नेपाली धितोपत्र बजारमा एउटा कम्पनी छ– नेपाल ल्युब आयल लिमिटेड।
चर्चित व्यावसायिक घराना चौधरी ग्रुप (सीजी)ले सञ्चालन गरेको यो कम्पनी २०६७ सालबाट धितोपत्रको दोस्रो बजारमा प्रवेश गरेको थियो।
त्यसयताको १५ वर्ष पुग्दा मात्रै ६२ दिन यस कम्पनीको सेयर कारोबार भएको छ। रोचक कुरा त यो कम्पनीका लगानीकर्ता आफूसँग भएको सेयर बेच्नै चाहँदैनन्। यति लामो समयसम्म लगानीकर्ताको समूहले यो कम्पनीको सेयर ‘होल्ड’ गरेर राखेका हुन्।
उनीहरुले भएको सेयर बेच्नै नचाहेपछि कम्पनीले १५ वर्षमा दुई महिना मात्रै कारोबार गरेको छ भने सेयर मूल्य पनि प्रतिकित्ता ८७ रुपैयाँले मात्रै बढेको छ।
२०६७ पुस २४ गते १ सय ९५ रुपैयाँ प्रकिकित्ताका दरमा यो कम्पनीको दोस्रो बजारमा पहिलो कारोबार भएको थियो। १५ वर्षपछि बुधबार (जेठ ७ गते) पनि यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता २८२ रुपैयाँ छ।
दोस्रो बजारको मूल्यलाई मात्रै हेर्ने हो भने कम्पनीको कारोबारबाट लगानीकर्ताले १५ वर्षमा कित्तामा ८७ रुपैयाँ मात्रै कमाएका छन्। यद्यपि उक्त कमाइलाई लगानीकर्ताले एक दशकदेखि पूर्ण बेवास्ता गर्दै ‘होल्ड’ गर्दा कम्पनीको सेयर कारोबार विरलै हुने गरेको हो।

यो अवधिमा लगानीकर्ताले नेपाल ल्युब आयलको जम्मा ६२ दिन मात्रै कारोबार गरेका छन्। गत वर्ष यो सेयर २० दिन मात्रै कारोबार भएको थियो जुन डेढ दशककै धेरै हो।
किन त?
कारोबार नै नहुनुको प्रमुख कारण लगानीकर्ता बिक्रीका लागि तयार नहुनु नै हो।
नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुली लगानीकर्ताले १५ वर्षदेखि सेयर ‘होल्ड’ गर्दा कारोबार नै नहुने गरेको बताउँछन्।
अत्यन्तै थोरै कित्ता सेयर रहेको यस कम्पनीको सेयर खरिद माग हरेक दिन उच्च छ। तर लगानीकर्ताले डेढ दशकदेखि सेयर नै बेचेका छैनन्। सोही कारण यो अवधिमा कम्पनीको सेयर कारोबार शून्यप्रायः देखाएको हो।
यो कम्पनीको चुक्ता पुँजी ७ करोड २९ लाख रुपैयाँ छ।
धितोपत्र बजारमा यो कम्पनीको संस्थापक र सर्वसाधारण दुवै गरेर कुल ७ लाख २९ हजार ६ सय ४१ कित्ता मात्रै सेयर सूचीकृत छ।
जसमा संस्थापक समूहले कुल सेयरको ७६.७६ प्रतिशत अर्थात् ५ लाख ८१ हजार ९ सय ६२ कित्ता आफ्नो स्वामित्वमा राखेको छ भने कुल सेयरको २०.२४ प्रतिशत अर्थात् १ लाख ४७ हजार ६ सय ७९ कित्ता सेयर सर्वसाधारण समूहको स्वामित्वमा छ।
१५ वर्षदेखि सर्वसाधारण समूहको १ लाख ४७ हजार कित्ता सेयर मात्रै धितोपत्रको दोस्रो बजारमा कारोबार हुँदै आएको छ।
कित्ता नै थोरै भएकाले दोस्रो बजारमा यो कम्पनीको माग उच्च रहँदै आए पनि बिक्रेता नभेटिएपछि कारोबार नै ठप्प हुने अवस्था सिर्जना हुँदै आएको हो।

यसकारण बेच्न तयार छैनन् लगानीकर्ता
थोरै सेयर भए पनि यो कम्पनीका लगानीकर्तालाई दोस्रो बजारप्रति वास्ता नभएको बताउँछिन् एक ब्रोकर सञ्चालक।
‘म दुई दशकदेखि यो क्षेत्रमा छ, यो कम्पनीका लगानीकर्ताले दोस्रो बजारमा चासो देखाएको वा किनबेच गरेको विरलै देख्छु’, उनले नेपालखबरसँग भनिन्, ‘उनीहरुलाई बजारमा हुने मूल्यगत उतारचढावप्रति वास्ता नै छैन।’
उनका अनुसार सेयर बेच्न नचाहनुको प्रमुख कारण हो– यो कम्पनीको थोरै सेयर र कम्पनीले वार्षिक दिने लाभांश।
कम्पनीले लगानीकर्तालाई हरेक वर्ष नबिराई लाभांश वितरण गर्दै आएको छ।
नेप्सेका अनुसार यो कम्पनीले १४ वर्षमा लगानीकर्तालाई अधिकतम ४० प्रतिशत र न्यूनतम १० प्रतिशतसम्म लाभांश दिँदै आएको छ। थोरै कित्तामा पनि मनग्य लाभांश पाउने भएपछि लगानीकर्ताले अधिकांश समय सेयर ‘होल्ड’ गरेर राख्दै आएका हुन्।
नेप्सेका अनुसार यो कम्पनीले धितोपत्र बजारमा सूचीकृत भएपछिको वर्ष लगानीकर्तालाई ४० प्रतिशत लाभांश दिएको थियो।
त्यसपछि पनि कम्पनीले आव २०७०/७१ मा २० प्रतिशत, आव २०७४/७५ मा ४० प्रतिशत, २०७७/७८ मा ३५ प्रतिशत र २०८०/८१ मा २५ प्रतिशतसम्म लाभांश लगानीकर्तालाई बाँडेको छ।
यो बीचका वर्षमा पनि कम्पनीले लगानीकर्तालाई निरन्तर लाभांश दिँदै आएको छ।

लाभांशमा गर्दैन कञ्जुस्याइँ
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा मात्रै नाफामा १ सय प्रतिशतको छलाङ मारेको छ।
चालू आवको तेस्रो त्रैमासिकमा कम्पनीले ३ करोड २४ लाख रुपैयाँबराबरको खुद नाफा गरेको छ। गत वर्ष सोही अवधिमा १ करोड ६१ लाख नाफा थियो।
वार्षिक रूपमा भने गत आर्थिक वर्षमा कम्पनीले ४ करोड ४४ लाख रुपैयाँको खुद नाफा गरेको थियो। त्यसअघिका तीन वर्षमा कोरोना संक्रमणका कारण सरकारले देशव्यापी रुपमा यातायात बन्द गर्दा त्यसको असर कम्पनीको व्यवसायमा परेको देखिन्छ।
जसले गर्दा आव २०७९/८० मा ५४ लाख, आव २०७८/७९ मा ५० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो। आव २०७७/७८ मा भने कम्पनीले नाफा २ करोड ५२ लाख रुपैयाँ कमाएको थियो।
कम्पनीले कोरोना संक्रमणको अवधिभर नाफा कमाउन नसके पनि सेयरधनीलाई रित्तो भने बनाएको थिएन। पछिल्लो पाँच वर्षमा कम्पनीले सबैभन्दा थोरै नाफा आव २०७६/७७ मा कमाएको थियो। सो वर्ष कम्पनीको नाफा ११ लाख रुपैयाँमात्रै थियो।
उक्त वर्ष कम्पनीले सेयरधनीलाई १० प्रतिशत मात्रै भए पनि लाभांश दिएको थियो। त्यसयता भने कम्पनीले क्रमशः नाफा बढाएपछि सेयरधनीले पाउने लाभांश पनि बढेको हो।
Shares

प्रतिक्रिया