कारोबार


गुर्खाज फाइनान्समा सीईओ टिकाउनै गाह्रो, कामु पनि उमेर हदका कारण बाहिरिए

गुर्खाज फाइनान्समा सीईओ टिकाउनै गाह्रो, कामु पनि उमेर हदका कारण बाहिरिए

नेपालखबर
चैत २७, २०८१ बुधबार १३:३०, काठमाडौँ

गुर्खाज फाइनान्सका कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मुकुन्द श्रेष्ठ अनिवार्य अवकाशमा गएका छन्। 

उमेर हद सकिएपछि श्रेष्ठ अनिवार्य अवकाशमा गएका हुन्। 

अनेक विवादका कारण प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिकाउन नै मुस्किल परिरहेका बेला फाइनान्समा कायममुकायम सीईओ पनि विदा भएका हुन्। नेपाल राष्ट्र बैंकले केही समयअघि मात्रै फाइनान्सको सीईओ नियुक्ति नै खारेज गरेको थियो। त्यसपछि कायममुकायममा श्रेष्ठ नियुक्त भएका थिए।

त्योसँगै फाइनान्सले वरिष्ठ प्रबन्धक दिपक न्यौपानेलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत बनाएको छ। 

उनलाई वैशाख १ गतेबाट लागू हुने गरी कामुको जिम्मेवारी दिइएको छ।

कम्पनीको ५१५ औँ सञ्चालक समितिको बैठकले श्रेष्ठको अवकाश चैत ३१ गते हुने भएपछि त्यसको भोलिपल्टबाट उक्त जिम्मेवारी न्यौपानेलाई दिने निर्णय गरेको हो। 

विवादले सीईओ नियुक्ति अन्योलमा, कामुको भरमा कम्पनी
नेपाल राष्ट्र बैंकले सीईओ नियुक्तिको सबै प्रक्रिया खारेज गरेपछि कम्पनी अहिले सीईओविहीन छ। 

फाइनान्सले दोस्रो पटक नियुक्त गरेको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङको नियुक्ति प्रक्रिया खारेज गरेको थियो।

इवाहाङअघि सीईओमा प्रकाश चन्द्र अधिकारी नियुक्त भएका थिए। उनको नियुक्ति विवादमा तानिएपछि अधिकारीले आफैँ सीईओ हुन नचाहेको कारण खुलाउँदै  पदबाट राजीनामा दिएका थिए।

फाइनान्सले सन्तोष घिमिरेले प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएपछि अधिकारीलाई सीईओमा नियुक्त गरेको थियो। तर त्यसविरुद्ध केही सञ्चालक र सेयरधनीहरुले छानबिनको मागसहित राष्ट्र बैंकमा उजुरी दिएका थिए।

त्यसबारे केन्द्रीय बैंकले छानबिन गरिरहेकै बेला फाइनान्सले भने ज्ञानेन्द्र इवाहाङलाई सीईओ नियुक्त गरेपछि राष्ट्र बैंकले ‘एक्सन’ लिएको थियो।

लामो समयदेखि वित्तीय अवस्था खराब बन्दै गएको फाइनान्समा उच्च व्यवस्थापन तहमा विवाद बढ्दै गएको थियो। ऐनविपरीत गएर निकट व्यक्तिहरुलाई नियुक्त गर्नेदेखि अनियमितता गरेर संस्थालाई धराशायी पार्नेसम्मका आरोप अध्यक्षसहितका सञ्चालकहरुमा लाग्दै आएको थियो।

विवादमा फस्दै गएको फाइनान्सको वित्तीय अवस्था पनि समस्याउन्मुख देखिएको छ। असोज मसान्तसम्म कम्पनीको खराब कर्जा ४१ प्रतिशत माथि पुगेपछि राष्ट्र बैंकले निगरानी बढाएको थियो। 

राष्ट्र बैंकले फाइनान्सको गतिविधिमा निगरानी गरिरहेकै अवस्थामा अपारदर्शी रुपमा नियुक्ति प्रक्रिया अगाडि बढाइएको थियो।

यो वर्ष मात्रै कम्पनीमा चार जना सञ्चालकले कम्पनी छोडिसकेका छन् भने २ जनालाई सञ्चालकमा नियुक्त गरिएको छ। असारयता कम्पनीमा पुराना सञ्चालक धमाधम बाहिरिँदै आएका छन्। 

हाल कम्पनीमा अध्यक्षमा गौरव बुढाथोकी छन् भने सञ्चालकहरुमा कल्पना गुरुङ, युवराज राई, नरेन्द्र अग्रवाल र निलम बोहोरा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad