धितोपत्रको बुलिस (बढ्दो)भन्दा बियरिस (घट्दो) बजारमा लगानीकर्ताले बढी जरिवाना तिरेका छन्।
हालसम्मकै सूचक बढेको वर्ष २०७८/७९ भन्दा चालू आर्थिक वर्षको ११ महिनामा लगानीकर्ताले करोड बढी जरिवाना तिरेका हुन्।
२०७८/७९ सालमा सूचक ३२ सय अंकमा माथि पुग्दा लगानीकर्ताले अधिकतम कारोबार २२ अर्बको कारोबार गरेका थिए भने जरिवाना मात्रै ९ करोड ७८ लाख रुपैयाँ तिरेका थिए।
चालू आवको ११ महिनामा उक्त रेकर्ड तोड्दै लगानीकर्ताले ११ करोड ३९ लाख रुपैयाँ जरिवाना तिरेका छन्।
११ महिनामा नेप्सेको सूचकमा सुधार नहुँदा समग्र बजार ‘साइड ड्रिफ्ट जोन’मा चलिरहेको छ।
सोही कारण यो वर्ष लगानीकर्ताको नाफाको वर्ष बन्न सकेन। तर पनि कारोबार रकमले नयाँ रेकर्ड बनाएसँगै तिरेको जरिवाना रकमले पनि नयाँ रेकर्ड कायम गरेको हो।
यो अवधिमा कारोबार रकममा हालसम्मकै धेरै (२९ अर्ब) कारोबार गरेका लगानीकर्ताले जरिवाना पनि ११ करोड ३९ लाख ५१ हजार रुपैयाँ तिरेका हुन्।
किन बढ्यो क्लोजआउटमा पर्ने संख्या?
ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष तथा कोहीनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटीका प्रबन्धनिर्देशक भरत रानाभाट सेयर बिक्री गर्दा ट्रान्सफर नै नगरी बस्दा अधिकांश लगानीकर्ता क्लोजआउट (जरिवाना)मा पर्ने गरेको बताउँछन्।
‘गत वर्ष २९ लाख वटा कारोबार क्लोजआउटमा पर्दा लगानीकर्ताले ६ करोड जरिवाना तिरेका थिए। यो वर्ष तीन महिनामा ६ लाखवटा कारोबार क्लोजआउटमा पर्दा साढे ५ करोड जरिवाना तिरेका छन्’, उनले भने, ‘यसले यो वर्ष ठूला कारोबारीहरू पनि क्लोजआउटमा परेको भन्ने देखाउँछ। संख्याभन्दा रकम जति धेरै भयो त्यति धेरै पेनाल्टी (जरिवाना) धेरै हुने हो।’
यस्तै डिम्याट खाता नवीकरण नगर्दा पनि लगानीकर्ता क्लोजआउटमा पर्ने गर्छन्। डिम्याट खाता नवीकरण नगर्दा पनि आर्थिक वर्षको सुरुवातमा क्लोजआउटमा पर्नेको संख्या बढी हुने गर्छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै डिम्याट नवीकरण गर्नुपर्ने हुन्छ। तर नवीकरण नगरी सेयर बेच्न खोज्दा लगानीकर्ताहरू क्लोजआउटको फन्दामा पर्ने गर्छन्।
‘डिम्याट रिन्यु नगरी सेयर बिक्री गर्दा मेरो सेयरबाट सेयर ट्रान्सफर गर्नका लागि ईडीआईएस (इलेक्ट्रोनिक डेलिभरी इन्स्ट्रक्सन स्लिप) गर्न मिल्दैन। साउन र भदौमा अधिकांश लगानीकर्ताले डिम्याट रिन्यु गर्नुपर्ने भए पनि बेवास्ता गर्दा क्लोजआउटको फन्दामा पर्छन्’, उनले भने।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका नायब प्रबन्धक सुरेश न्यौपाने नेप्से बढ्दा र कारोबार बढ्दा पनि क्लोजआउटमा पर्नेको संख्या बढ्ने बताउँछन्।
सेयर बढेको वर्षहरूमा क्लोजआउटमा पर्नेहरूको संख्यामा पनि उच्च वृद्धि देखिने गरेको उनको भनाइ छ।
‘यो वर्ष अधिकतम २९ अर्ब ९५ करोड रुपैयाँसम्मको कारोबार भएको छ। जति धेरै कारोबार भयो त्यति क्लोजआउटमा पर्ने पनि बढ्छन्’, उनले भने।
कसरी बच्ने?
सेयर बेचेर सेटलमेन्ट नगरेबापतको जरिवाना नै क्लोजआउट हो। सेयर बेचेपछि मेरो सेयरमा गएर ईडीआईएस गर्नुपर्छ। यो भनेको सेयर बेच्यौँ भन्ने प्रमाण पनि हो।
धितोपत्र कारोबार राफसाफ तथा फछ्र्योट विनियमावली २०६९ को परिच्छेद ४ को विनियम २० मा आंशिक मौज्दात भएमा क्लोजआउट गर्नुपर्ने व्यवस्था छ। सोही विनियमावलीको विनियम २१ मा क्लोजआउटमा पर्दा हुने २० प्रतिशत जरिवानाको व्यवस्था छ।
सोही व्यवस्थाअनुसार यदि तपाईंले आज सेयर बिक्रीमा राख्नुभएको छ र सो सेयर बिक्री भएपछि भोलिपल्ट ६ बजेसम्म ईडीआईएस गर्नुभएन भने तपाईं क्लोजआउटमा पर्न सक्नुहुनेछ।
योबाहेक यदि आफ्नो खातामा भएको सेयर संख्याभन्दा बढी सेयर बिक्रीमा राखेर बिक्री भएको खण्डमा पनि क्लोजआउटमा पर्न सकिन्छ। जस्तो, तपाईंसँग कुनै कम्पनीको १ हजार कित्ता सेयर छ र तपाईंले सो सेयर संख्या नहेरी १२ सय कित्ता सेयर बिक्रीमा राख्नुभयो भने तपाईंसँग नभएको २ सय सेयर क्लोजआउटमा पर्छ र तपाईंले सोबापत २० प्रतिशत पेनाल्टी तिर्नुपर्ने हुन्छ।
क्लोजआउट अनभिज्ञता र लापरबाहीका कारण बढी हुने गर्दछ।
मेरो सेयरमा गएर ईडीआईएस नगरेर डीआईएस पनि गरेर सेयर ट्रान्सफर गर्न सकिन्छ। यदि डीआईएसको स्लिप तपाईंसँग छ भने आफ्नो डिम्याट खाता भएको कम्पनीमा गएर सेयर बेचेको दुई दिनभित्र डीआईएस स्लिप बुझाएर पनि सेयर ट्रान्सफर गर्न सकिने व्यवस्था छ।
योबाहेक बुक क्लोजको मिति याद नगर्दा पनि लगानीकर्ता क्लोजआउटमा पर्ने गर्दछन्। जस्तो, कुनै कम्पनीले बुक क्लोजका लागि कारोबार मिति तोकेर बन्द गर्ने गर्छन्। यो अवधिमा सेयर बिक्री गरेर ईडीआईएस गर्न सकिँदैन।
यस्तो अवस्थामा बुक क्लोज सकिएको दिन ईडीआईएस गरेमा क्लोजआउटबाट जोगिन सकिन्छ।
Shares

प्रतिक्रिया