वाणिज्य बैंकले आर्थिक वर्ष २०८१/८२ मा कुल ७१ अर्ब १८ करोडको नाफा कमाएको विवरण प्रस्तुत गरेका छन्।
उनीहरूले अपरिष्कृत वित्तीय विवरणमार्फत अघिल्लो वर्षको तुलनामा ४३.६८ प्रतिशत नाफा बढेको तथ्यांक देखाएका हुन्।
घट्दो ब्याजदरका कारण लागत क्षमता कमजोर बनेका बैकहरूले गत आवको अन्ततिर राष्ट्र बैंकबाट नियामकीय सहुलियत पाउँदा चौथो त्रैमासिकमा बैंकहरूलाई नाफा उल्लेख्य बढाउन मद्दत पुग्यो।
बैंकहरूले सो आर्थिक वर्षको अन्ततिर आउँदै गर्दा कर्जा असुलीलाई पनि सुधार्न सकेका छन्।
त्यस्तै नीतिगत सहुलियतका कारण खराब कर्जादरलाई घटाएर भविष्यमा हुनसक्ने जोखिमका लागि छुट्याएका केही रकम पनि राइटब्याकमार्फत यो वर्ष बैंकहरूले नाफामा देखाउन पाए। जसले एकै वर्षमा बैंकहरूको नाफा ४३ प्रतिशतसम्मले बढाउन पुग्यो।
यो अवधिमा बैंकहरूका नाफामात्रै बढेको छैन, बैंकहरूले लगानीकर्तालाई लाभांश दिन सक्ने क्षमता पनि बढाएका छन्।
यसरी सुधारे वासलात
कुमारी बैंक
कुमारी बैंकको नाफामा भारी अंकले फरक देखिएको छ। अघिल्लो आवमा लाखको आकारमा नाफा कमाएको बैंकले गत आवमा भने २ अर्बमाथि पुर्याएको हो।
अघिल्लो आर्थिक वर्षमा नाफामा खुम्चिएर बैंकले जम्मा ४६ लाख मात्रै कमाएमा चालू आवमा भने २ अर्ब ११ करोड ६४ रुपैयाँ नाफा कमाएको हो।
बैंकले नाफा बढाउनुमा भने इम्पेयरमेन्ट चार्ज घटाउनु प्रमुख कारण देखिएको छ। बैंकले इम्पेयरमेन्ट चार्जअन्तर्गत राखेको ६ अर्ब ८४ करोड रुपैयाँबाट २ अर्ब ७९ करोड रुपैयाँमा झारेको हो।
कर्जा खराब वर्गमा वर्गीकरण भएमा बैंकहरूले राष्ट्र बैंकको निर्देशनअनुसार शतप्रतिशतसम्म कर्जा नोक्सानी व्यवस्थापन गर्नुपर्ने हुन्छ। यस्तो कर्जा असुल हुन थालेसँगै बैंकहरूले नोक्सानी व्यवस्थापनमा राखेको उक्त पैसालाई नाफामा देखाउन सक्ने व्यवस्था छ।
बैंकले पनि असुल हुन थालेपछि इम्पेयरमेन्ट चार्जलाई घटाएर उक्त रकम नाफामा राख्दा नाफामा ठूलो वृद्धि देखिन पुगेको हो।
योबाहेक बैंकले सञ्चालन आम्दानी, सञ्चालन नाफा, ब्याज आम्दानी सबै बढाएको छ। अघिल्लो आवमा बैंकले ९७ करोड रुपैयाँ सञ्चालन मुनाफा गर्दा गत आवमा भने ६ अर्ब १३ करोड रुपैयाँको मुनाफा गरेको हो।
यस्तै सञ्चालन आम्दानी पनि अघिल्लो आवमा बैंकले १३ अर्ब ६३ करोडको गरेको मा गत आवमा ४ अर्ब ६३ करोड रुपैयाँ गरेको हो।
बैंकले ब्याज आम्दानी पनि बढाएको छ। अघिल्लो वर्ष १० अर्ब ८० करोडबराबरको ब्याज आम्दानी गरेको बैंकले गत आवमा कुल ११ अर्ब ५५ करोडको आम्दानी गरेको हो।
बैंकले गत आवको वासलातमा नाफाभन्दा बढी कर तिरेको देखाएको छ। गत आवमा बैंकले खुद नाफा २ अर्ब ११ करोड गर्दा कर भने ३ अर्ब ६६ करोड रुपैयाँ तिरेको देखाएको हो।
बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड रुपैयाँले ऋणात्मक छ।

माछापुच्छ्रे बैंक
लगानीकर्ताले लाभांश माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा नाफा करिब शतप्रतिशतकै हाराहारीले बढाएको छ। बैंकले गत आवमा २ अर्ब १ करोड रुपैयाँ नाफा गरेको हो। अघिल्लो वर्षको बैंकको नाफा १ करोड ४ लाखमात्रै थियो।
बैंकले यो वर्ष गैरबैंकिङ सम्पत्ति लिलामी गरेपछि सोको कर्जामा गरेको नोक्सानी व्यवस्थापन वापतको रकम फिर्ता पाउँदा त्यसको असर नाफामा देखिएको हो।
अघिल्लो वर्ष बैंकले भविष्यको जोखिम वहन गर्नका लागि इम्पेयरमेन्ट चार्जमा १ अर्ब ३९ करोड राखेको थियो। खराब कर्जाअनुसार बैंकले यस्तो रकम उक्त शीर्षकमा राख्नुपर्ने प्रावधान छ। तर गत आवमा बैंकले खराब कर्जा घटाउँदै लगेपछि यस्तो रकम पनि घटाएर ३५ करोडमा झारेको हो। अघिल्लो वर्षको रकम ३५ करोड झारेपछि बाँकी रहेको रकम बैंकले नाफामा देखाएको देखिन्छ।
त्यसो त यो वर्ष बैंकले ब्याज आम्दानी ५ अर्ब ७५ करोड रुपैयाँले बढाउँदा सञ्चालन आम्दानी ७ अर्ब ८ करोड रुपैया गरेको छ। अघिल्लो वर्ष बैंकले ब्याज आम्दानी ४ अर्ब ९८ करोड र सञ्चालन आम्दानी ६ अर्ब ३८ करोड रुपैयाँ रहेकोमा यो वर्ष बढाएको हो।
बैंकको सञ्चालन मुनाफामा पनि उल्लेख्य सुधार देखिएको छ। अघिल्लो वर्ष १ अर्ब ६६ करोड रुपैयाँमात्रै मुनाफा गरेको बैंकले गत वर्षमा ३ अर्ब ३३ करोड रुपैयाँ मुनाफा कमाउन सफल भएको हो।
गत आवमा बैंकका वितरणयोग्य नाफा १ अर्ब ७७ करोड छ। उक्त नाफाबाट बैंकले सेयरधनीहरूलाई प्रतिकित्ता ९.२३ पैसासम्म लाभांश दिनसक्ने क्षमता राख्दछ।
बैंकले खराब कर्जा दर ३.८३ प्रतिशतमा सीमित राखेको छ।
कृषि विकास बैंक
कृषि विकास बैंकले पनि नाफा ४८ प्रतिशतले बढाएर देखाएको छ। अघिल्लो आवमा २ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको बैंकले यो आवका ३ अर्ब ८२ करोडको नाफा देखाएको हो।
बैंकले इम्पेयरमेन्ट चार्ज घटाएर नाफा बढाएर देखाएको छ। बैकले खुद ब्याज आम्दानी ६.९३ प्रतिशतले बढेर ९ अर्ब ८२ करोड रुपैयाँ देखाएको छ भने कुल सञ्चालन आम्दानी १.८४ प्रतिशत घटेको देखाएको छ।
बैंकले यो वर्ष खुद सञ्चालन आम्दानी २१.७१ प्रतिशतले बढेको देखाउँदा सञ्चालन मुनाफा भने बैंकले ४१.२९ प्रतिशत बढाएर देखाएको हो।
बैंकको खराब कर्जा ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशत आइपुगेको छ भने इम्पेरमेन्ट चार्ज २ अर्ब ४५ करोडबाट घटेर १० करोडमा सीमित भएको छ।
इम्पेयरमेन्ट चार्जको रकम बैंकले राइटब्याक गरेर यो वर्षको नाफामा देखाएका कारण नाफामा ४८ प्रतिशतको वृद्धि देखिएको हो।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले नाफा ३२.८० प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष बैंकले ३ अर्ब ७० करोड नाफा कमाएको बैंकले गत आवमा ४ अर्ब ९१ करोडको नाफा कमाएको हो।
बैंकले अपरिष्कृत वित्तीय विवरणमा सबै सूचकहरू राम्रा देखाएका छन्।
बैंकले खुद नाफा सँगै सञ्चालन आम्दानी, सञ्चालन नाफा बढेको देखाएको छ भने ब्याज आम्दानी र ब्याज खर्च दुवै घटेको देखाएको छ।
जसअनुसार गत आवमा बैंकले ११ अर्ब ३२ करोडको सञ्चालन आम्दानी गरेको छ। अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ९ अर्ब २२ करोड थियो।
यस्तै सञ्चालन नाफा७ अर्ब ४५ करोड रुपैयाँ छ। अघिल्लो वर्ष बैंकले ५ अर्ब ६६ करोड रुपैयाँ मात्रै सञ्चालन नाफा गरेको थियो।
यस्तै खुद ब्याज आम्दानी पनि ९ अर्ब १२ करोड रुपैयाँ गरेको छ। अघिल्लो वर्ष यस्तो अँम्दानी बैंकले ७ अर्ब ६४ करोड रुपैयाँ मात्रै थियो।
जसमा बैंकले अघिल्लो आवमा असुल गर्न नसकेको २१ करोड रुपैयाँ बराबरको ब्याज गत वर्ष असुल गर्दा ब्याज आम्दानी बढाएको देखिन्छ।
बैंकले गत आवमा खराबकर्जा दर ०.३८ प्रतिशत देखाएको छ
वित्तीय अवस्था राम्रो भएसँगै बैंकका सेयरधनीहरूले पाउने हिस्सा पनि यो वर्ष बढेको छ।बैंकको वितरणयोग्य नाफा कुल ४ अर्ब ९५ करोड रुपैयाँ छ। जसबाट बैंकले आफ्ना सेयरधनीहरूलाई ३८.२७ प्रतिशत लाभांश दिने क्षमता राख्छ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैकले ३ अर्ब ८१ करोडबराबरको नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ५५ करोड मात्रै रहेकोमा यो वर्ष बढेको हो।
नाफा बढे पनि बैंकका लाभांश वितरणगर्ने क्षमतामा भने उति वृद्धि हुन सकेन। अघिल्लो आवमा ऋणात्मक रहेको वितरणयोग्य नाफा यो वर्ष ३ अर्ब ३ करोडमा पुगेको छ। तर पनि बैंकले सेयरधनीलाई लाभांश भने दिन सक्नेछैन। बैंकको लाभांश क्षमता १.९४ प्रतिशतमात्रै रहेको हो।
बैंकको सञ्चालन आय पनि यो वष बढेर कुल १२ अर्ब ८४ करोडमा पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ११ अर्ब ५४ करोड रुपैयाँ थियो।
यस्तै अघिल्लो वर्ष २९ अर्ब ७४ करोड रुपैयाँ ऋणीहरूबाट ब्याज आम्दानी गरेको बैंकले यो वर्ष २७ अर्ब १२ करोडमात्रै गर्न सफल देखिएको छ।
यता आफुले तिर्ने ब्याजको हिस्सा घटेको छ। अघिल्लो वर्ष ब्याज बापत १९ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेको बैंकले गत आवमा १७ अर्ब १ करोड रुपैयाँ खर्च गरेको हो।
ब्याज आम्दानीमा ब्याज खर्च घटाउँदा बैंकको खुद ब्याज आम्दानी आउँछ। यस हिसाबमा बैंकको खुद ब्याज आम्दानी भने कुल १० अर्ब ८ करोड रुपैयाँ मात्रै छ।
यो पटक बैंकको नाफा बढाउनमा इम्पेयरमेन्ट चार्ज शीर्षकमा राखिने पैसा घट्नु पनि प्रमुख कारण हो।
कर्जा नोक्सानी व्यवस्थापनका लागि अघिल्लो वर्ष बैंकले कुल १ अर्ब १४ करोड रुपैयाँ राखेकोमा यो वर्ष सो रकमलाई घटाएर ७१ करोडमा सीमित गरेको छ। बैंकसँग अघिल्लो वर्ष कुल कर्जाको ४.२८ प्रतिशत कर्जा खराब थिए। गत वर्ष भने बैंकले खराब कर्जा घटाएर ३.५९ प्रतिशतमा झार्दा त्यसले इम्पेयरमेन्ट चार्जलाई पनि घटाएको हो। यसले पनि बैंकको नाफामा बढाउन सामान्य सहयोग पुर्याएको देखिन्छ।
योबाहेक अघिल्लोवर्षसम्म बैंकले असुल गर्न नसकेको कुल २१ करोड ब्याज यो वर्ष असुल गर्दा पनि त्यसले समग्र बैंकको वासलातमा सकारात्म प्रभाव पारेको हो।
नाफामा उल्लेख्य वृद्धि गरेको बैंकका अधिकांश वित्तीय सूचकहरू अघिल्लो वर्ष भन्दा सुधारोन्मुख देखिए पनि यो वर्ष पनि सेयरधनीले भने उचित लाभांश नपाउन सक्नेछन्।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराईज बैंकले ४०.९७ प्रतिशतले नाफा बढाएको छ। अघिल्लो वर्ष २ अर्ब ९२ करोड नाफा कमाएको बैंकले चालू आवमा भने ४ अर्ब ११ करोड रुपैयाँ कमाएको छ।
जसमा बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ८४ करोड रुपैयाँ छ। अघिल्लो वर्ष यस्तो आम्दानी बैंकले १२ अर्ब ३६ करोड रुपैयाँ थियो।
यस्तै बैंकको खुद सञ्चालन आय पनि १४ अर्ब ६८ करोड छ भने सञ्चालन मुनाफा पनि ६ अर्ब ९ करोड रुपैयाँ छ। अघिल्लो वर्ष बैंकको खुद सञ्चालन आय १४ अर्ब ९१ करोड थियो भने खुद सञ्चालन मुनाफा ४ अर्ब ४० करोड थियो। यो वर्ष बैंकले यस्तो आम्दानीमा सामान्य वृद्धि मात्रै गर्न सकेको देखिन्छ।
बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफामा १४२.१ प्रतिशतले बढेर ३ अर्ब ५३ लाख पुगेको छ। जसबाट सेयरधनीलाई १२.३४ प्रतिशत लभांश दिने सक्नेछ। अघिल्लो वर्ष बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २४ करोड १६ थियो। जसबाट बैंकले ५.२६ प्रतिशत लाभांश दिएको थियो।
समिक्षा अवधिमा बैंकको खराब कर्जा ४.६३ प्रतिशतबाट घटेर ४.२५ प्रतिशतमा पुगेको छ।
सानिमा बैंक
सानिमा बैंकले १८ करोड रुपैयाँले नाफा बढाएको छ। बैंकले गत आवमा वर्ष कुल २ अर्ब ५७ करोड रुपैयाँले नाफा कमाएकोे हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड मात्रै नाफा कमाएको थियो।
यस्तै बैंकले यो अवधिमा खुद ब्याज आम्दानी, सञ्चालन आम्दानी र सञ्चालन मुनाफा पनि बढाएको छ।
अघिल्लो वर्ष ६ अर्ब १८ करोड खुद ब्याज आम्दानी गरेको बैंकले गत आवमा ६ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको छ।
त्यस्तै अघिल्लो वर्ष ३ अर्ब ४७ करोड सञ्चालन मुनाफा गरेको बैंकले गत आवमा भने ३ अर्ब ५७ करोड नाफा गरेको हो। बैंकले सञ्चालन आम्दानी भने यो वर्ष ८ अर्ब ६० करोड रुपैयाँ गरेको छ।
यो बाहेक नाफा बढाउनका लागि बैंकले खराबकर्जा नोक्सानीमा छुट्याएको १ अर्ब ८८ करोड पैसालाई राइटब्याक गरेर नाफामा देखाएको छ। जसले अघिल्लो वर्षको तुलनामा यो वर्ष नाफा बढाउन मद्धत पुर्याएको हो।
कुल २ अर्ब ५७ करोड नाफा कमाएको बैंकले ९९ करोड ५९ लाख रुपैयाँ कर बापत सरकारलाई बुझाएको हो।
नाफामा सुधार गरे पनि बैंकले खराब कर्जालाई भने घटाउन सकेन। अघिल्लो वर्ष १.७२ प्रतिशत रहेको बैंकको खराब कर्जा दर गत वर्ष ३.०१ प्रतिशतमा पुगेको छ। खराब कर्जा बढे पनि बैंकलाई असर पुर्याउने अवस्था भने छैन। अधिकांश बैंकको यस्तो दर ७ प्रतिशतको हाराहारीमा पुगिसक्दा सानिमासहित केही बैंकले भने खराब कर्जालाई नियन्त्रणमै राख्न सफल देखिएका हुन्।
यस्तै बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। जसबाट बैंकले सेयरधनीलाई कित्तामा २० रुपैयाँ ४७ पैसा बराबरको लाभांश दिने क्षमता राख्दछ।

नबिल बैंक
नविल बैंकले आर्थिक वर्ष २०८०/८१ मा ७ अर्बमाथिको नाफा गरेको हो।
बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा कुल नाफा ७ अर्ब १२ करोड नाफा देखाएको छ। अघिल्लो वर्ष ६ अर्ब १९ करोड नाफा गरेको बैंकले गत आवमा १५.०२ प्रतिशतले बढाएको हो।
बैंकले गत आवमा नाफामात्रै बढाएको छैन। गत वर्षको तुलनामा खराब कर्जालाई पनि घटाएको छ भने सर्वसाधारणले पाउने लभांशको हिस्सालाई पनि यो वर्ष बढाउन सफल देखिएको हो।
बैंकले कुल ७ अर्ब १२ करोडको खुद नाफा गर्दा सेयरधनीलाई वितरणगर्न मिल्ने नाफामा ४ अर्ब ७७ करोड रुपैयाँ देखाएको छ। जसबाट लगानीकर्ताले १७.६४ प्रतिशतसम्मको लाभांश दिन सक्नेछ।
अपरिष्कृत वित्तीय विवरणमा बैंक सबै सूचकहरू राम्रा छन्। बैंकले गत आवमा ब्याजबाट कुल ४० अर्ब ४७ करोड रुपैयाँ आम्दानी गर्दा २४ अर्ब १४ करोड रुपैयाँ निक्षेपकर्तालाई दिएको छ। यसरी खुद ब्याज आम्दानी गत वर्ष बैंकले १६ अर्ब ३२ करोड रुपैयाँ गरेको हो। अघिल्लो वर्ष १६ अर्ब ३१ करोड रुपैयाँ गरेको थियो।
यस्तै बैंकले यो अवधिमा खुद सञ्चालन आम्दानी पनि बढाएर १८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले १५ अर्ब ६७ करोड रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको थियो।
यस्तै सञ्चालन मुनाफा पनि बढाएर १० अर्ब ८४ करोड पुर्याएको छ। अघिल्लो वर्ष बैंकको सञ्चालन मुनाफा ८ अर्ब ६४ करोड रुपैयाँ थियो।
यस्तै बैंकले बैंकले इम्पेरिमन्ट चार्ज शीर्षकमा कुल २ अर्ब ३९ करोड रुपैयाँ देखाएका हो। अघिल्लो वर्ष ४ अर्ब ६३ करोड रुपैयाँ थियो।
योबाहेक अघिल्लो वर्ष उठाउन नसकेको ब्याज बापतको करिब ६५ करोड रुपैयाँ पनि बैंकले यो वर्ष उठाएको हो। यी यावत् कारणले पनि बैंकको नाफा बढाउन उल्लेख्य मद्दत पुगेको हो।
यस्तै अघिल्लो वर्ष ४.४५ प्रतिशत रहेको बैंकको खराब कर्जा गत आवमा आइपुग्दा घटेर ४.२७ प्रतिशतमा सीमित बनेको हो।
नेपाल बैंक लिमिटेड
नेपाल बैंकले यो वर्ष ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो वर्षभन्दा १३ हजार प्रतिशतभन्दा बढी हो। अघिल्लो वर्ष बैंकको नाफा २ करोड ८४ लाख रुपैयाँ मात्रै थियो।
बैंकले भविष्यमा आइपर्ने जोखिमका लागि छुट्याउने रकम घटाउँदा नाफा बढाउन सहयोग पुगेको देखिन्छ।
बैंकले अघिल्लो वर्ष इम्पेयरमेन्ट चार्जमा ४ अर्ब ७५ करोड राखेकोमा यो वर्ष घटाएर १ अर्ब १३ करोड रुपैयाँ मात्रै राखेको छ। उक्त शीर्षकमा राखेको रकम यो वर्ष बैंकले राइटब्याक गरेर नाफामा देखाएको हो।
बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ६.०७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १५.६५ प्रतिशत बढेको छ। नाफामा सुधार गरे पनि बैंकको लाभांश दिन सक्ने क्षमता भने छैन। बैंकको वितरणयोग्य मुनाफा ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहेको हो।

हिमालयन बैंक
हिमालयन बैंकले पनि यो वर्ष नाफा बढाएको छ। अघिल्लो आर्थिक वर्ष १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्ष १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको हो।
जुन अघिल्लो वर्षको तुलनामा २२.१५ प्रतिशतले धेरै हो।
यो वर्ष बैंकको खुद ब्याज आम्दानी ९.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६०.९८ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ४.७२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफ ८८.४१ प्रतिशत बढेको छ।
यस्तै बैंकको इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोड रुपैयाँबाट घटेर १ अर्ब ५३ करोड रुपैयाँमा झरेको छ। जसले गर्दा बैंकले अघिल्लो वर्ष कर्जा नोक्सानीका लागि राखेको रकम यो वर्ष नाफामा देखाउन पायो। यसले अन्य सूचक सुधारोन्मुख नदिए पनि नाफा भने ३३ प्रतिशतसम्मले बढ्न पुगेको हो।
नाफा बढाए पनि बैंकले लाभांश दिने क्षमता भने राख्दैन। किन कि यो वर्ष बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ।
एनएमबी बैंक
एनएमबी बैंकको नाफा पनि यो वर्ष ४६.२ प्रतिशतले बढेको छ। बैंकले यो वर्ष ३ अर्ब २८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको हो।
अघिल्लो वर्ष बैंकले २ अर्ब २४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकले ब्याज आम्दानी १० अर्ब ८८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ९ अर्ब ५१ करोड थियो। सञ्चालन नाफा पनि यो वर्ष बढेर ५ अर्ब ३५ करोड पुगेको हो। योबाहेक इम्पेयरमेन्ट चार्जअन्तर्गत राखिएको २ अर्ब ३ करोड रुपैयाँलाई घटाएर ९५ करोडमा सीमित राखेको छ। यसले पनि बैंकको नाफा बढाएको देखिन्छ।
यो बाहेक बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड ९४ लाख रहेको छ।जसबाट १०.४० प्रतिशत लाभांश दिन सक्नेछ।
बैंकको खराब कर्जा पनि ३.४० बाट बढेर ३.७२ प्रतिशतमा पुगेको छ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले पनि यो वर्ष १० प्रतिशतले नाफा बढाएको छ। अघिल्लो आवमा ३ अर्ब ८ करोड नाफा कमाएको बैंकले गत आवमा बैंकले ३ अर्ब ३९ करोड नाफा कमाएको हो।
बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.४३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष ७ अर्ब ९३ करोड थियो।
सञ्चालन आम्दानी पनि ११ १५ करोड रुपैयाँ छ यो पनि अघिल्लो वर्षभन्दा धेरै हो।
यस्तै बैंकले कर्जा नोक्सानीका लागि भने अघिल्लो वर्ष भन्दा धेरै रकम राखेको छ।अघिल्लो वर्ष १ अर्ब ५ करोड रुपैयाँ राखे पनि यो वर्ष बढाएर १ अर्ब ३१ करोड पुर्याएको छ। यसले नाफामा भने नकारात्मक असर गर्न पुग्यो। यद्यपि समग्रमा बैंकको नाफा भने बढेकै छ।
यस्तै गत वर्ष १ अर्ब ८६ करोड रुपैयाँ वितरणयोग्य नाफा छ। जसबाट बैंकले १३.२२ प्रतिशत लाभांश नि सक्नेछ।
प्राइम कमर्सियल
प्राइम कमर्सियल बैंकले पनि गत आवमा १४.८५ प्रतिशतले नाफा बढाएको छ। अघिल्लो आवमा ३ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष ४ अर्ब २ करोड नाफा कमाएको हो।
यस्तै ब्याज आम्दानी ८ अर्ब ८२ करोड रुपैयाँ गरेको छ अघिल्लो वर्ष ७ अर्ब ८८ करोडमात्रै थियो। योबाहेक सञ्चालन मुनाफा पनि बढेको छ।
अघिल्लो आवमा ५ अर्ब ३१ करोड नाफा कमाएको बैंकले गत आवमा बढाएर यस्तो नाफा ६ अर्ब ५५ करोड रुपैयाँमा पुर्याएको हो। यस्तै बैंकले कर्जा नोक्सानीका जोखिम बहनका लागि इम्पेयरमेन्ट चार्जमा राखेको पैसा घटाएको छ। अघिल्लो वर्ष १ अर्ब ६३ करोड रुपैयाँ राखेकोमा यो वर्ष १ अर्ब ४१ करोड रुपैयाँ राखेको हो।
यस्तै बैंकको वितरणयोग्य नाफा पनि यो वर्ष बढेर २ अर्ब ७८ करोड रुपैयाँ छ। जसबाट बैंकले १४.३३ प्रतिशत लाभांश दिनसक्नेछ।
नेपाल इन्भेष्टमेन्ट मेगा
नेपाल इन्भेष्टमेनट मेगा बैंकले पनि नाफा ६४.४४ प्रतिशतले बढाएको छ। अघिल्लो आवमा ४ अर्ब १० करोड नाफा कमाएको बैंकले गत आवमा बढाएर ६ अर्ब ७५ करोड नाफा कमाएको हुन्।
यस्तै बैंकले १४ अर्ब १२ करोड ब्याज आम्दानी गर्दा १० अर्ब १४ करोड सञ्चालन नाफा गरेको छ।
बैंले यो वर्ष ब्याज आम्दानी कम गरको छ भने सञ्चालन नाफा उल्लेख्य बढाएको हो। बैंकको वितरणयोग्य मुनाफा ४९ करोड १३ लाख रहेको छ। जसबाट बैंकले १ रुपौयँ ४४ पैसा मात्रै लाभांश दिन सक्नेछ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा ४.९१ प्रतिशतबाट बढेर ५.८५ प्रतिशत पुगेको छ।

प्रभु बैंक
प्रभु बैंकले पनि यो वर्ष नाफा ९६५.४२ प्रतिशत बढाएको छ। अघिल्लो वर्ष ५१ करोड मात्रै नाफा कमाएको बैंकले गत आवमा ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको हो।
बैंकले यो वर्ष सञ्चालन नाफा उल्लेख्य बढाएको छ। अघिल्लो वर्ष ३ अर्ब १५ करोड सञ्चालन मुनाफा गरेको बैंकले यो वर्ष ६ अर्ब २८ करोड रुपैयाँ गरेको छ गरेको हो।
यता बैंकको ब्याज आम्दानी भने यो वर्ष घटेको छ। गत वर्ष बैंकले ब्याज आम्दानी ७ अर्ब १९ करोड रुपैयाँ गरेको छ। अघिल्लो वर्ष बैंकले कुल ११ अर्ब ८९ करोड सञ्चालन आम्दानी गरेको थियो।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ रहेको छ। जसबाट बैंकले लगानीकर्तालाई ४.४४ प्रतिशतमात्रै लाभांश दिन सक्नेछ।
नाफा घट्ने बैंकहरू
सिटिजन्स
सिटिजन्स बैंकको भने यो वर्ष नाफा घटेको छ। अघिल्लो आवमा बैंकले १ अर्ब ३२ करोड कमाएकोमा गत आवमा १ अर्ब २९ करोडमात्रै कमाएको हो। जुन २.२७ प्रतिशतले कम हो।
बैंकको ब्याज आम्दानी पनि घटेको छ। गत आवमा बैंकले १७ अर्ब ३० करोड ब्याज आम्दानी गरेको हो। अघिल्लो आवमा यो भन्दा बढि १९ अर्ब ७१ आम्दानी गरेको थियो।
ब्याज आम्दानी घटे पनि गत आवमा बैंकको सञ्चालन आमदानी भने बढेको छ। अघिल्लो आवमा ७ अर्ब ५ करोड आम्दानी गरेको बैंकले गत आवमा ८ अर्ब १२ करोडको आम्दानी गरेको हो। यस्तै सञ्चालन मुनाफा भने यो वर्ष घटेको छ। अघिल्लो वर्ष २ अर्ब ४ करोड मुनाफा कमाएको बैंकले गत आवमा २ अर्ब मात्रै नाफा कमाएको हो।
बैंकले खराबकर्जा पनि बढाएर देखाएको छ। अघिल्लो आवमा ४.१० प्रतिशतमा रहेको खराबकर्जा ४.९४ प्रतिशतमा पुगेको हो।
स्ट्यान्डर्ड चार्टर्ड
स्ट्यान्डर्ड चार्टर्ड बैंको आर्थिक वर्ष २०८०/८१ मा नाफा ७.५१ प्रतिशतले नाफा घटेको छ। अघिल्लो वर्ष नाफा ३ अर्ब २७ करोड कमाएको बैंकले गत आवमा ३ अर्ब २ करोड रुपैयाँ कमाएको हो।
खुद ब्याज आम्दानी नै घट्दा बैंकको नाफामा सिधा असर देखिन्छ। गत आवमा बैंकले ४ अर्ब ४८ करोड गरेको छ जब कि अघिल्लो वर्ष बैंकले ५ अर्ब १३ करोड रुपैयाँ रहेको आम्दानी गरेको थियो।
यस्तै बैंकले लोन लस प्रोभिजनबाट ३३ करोड रुपैयाँ फिर्ता गरेको छ। यस्तै बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ९९ करोड रुपैयाँ छ। जसबाट बैंकले सेयरधनीलाई १९.८५ प्रतिशत लाभांश दिन सक्नेछ।
नाफामा संकुचित देखिए पनि बैंकले खराब कर्जालाई भने घटाएको देखिन्छ। अघल्लो वर्ष २.१४ प्रतिशत रहेको खराब कर्जा यो वर्ष १.४७ प्रतिशतमा सीमित बनेको हो।

एनआईसी एसिया
एनआईसी एसिया बैंकको नाफा ७७ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ७० करोड रूपैयाँ नाफा कमाएकोमा बैंकले गत आर्थिक वर्षमा भने १६ करोड रुपैयाँ मात्रै नाफा कमाएको देखाएको हो।
अघिल्लो वर्षबाट समस्यामा पर्न थालेपछि त्यसको असर बैंकको नाफा देखिदै आएको छ। अर्बबाट नाफामा करोडमा खुम्चिएको यो बैंकको असार मसान्तसम्म १६ करोडमात्रै खुद नाफा छ।
नाफामा व्यापक गिरावट आउनुमा ब्याज आम्दानी, सञ्चालन खर्च, कर्जा नोक्सनी व्यवस्थापमा राख्नुपर्ने रकम लगायतको मुख्य भूमिका देखिन्छ।
बैंकको खुद ब्याज आम्दानी १० अर्ब २५ करोड रुपैयाँ छ। जब कि अघिल्लो वर्ष यस्तो आम्दानी १० ७६ अर्ब थियो। यस्तै कर्जा नोक्सानी व्यवस्थापनका लागि बैंकले अघिल्लो वर्ष १४ करोड रुपैयाँ सञ्चित राखेकोमा यो वर्ष ८० करोड रुपैयाँ राख्नुपरेको हो।
यसले पनि बैंकको नाफा घटाउको देखिन्छ। नाफा घटेपछि वितरणयोग्य नाफा पनि ऋणात्मक देखिएको हो। बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब २१ करोड रुपैयाँले ऋणात्मक छ। यसकारण बैंकले यो वर्ष लाभांश दिन सक्नेछैन।
योबाहेक बैंकको खराब कर्जा पनि ३.४५ प्रतिशतबाट बढेर ६.२८ प्रतिशत पुगेको छ।
नेपाल एसबीआई
नाफा घट्नेमा एसबीआई बैंक पनि छ। यो बैंकले गत आवमा १ अर्ब ८० करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो वर्ष १ अर्ब ९९ करोड नाफा कमाएको बैंकले यो वर्ष ९.८६ प्रतिशतले कम नाफा कमाएको हो।
बैंकको खुद ब्याज आम्दानी सामान्य बढे पनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो।
बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ७.५५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५.९१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३.६२ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ६४ करोड ८३ लाख रुपैयाँबाट बढेर १ अर्ब २ करोड रुपैयाँमा पुगेसँगै सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड ३ लाख रुपैयाँ छ। जसबाट बैंकले सेयरधनीलाई ११.२९ प्रतिशत लाभांश दिन सक्नेछ।
Shares

प्रतिक्रिया