउने बाटोमै काँडेबार लगाएका हुन्। मादी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुरजकुमार गुरुङको अध्यक्षतामा बसेको, टोल विकासका संयोजकहरु, सिक्लेस युवा क्लब विभिन्न संघ सस्था गाउँका बुद्धिजीवीलगायको बैठकले सिक्लेस, पार्चे गाउँमा अत्यावश्यक सवारी साधन एम्बुलेन्स बाहेक कुनै पनि सवारी साधन निषेध गरिएको हो।

sikles3_1.jpg

स्थानीय पारस गुरुङका अनुसार बैठकले विभिन्न सवारी साधनबाट खाद्यान्नको नाममा अन्य सामानहरु ओसार्ने काम रोक्ने निर्णय पनि गरेको छ। उनका अनुसार नाकाबाट कोही गाउँ नपसुन् भनेर युवाहरुले नाकामा गस्ती पनि गरिरहेका छन्। उनले जोखिमको समयलाई ध्यानमा दिएर यो निर्णय गरिएको र निर्णयका कारण असुविधा पर्न गएकोमा क्षमा पनि मागेका छन्।

यसअघि होमस्टेको लागि कहलिएको लमजुङको घलेगाउँले पनि गाउँमा कुनै पर्यटक राखे ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो। कोरोना संक्रमण बढ्दै गएपछि सिक्लेस मात्रै नभएर कास्कीका धेरै गाउँहरुले बाटोमा काँडेबार लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .