बैंकहरूको नाम नै तोकेर अराजक गतिविधि बढ्न थालेपछि त्यसविरुद्ध बैंक तथा वित्तीय संघहरू एकजुट भएका छन्।
सामाजिक सञ्जालमा बैंकहरूको नाम तोकेर भ्रामक सूचना फैलिन थालेपछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका हुन्।
‘यस क्षेत्रलाई खलबल्याउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक सञ्जालहरूमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।
सामाजिक सञ्जालहरूमा देखिने गलत तथा भ्रामक टिप्पणीहरूमा कुनै ध्यान नदिन पनि ग्राहकवर्गलाई अनुरोध गरेका हुन्।
पछिल्लो समय पाथीभरा केबलकार बनाउन नहुने भन्दै आन्दोलकारीहरू ग्लोबल आइएमई बैंकविरुद्ध सामाजिक सञ्चालमा भ्रामक सूचना फैलाइरहेका छन्।
यसअघि पनि बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध अराजक गतिविधि हुँदै आएको थियो। यसविरुद्ध तीनवटै वित्तीय संघ एकजुटमा उभिएर सरकारसँग कारबाहीको माग गरेका हुन्।
नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको नेपालको बैंक तथा वित्तीय क्षेत्र नेपाल राष्ट्र बैंकको सूक्ष्म निगरानी र सोको नीति नियमहरूको अधीनमा रहेर प्रत्येक त्रैमासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्दै बैंकिङ्ग क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको विज्ञप्तिमा उल्लेख छ।
अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्तलगायतको व्यवस्थाहरू तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरूको पालना गर्दै अगाडि बढिरहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरू सुरक्षित रहेको भन्दै संघहरूले स्पष्टोक्ति दिएका छन्।
‘नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख रुपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सूरक्षण कोषमार्फत सुरक्षण गरिएको स्मरण गराउँछौँ’, विज्ञप्तिमा उल्लेख छ।

Shares

प्रतिक्रिया