ad ad

कारोबार


दुई कम्पनीका लगानीकर्ताले कमाए धेरै, हिमालयन रिको उच्च कारोबार

परिसूचकमा ३४.२९ को गिरावट, कारोबार बढ्यो
दुई कम्पनीका लगानीकर्ताले कमाए धेरै, हिमालयन रिको उच्च कारोबार

नेपालखबर
फागुन ४, २०८० शुक्रबार १७:३७, काठमाडौँ

यो साता बजार २०६२.०३ विन्दुमा छ। गत साता २०९६.३२ विन्दुमा बन्द भएको बजार यो साता ३४.२९ अंकले घटेर २०६२.०३ झरेको हो। 

पाँच दिनमा ३ दिन घटेको बजार २ दिन बढ्यो। साताको पहिलो कारोबार दिन सामान्य अंकले घटेको बजार त्यसपछिका दिनमा उच्च उतारचढाप देखियो। साताभर घटेको बजारमा कारोबार रकम भने बढेको छ। 

यो साता सेयरबजारमा २० अर्ब २२ करोड बढीको कारोबार भएको छ। गत साता बजारमा १३ अर्बको कारोबार भएको थियो। केन्द्रीय बैंकले यो साता सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले बजार घट्न पुगेको जानकार बताउँछन्। 

मौद्रिक नीति खुकुलो चाहेका लगानीकर्ता अपेक्षा पूरा नहुँदा मनोबल कम्जोर देखिएपछि बजार यो साता नकारात्मक बनको उनीहरुको भनाइ छ। समीक्षामा सेयरबजारलाई प्रभाव पार्ने सकारात्मक/नकारात्मक कुनै नीतिगत परिवर्तन भने भएको देखिँदैन। 

यसअघिका समीक्षामा केन्द्रीय बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा रहेको १२ करोडको क्याप र जोखिम भार व्यवस्थालाई विस्तारै खुकुलो पार्दै आइरहेको थियो। त्यसैले अर्धवार्षिक समीक्षामा पनि सेयरबजारका नीति खुकुलो हुने अपेक्षा गरेका उनीहरु बताउँछन्।

मौद्रिक नीतिको समीक्षाबाट केन्द्रीय बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको हकमा रहेको १२ करोडको क्याप केही खुकुलो पार्दै व्यक्तिगत लगानीकर्ताले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था बनायो। त्यसैगरी, सेयर धितो कर्जाको जोखिम भार घटाएको थियो। 

यद्यपि, घट्दो ब्याजदर र बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई हेरेर केन्द्रीय बैंकले अर्धवार्षिक समीक्षामा अझै केही खुकुलो नीति ल्याउने लगानीकर्ताको अपेक्षा थियो। जुन, अपेक्षा अर्धवार्षिक समीक्षाबाट पूरा भने भएन। अपेक्षाअनुरुप समीक्षा नआउँदा लगानीकर्ताको मनोबल कमजोर बन्दा यो साता बजार ३४.२९ अंकले घट्न पुगेको जानकार बताउँछन्। 

सेयरबजारमा सेन्टिमेन्टले काम गर्छ। मौद्रिक नीतिको समीक्षा अपेक्षाअनुरुप नहुँदा त्यसको असर बजारमा देखिनु स्वाभाविक हुने उनीहरुको भनाइ छ। 

समीक्षामा बजारलाई असर गर्ने किसिमको नीति समेत छैन। जसकारण विस्तारै लगानीकर्ताको खस्केको मनोबल बलियो देखिएर बजारले आफ्नो लय समाउने उनीहरुको तर्क छ। 

प्रणालीमा लगानी योग्य रकम (तरलता) थुप्रिएको छ। तरलता थुप्रिएको बेलामा ब्याजदर निरन्तर घट्दै जाने अवस्थाले सेयरबजार सकरात्मक प्रभाव पार्ने जानकार बताउँछन्। 

अर्धवार्षिक समीक्षाले निराश बनेका लगानीकर्ताको मनोबल धेरै समयसम्म कम्जोर भने नहुने उनीहरुको भनाइ छ। समीक्षा अघि विगतजस्तो केही सेयर खेलाडी बजार उचाल्ने मौका पाएनन्। त्यसकारण पनि आगामी साता बजार घट्ने आधार नभएको उनीहरुको तर्क छ। 

यो साता १३ उपसूचकमध्ये ३ मा बढ्दा म्युचुअल फन्डमा गिरावट देखियो। यो साता म्यानिफ्याक्चरिङ, हाइड्रोपावर र फाइनान्स उपसूचक बढ्दा अन्य दश उपसूचकमा गिरावट देखिएको छ। 

यो साता सर्वाधिक कमाउने र गुमाउने कम्पनी 
यो साता सर्वाधिक कमाउनेमा समाज लघुवित्तका लगानीकर्ता छन्।

लघुवित्तका लगानीकर्ताले यो साता उच्च दरले कमाउन सफल रहे। पछिल्लो समय यस लघुवित्तको सेयरमूल्य निरन्तर उकालो लाग्दै प्रतिकित्ता सेयरमूल्य १४८६ रुपैयाँ पुगेको छ। 

त्यसैगरी, बोटलर्स नेपाल (बालाजु) लगानीकर्ता छन्। यस साता यस कम्पनीका लगानीकर्ताले ४५ प्रतिशत बढीका दरले कमाए।

साथै, जोशी हाइड्रोपावर, सुपर माई हाइड्रोपावर, बलेफी हाइड्रोपावर र डोल्टी पावर कम्पनीका लगानीकर्ताले उच्च दरले कमाउन सफल देखिए। 

यो साता नेप्सेमा सर्वाधिक गुमाउनेमा गुराँस लघुवित्त, एनआईसी एसिया, सोनापुर मिनिरल एण्ड आयल, नेपाल वेयरहाउजिङ कम्पनी र हिमालयन डिस्टिलरीका लगानीकर्ता छन्।  

सर्वाधिक कारोबार गर्ने हिमालयन रि
यो साता हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ। यो साता यस कम्पनीको १ अर्ब ५७ करोडको कारोबार भएको छ। 

त्यसैगरी यो साता एनआरएन इन्फास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको ४७ करोड ५७ लाख, सगरमाथा जलविद्युतको ४३ करोड ६४ लाख, एनआईसी एशियाको ४२ करोड ३३ लाख र सानोपुर मिनिरल एन्ड आयलको ३९ करोड २७ लाखको कारोबार भएको छ। 

फ्लोरसिट विश्लेषण गर्दा यस साता माग भएको सेयरको सूचीमा शीर्ष स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन रि–इन्स्योरेन्स र हिमाल दोलखा हाइड्रोपावरको यो साता सर्वाधिक सेयर डिमान्ड रहेको छ।

त्यसैगरी, यो साता सर्वाधिक डिमान्ड रहेका कम्पनीको सप्लाई अर्थात् बिक्रीचाप समेत उच्च नै देखिएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .