ad ad

कारोबार


वर्ल्डलिंकले लकडाउनमा पैसा सिद्धिने ग्राहकको इन्टरनेट काट्न थाल्यो

वर्ल्डलिंकले लकडाउनमा पैसा सिद्धिने ग्राहकको इन्टरनेट काट्न थाल्यो

नेपालखबर
बैशाख १, २०७७ सोमबार १०:४४,

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई इन्टरनेटमा ग्राहकलाई सुविधा दिन आग्रह गरिरहेको बेला वर्ल्डलिंकले भने पैसा नबुझाउने ग्राहकको लाइन नै काटिदिएको ग्राहकले गुनासो गरेका छन्।

लकडाउनको सुरुका केही दिनमा लाइन नकाटेको वल्र्डलिंकले लाइन काट्नथालेपछि अहिले पैसा सिद्धिएका ग्राहक इन्टरनेट पहुँचबाट वञ्चित भएका हुन्।

त्यसमाथि वर्ल्डलिंकको इन्टरनेट साह्रै ‘स्लो’ हुनथालेको यसका ग्राहकहरुले बताएका छन्। रातोपुल बस्दै आएका कम्पनीका एक ग्राहकले भने, ‘बिहान दिउँसो ठीकै चल्छ, राति हुनथालेपछि साह्रै स्लो छ।’

लकडाउनमा ग्राहक कम्पनीको अफिस पुग्नुपर्ने ?
लकडाउनको बेलामा पनि मुलुकभरका विभिन्न शाखा निश्चित समयको लागि खुलेको र अनलाइन भुक्तानी समेत गर्न सकिने भएकाले ग्राहकलाई शुल्क पछि तिर्ने कुनै सुविधा नभएको वल्र्डलिंकका निर्देशक लक्ष्मण यादवले बताए।

मासिक शुल्क तिर्नुपर्ने ग्राहकले अनलाइनबाट वा नजिकको शाखामा गएर मासिक शुल्क तिर्न सक्ने यादवले बताए।

‘पैसा अनलाइनबाट तिर्दा हुन्छ, नभए हाम्रा शाखाहरु खुलिरहेका छन्। ती शाखामा गएर शुल्क तिर्दा हुन्छ’, यादवले नेपालखबरसँग भने, ‘सुरुमा हामीले त्यत्तिकै एक्सटेन्ड गरिदिएका थियौं। अहिले छैन।’

उनले भनेजस्तै वल्र्डलिंकले मुलुकभरमा शुल्क तिर्न सक्ने शाखाहरु खोलेको छ। ठाउँअनुसार बिहानको समयमा शुल्क तिर्न सकिने भनेर शाखाको सूची आफ्नो वेबसाइटमा राखेको छ।

वल्र्डलिंकले अनलाइन वा शाखामा पुगेर मासिक शुल्क तिर्न सकिने भने पनि सहज भने नभएको ग्राहक बताउँछन्। सबै ग्राहकले अनलाइनमार्फत पैसा तिर्न सक्दैनन्।

अर्कोतिर, वर्ल्डलिंकले भने जस्तै शाखा पुगेर शुल्क तिर्न सक्ने अवस्था छैन। सरकारले लकडाउनमा कडाइ गरेकाले नजिकको शाखा पुग्न सक्ने अवस्था नै छैन।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले इन्टरनेटको शुल्क तिर्न भनेर कोही पनि बाहिर हिँड्न नपाउने बताए।

‘तपाईंले भनेअनुसार शाखा खोलिएको बारेमा हामीलाई थाहा छैन,’ बोगटीले नेपालखबरसँग भने, ‘तर शुल्क तिर्न भनेर कोही बाहिर हिँड्न पाउने अनुमति छैन।’

मुलुकमा लकडाउन सुरु भएको तीन हप्ता हुनलागेको छ। अत्यावश्यक कामबाहेक कोही पनि बाहिर निस्किन पाएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .