कारोबार


प्रदेश नं ३ का स्थानीय तहले राजस्व बाँडफाँट गरेनन्

प्रदेश नं ३ का स्थानीय तहले राजस्व बाँडफाँट गरेनन्

रासस
असार १७, २०७६ मंगलबार ८:१७,

चालू आर्थिक वर्षको करिब अन्त्यसम्म आइपुग्दा पनि प्रदेश नं ३ का एक सय बढी स्थानीय तहले नदीजन्य पदार्थको राजस्व बाँडफाँट गरेका छैनन्। राजस्व बाँडफाँट नभएपछि प्रदेशसभाअन्तर्गतको लेखा समितिले उपसमिति बनाएर स्थानीय तहमा स्थलगतरूपमा अनुगमन गर्न पठाएको छ।

उपसमितिले प्रदेशका १३ वटै जिल्लाका स्थानीय तहमा अनुगमन गरी प्रदेश सञ्चित खातामा राजस्व जम्मा गराउन आजबाट स्थलगत अनुगमनमा निस्केको छ। उपसमिति संयोजक रत्न ढकालले स्थानीय तहमा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा)को बोलपत्रमार्फत बिक्री गरिएको आम्दानीको ४० प्रतिशत प्रदेशको सञ्चित खातामा जम्मा नभएपछि आजबाटै स्थलगत अनुगमनमा निस्किएको बताए। उनले भने, ‘आज काभ्रेपलाञ्चोक जिल्लाबाट अनुगमन थालेका छौँ ।’

उपसमितिले स्थलगतरूपमा नदीजन्य पदार्थको उत्खनन तथा राजस्व सङ्कलनको अवस्थाबारे अनुगमन गर्नेछ। ढकालको संयोजकत्व गठित समितिमा प्रदेशसभा सदस्य दीपक निरौला, सन्त प्रजा, रीता माझी र रमेश पौडेल छन्। प्रदेश आर्थिक ऐनमा नदीजन्य पदार्थ, मनोरञ्जन कर तथा विज्ञापनको कर स्थानीय तहले आफैँ उठाई प्रत्येक महिना बाँडफाँट गरी प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने र त्यसको विवरण पठाउनुपर्ने व्यवस्था भए पनि स्थानीय तहले हालसम्म त्यसको पालना नगर्दा प्रदेश सरकारको लक्ष्य पूरा नभएको हो।

प्रदेश सरकारले रोयल्टीसहित चालू आर्थिक वर्षमा १ सय १९ स्थानीय तहबाट नौ अर्ब ३३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको प्रदेशसभा सदस्य दीपक निरौलाले जानकारी दिए। उनले स्थानीय तहमा अधिक मात्रामा राजस्व सङ्कलन भए पनि प्रदेश सरकारको सञ्चित कोषमा हालसम्म राजस्व दाखिला नभएको, स्थानीय तहमा नदीजन्य पदार्थ उत्खननका नाममा व्यापकरूपमा दोहन गरिएको तथा अनियमितता भएको गुनासो आएपछि प्रदेशसभा सदस्य अनुगमनमा निस्किएको बताए। ‘स्थानीय तहले प्रदेश सरकारको परिपत्र पनि बेवास्ता गरेपछि अनुगमन गर्नैप¥यो’, उनले भने।

आर्थिक ऐनमा नदीजन्य पदार्थ मनोरञ्जन तथा विज्ञापनको करमध्ये ६० प्रतिशत स्थानीय तह आफैँले सञ्चित कोषमा राखी ४० प्रतिशत प्रदेश सरकारको सञ्चित कोषमा जम्मा गर्नुपर्ने नीति उल्लेख छ। चालू आर्थिक वर्षको ११ महिनामा १० जिल्लाका १० स्थानीय तहले मात्रै प्रदेश सञ्चित कोषमा राजस्व दाखिला गरेको उपसमिति संयोजक ढकालले जानकारी दिए। ती स्थानीय तहबाट १२ करोड ४३ लाख ५१ हजार ७१२ रुपैयाँ ६० पैसा राजस्व प्रदेश सञ्चित कोषमा दाखिला भएको छ। ‘असार महिनामा सबै जिल्लामा अनुगमन नसकिए साउनमा पनि गर्नेछौँ’, ढकालले भने।

चालू आर्थिक वर्षको सुरुवातमै अर्थात् गत साल साउन २२ गते प्रदेशका सबै स्थानीय तहलाई जिल्लास्थित समन्वय समितिमार्फत परिपत्र गरी प्रदेश आर्थिक ऐनमा भएका व्यवस्थाबारे जानकारी गराउँदै सङ्कलित राजस्व रकम मासिकरूपमा बाँडफाँट गरी प्रदेश सञ्चित कोषमा जम्मा गर्न र त्यसको विवरण पठाउन निर्देशन दिइएको थियो । काभ्रेपलाञ्चोकका समन्वय अधिकारी सच्युतराज उप्रेतीले जिल्लाका सबै स्थानीय तहमा प्रदेशको पत्र पु¥याएको जिकिर गरे।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले राजस्व बाँडफाँटसम्बन्धी प्रदेशबाट कुनै पनि पत्र नआएको बताए। उनले भने, ‘अहिलेसम्म हामीले पत्र पाएका छैनौँ, कसरी जम्मा गर्ने भन्नेबारे पनि थाहा छैन।’ उनले स्थानीय तहमा नदीजन्य पदार्थबाट सङ्कलित राजस्व प्रदेश सरकारलाई बुझाउनुपर्छ भन्ने विषयमा आफूलाई जानकारी नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .