कारोबार


एसटीसी ब्याट्री उद्योगले थाल्यो भारतमा निर्यात, विद्युतीय गाडीको ब्याट्री उत्पादन गर्ने तयारी

एसटीसी ब्याट्री उद्योगले थाल्यो भारतमा निर्यात, विद्युतीय गाडीको ब्याट्री उत्पादन गर्ने तयारी

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १४:१, काठमाडौँ

हेटौंडामा स्थापना भएको ब्याट्री उद्योगले भारतमा निर्यात सुरु गरेको छ।

हेटौंडा औद्योगिक क्षेत्रमा ५० करोड बढी लगानीमा सञ्चालन भएको एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालिले सवारी साधनका ब्याट्री उत्पादन गरी निर्यात थालेको हो। 

एसटीसी ग्रुपको लगानीमा निर्माण कम्पनीले २ पांग्रे, चारपांग्रे र विद्युतीय रिक्साका लागि आवश्यक पर्ने ब्याट्री उत्पादन गरिरहेको छ। 

मासिक १ लाख ५० हजार ब्याट्री उत्पादन क्षमता भएको उद्योगमा दुईपांग्रेको मासिक २५ हजार ब्याट्री उत्पादन भइरहेका छन्। १ वर्षमा उद्योगले चारपांग्रेका करिब ५० हजार ब्याट्री बिक्री गरिसकेको छ। 

२०० भन्दा बढी डिलर नेटवर्क विस्तार गरिसकेको उद्योगले भारतका केही कम्पनीलाई नेपालबाटै ब्याट्री निर्यात गर्न सुरु गरेको जानकारी दिएको छ। नेपाल सरकारले गुणस्तर चिह्न नदिँदा र ब्याट्रीको स्पष्ट मापदण्ड नबनाउँदा निर्यातमा समस्या भएको एसटीसी ग्रुपका प्रबन्धनिर्देशक सुरेन्द्रकुमार उप्रेतीले बताए। 

‘भारतबाट ५० हजार ब्याट्रीको अर्डर आए त्यहाँको प्रदूषण विभागमा पुराना ५० हजार ब्याट्री डिपोजिट गर्नुपर्छ’, उप्रेतीले भने, ‘विभागले सर्टिफिकेसन दिएपछि मात्रै भारतका व्यवसायीले नेपालबाट ब्याट्री लैजान सक्छन्।’

नेपालमा महिनामा १ अर्ब रुपैयाँको ब्याट्री खपत हुन्छ। नेपालमा १ दर्जन बढी विदेशी ब्रान्डको उपस्थिति छ।

एसटीसी इनर्जी र एसटीसी राइड ब्रान्डको रुपमा बजारमा ब्याट्री बिक्री गरिरहेको छ। ग्रुपले ७५ जनालाई रोजगारी दिएको छ। 

उद्योगले ८० प्रतिशत नेपाली कच्चा पदार्थ प्रयोग गरेको छ। प्लान्टका लागि भारत र चीनबाट मेसिन ल्याएर सञ्चालन भइरहेको यो उद्योग २५ रोपनी क्षेत्रफलमा फैलिएको छ। 

‘आयातित ब्रान्डको तुलनामा ४०–५० प्रतिशतले नै कम मूल्यमा बिक्री गरिरहेका छौँ’, प्रबन्धनिर्देशक उप्रेतीले भने, ‘दुईपांग्रे र चारपांग्रेमा ३६ महिना, इन्भर्टरमा ६० महिना र विद्युतीय ३ पांग्रेमा १२ महिना वारेन्टी दिएका छौँ।’

कम्पनीले तोकेको समयभित्र ब्याट्रीमा समस्या भए पूर्ण रुपमा नयाँ ब्याट्री दिने गरेको उनले बताए। 

‘हामीले उत्पादन गरेका ब्याट्री अटोमेसनबाटै हुन थालेका छन्’, उनले थपे, ‘ब्याट्रीले हरेक चरण पार गर्दा चेक भएर मात्रै निस्किन्छ।’

लेड एसिड ब्याट्री उत्पादन गरिरहेको एसटीसी ग्रुपले अबको १ वर्षभित्र विद्युतीय गाडीमा प्रयोग हुने ब्याट्री उत्पादन गर्ने भएको छ। 

एक चिनियाँ कम्पनीसँग विद्युतीय गाडीमा प्रयोग हुने ब्याट्रीको प्लान्ट लगाउने विषयमा उद्योगले समझदारी गरिसकेको छ। 

‘अहिलेकै ठाउँमा प्लान्ट थपेर बजारमा भित्रिएका नयाँ प्रविधिका गाडीको ब्याट्री उत्पादनको पनि तयारी गरिरहेका छौँ’, उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad