कारोबार


लकडाउनको फाइदा उठाउँदै, धमाधम काठमाडौंका सडक चम्काउँदै

लकडाउनको फाइदा उठाउँदै, धमाधम काठमाडौंका सडक चम्काउँदै

वसन्त अर्याल
चैत १९, २०७६ बुधबार ७:५७,

कोरोना भाइरसको महामारीले देशै ठप्प भइरहँदा राजधानीका सडकहरु भने चिल्ला देखिनथालेका छन्।

लकडाउनले सडकमा सवारीसाधन नचलेको फाइदा उठाउँदै काठमाडौं सडक डिभिजनले सडक रेखांकन गरिरहेको छ। यसले भर्खरै पिच सकिएका सडक चम्किलो देखिनथालेका छन्।

गत फागुन २७ गते मंगलबार राति १० बजे काठमाडौं सडक डिभिजन प्रमुख कुवेर नेपालीलाई बालुवाटार क्षेत्रमा भेटेका थियौँ। उनी बालुवाटार क्षेत्रको सडको ओभरलेको काम निरीक्षण गरिरहेका थिए।

chamkina thale ktm ka sadak 2

‘चैत मसान्तसम्म काठमाडौं उपत्यकाका सबै सडक कालोपत्रे भइसक्छन्’, उनले त्यतिबेला हामीसँग भनेका थिए, ‘५० प्रतिशत काम सम्पन्न भइसक्यो।’

सडक विभागको काठमाडौं डिभिजन कार्यालयअन्तर्गत ४१ किलोमिटर सडक पर्छ। डिभिजन प्रमुख रहेका उनी दिउँसो कार्यालय जान्थे भने रातको समयमा आफ्नो मातहतमा काम भइरहेको ठाउँमा पुग्थे।

कुनै दिन एउटा समूह परिचालन भएको हुन्थ्यो भने कुनै दिन दुई/तीन समूहले उपत्यकामा कालोपत्रेको काम गरिरहेका हुन्थे।

chamkina thale ktm ka sadak 3

काठमाडौंका मुख्य सडकले मुहार फेर्दै थिए। मौसमको साथ उस्तै थियो। जाडोको मौसम वा वर्षा हुने समयमा काम गर्न मिल्दैन। माघ अन्तिमबाट काठमाडौंका सडक कालोपत्रको काम सुरु भएको थियो।

आज चैत १९ गते भयो।

अहिले देश कोरोना संक्रमण नियन्त्रणको लागि लकडाउनको अवस्थामा छ। अत्यावश्यक कामबाहेक सबै जनता आ–आफ्नो घरमा बसिरहेका छन्। अहिले सडक कालोपत्रे गर्ने अवस्था छैन।

chamkina thale ktm ka sadak 4

उनी मातहतका ४१ किमिमध्ये करिब ३१ किमि सडक लकडाउन हुनुभन्दा अघिसम्म कालोपत्रे भइसकेको थियो।

चैतभित्र सक्ने गरी तीव्रगतिका साथ काम गरे पनि परिस्थितिले कालोपत्रे गर्न दिएन।

तर उनी आज पनि त्यत्तिकै बसेका भने छैनन्। कालोपत्र भएको केही सडकमा रेखाङ्कनको (रोड मार्किङ) काम बाँकी थियो।

chamkina thale ktm ka sadak 6

लकडाउनको अवस्थाको कारण धेरै श्रमिक एकैठाउँ जम्मा हुँदा कोरोना संक्रमण फैलिने डर पनि थियो। त्यसैले धेरै समूह बनाएर काम गर्न चाहेनन्। सानो टिम बनाएर रोड मार्किङको काम भने गरिरहेका छन्।

जसले काठमाडौंका धेरै मुख्य सडक चिल्ला र आकर्षक बनिरहेका छन्।

‘१९ गते (बुधबार) पास नपाएर काम गर्न पाएका छैनौं’, डिभिजन प्रमुख नेपालीले नेपालखबरसँग फोनमा भने, ‘पास पाउने सिस्टम परिवर्तन भएछ। आज मन्त्रालय जान्छु, पास पाए भोलिबाट पुनः मार्किङको काम हुन्छ।’

chamkina thale ktm ka sadak 7

उनका अनुसार करिब ३ किमि सडकमा रोड मार्किङको काम अझै बाँकी छ। उनले ५÷६ जनाको सानो समूहले रोड मार्किङको काम गरिरहेको उल्लेख गर्दै भने, ‘कोरोना संक्रमणबाट सचेत बन्दै ५÷६ जनालाई काममा लगाएका छौं, पास पाए ४ दिनमा मार्किङको काम सक्छौँ।’

लकडाउनबाहेकको अवस्थामा सडकमा चाहेजस्तो छिटो काम गर्न पनि नसकिने उनको अनुभव रहेको छ।

‘अरु बेला काठमाडौंमा सवारी चाप अत्यधिक हुने हुँदा लकडाउनको समयलाई सदुपयोग गरी काम गर्न खोजेका हौं’, उनले भने, ‘मजदुरलाई ल्याउने लाने काम हामीले पास ल्याएको गाडीबाटै गर्दै आएका छौँ।’

कोटेश्वर–जडीबुटी सडकखण्डका ‘टुटिल्का’ हटे
कोटेश्वरदेखि जडीबुटी खण्डमा सडकको ठाउँ–ठाउँमा ‘टुटिल्को’ निस्किए जस्तो केही भाग माथि उठेको थियो। उक्त सडक खण्डमा अत्यधिक ट्राफिक चापको कारणले सडक बिग्रिएका थिए।

chamkina thale ktm ka sadak 5

हरेक दिन उक्त सडक खण्डमा ४० हजारसम्म गाडी गुडेको रेकर्ड छ। त्यसमा अरु बेला उक्त सडकमा सवारी चाप अत्यधिक हुने हुँदा अन्य समयमा काम गर्न सकिने अवस्था थिएन।

‘टुटिल्का उठेको काम पनि थोरै जनशक्तिले भ्याउने भएकाले मंगलबार त्यो काम गरेका छौं’, नेपालीले भने, ‘लकडाउनको समयमा पनि थोरै जनशक्तिले गर्न सक्ने महत्वपूर्ण काम सम्भव भएसम्म गरिरहेका छौं।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .