ad ad

कारोबार


प्राधिकरणको अध्यक्ष माघमै नियुक्तिको तयारी, पूर्वसचिवदेखि मन्त्रीकै सल्लाहकार प्रतिस्पर्धी

प्राधिकरणको अध्यक्ष माघमै नियुक्तिको तयारी, पूर्वसचिवदेखि मन्त्रीकै सल्लाहकार प्रतिस्पर्धी

नेपालखबर
माघ २२, २०८० सोमबार १८:४४, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणले माघ महिनाभित्रै अध्यक्ष पाउने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन परेका २५ जनामध्ये एक हप्ताभित्रै अध्यक्ष नियुक्त गर्ने तयारी गरेको हो। 

मन्त्रालयका सचिव रामकृष्ण सुवेदी नेतृत्वको छनोट समितिले माघ १४ गते आवेदन माग गरेकोमा हालै अवकाश भएका सचिवदेखि मन्त्रीकै सूचना प्रविधि सल्लाहकार प्रतिस्पर्धी देखिएका छन्। पुरुषोत्तम खनालले राजीनामा दिएपछि खाली भएको पदमा मन्त्रालयले एक हप्ताभित्र आवेदन दिन माग गरेको थियो। 

‘प्राधिकरणको अध्यक्षको लागि हालसम्मकै धेरै प्रतिस्पर्धी देखिएका छन्’, सञ्चार मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले भने, ‘आवेदकले बुझाएको व्यावसायिक योजना, प्रस्तुतीकरण र अन्तर्वार्ताबाट ३ जनाको लिस्ट तयार हुन्छ।’

मन्त्रालयले २५ जना आवेदकले मापदण्डको विषयमा अध्ययन गरिरहेको छ। मन्त्रालयले ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्तिले आवेदन दिनसक्ने व्यवस्था गरेको थियो। अध्यक्षको योग्यतामा शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव भएको हुनुपर्नेछ। 

सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा स्नातक गरी प्रथम श्रेणी, दशौँ तहभन्दा माथि काम गरेको अनुभव प्राप्त गरेको हुनुपर्नेछ।

‘व्यावसायिक योजना हेरेर एक जनाको अन्तर्वार्ता २५ देखि ३० मिनेटसम्मको हुन्छ। एक हप्तामै टुंग्याएर मन्त्रिपरिषद् लैजाने तयारी छ’, मन्त्रालयका एक अधिकारीले भने। 

आवेदन दिँदा ५ हजार शब्दको व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ। सचिव रामकृष्ण सुवेदी, विज्ञको रुपमा पूर्वसचिव हरिप्रसाद बस्याल र सदस्य सचिवमा मन्त्रालयकै सहसचिव बाबुराम भण्डारीले तीन जनाको सूची तयार गर्नेछन्।    

मन्त्रालयका अनुसार आवेदन दिनेमा नेपाल टेलिकम, दूरसञ्चार प्राधिकरण र मन्त्रालयमा प्राविधिक जिम्मेवारी सम्हालेका बहुसंख्यक रहेको मन्त्रालयले जनाएको छ। 

प्राधिकरणको मुख्य दाबेदार रहेका प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले आवेदन दिएका छैनन्। मन्त्रीकै सल्लाहकार भूपेन्द्र भण्डारीले अध्यक्षको लागि आवेदन दिएसँगै उनी पछि हटेको प्राधिकरणका कर्मचारी बताउँछन्।   

मुख्य दाबेदार सञ्चारमन्त्रीका सल्लाहकार भण्डारी 
भूपेन्द्र भण्डारी २०८० असारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सल्लाहकारमा नियुक्त भएका थिए। 

भण्डारी मन्त्रीकै गृह जिल्ला दाङ स्थायी ठेगान हो। उनी ८ वर्ष स्मार्ट मोबाइल बुरुन्डी, १४ महिनामा इन्टरग्रुप टेलिकम, पे नेपालमा करिब ६ महिना काम गरेका छन्। 

‘मन्त्रीसँगको सल्लाहमै अध्यक्ष बन्नको लागि आवेदन दिनुभएको हो’, मन्त्रीनिकट एक उच्च अधिकारीले भने, ‘उहाँ पार्टीगतभन्दा पनि विज्ञको हिसाबले सल्लाहकार हुनुभएको थियो। सक्षम भए अध्यक्ष हुन सक्नुहुन्छ।’

२०७५ सालमा पुरुषोत्तम खनालसँगै प्राधिकरणको अध्यक्षमा प्रतिस्पर्धी रहेका थिए। भण्डारीले एनसेलमा कन्सल्टेन्टको रुपमा समेत काम गरेका थिए। 

‘उहाँले एनसेलमा ५–६ महिना मात्रै काम गर्नुभएको हो। त्यसैले त्यहाँबाट परिचालित भन्ने भाष्य बनाउनुहुँदैन’, ती अधिकारीले भने। 

प्राधिकरणमा एनसेलको सेयर व्यवस्थापन, एमडीएमएस, टेरामक्सको विषय टुंग्याउनुपर्नेछ। प्राविधिक जानकारी नभएकाले प्राधिकरणको नेतृत्व सम्हाल्न अप्ठ्यारो हुने देखिन्छ।

‘मन्त्रालयले नियुक्त गर्दा प्राविधिक ज्ञानसँगै व्यवस्थापनको अनुभवी व्यक्ति उपयुक्त हुन्छ’, मन्त्रालयका अर्का अधिकारीले भने, ‘कानुन र प्रशासनमा अनुभव भएकोले मात्रै प्राधिकरणको नेतृत्व गर्न गाह्रो हुन्छ।’

अध्यक्षमा नियुक्तिको चासो राजनीतिक मात्रै नभई व्यावसायिक शक्ति केन्द्रले समेत राख्ने गरेका छन्। 

अवकाशप्राप्त सचिवदेखि प्राधिकरणका बोर्ड सदस्यसम्म प्रतिस्पर्धी 
अध्यक्षको लागि आवेदन दिने डा दामोदर रेग्मी पूर्वसचिव हुन्। उनले गत कात्तिकमा सचिवबाट अवकाश पाएका थिए। पछिल्लो समय सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहेका उनी ०७८ असारमा सचिवमा बढुवा भएका थिए। उनी प्रशासनिक कामकाजको अनुभव भए पनि प्राविधिक निकाय सञ्चालन गर्न अप्ठ्यारो हुने बताए।  

गोकर्णप्रसाद सिटौला नेपाल दूरसञ्चार प्राधिकरणका सदस्य हुन्। प्राधिकरणको लेखातर्फका सदस्य हुन्। सिटौला नेपाल टेलिकमका पूर्वनायब प्रबन्धनिर्देशक हुन्। २०७९ असारमा प्राधिकरणको सदस्यमा नियुक्त भएका थिए।

अर्का प्रतिस्पर्धी श्रीकृष्ण सुवेदी लुम्बिनीका मुख्य न्यायाधिवक्ता भएका थिए। २०७८ मा गठबन्धन सरकारले उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको थियो। सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोगका पूर्वसदस्य समेत हुन्। 

गिरेन्द्रराज अधिकारी प्राधिकरणकै पूर्वबोर्ड सदस्य हुन्। सुरेशकुमार कार्की यसअघि प्राधिकरणकै अध्यक्ष बन्न सर्ट लिस्टमा परेका निवेदक हुन्। डोलेन्द्रप्रसाद शर्मा साझा प्रकाशनका पूर्वमहानिर्देशक हुन्। नगेन्द्रकुमार दास सुनिल पौडेल नेपाल टेलिकमको प्रबन्धनिर्देशक नियुक्त हुँदा प्रतिस्पर्धामा थिए।

सिंहदरबार वैद्यखानाका पूर्वकार्यकारी निर्देशक रामदेव यादव समेत प्राधिकरणको अध्ययक्ष बन्न निवेदन दिएका छन्। 

डा. शैलेन्द्र गिरी सुशासन तथा सूचना प्रविधि विज्ञ हुन्। उनले अध्यापनसँगै विभिन्न सञ्चारमाध्यममा सूचना तथा प्रविधिसम्बन्धी नियमित लेख प्रकाशित हुने गरेका छन्। 

विराटनगरका पंकजकुमार दासले नेपाल आयल नियमको कार्यकारी निर्देशक, राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धक, जडीबुटी कम्पनीको महाप्रबन्धकमा समेत आवेदन दिएका थिए। 

अघिल्लो पटक प्राधिकरणको अध्यक्ष बन्न आवेदन दिनेमा नन्दविक्रम अधिकारी, रोहित रौनियार, प्रकाश बराल, अनिल झाले पुनः आवेदन दिएका छन्। 

२०७९ मा बोर्डको सदस्यमा प्राविधिक तर्फबाट आवेदन दिएका सागरनाथ उपाध्याय र लेखातर्फ आवेदन दिएका लक्ष्मीप्रसाद पण्डितले अध्यक्षकै लागि आवेदन दिएका छन्। 

त्यस्तै आवेदन दिनेमा मैनेजर प्रसाद साह कानु, देवनारायण यादव, माधवप्रसाद रेग्मी, सुशील ओझा, नविन जिसी, जनार्दन भट्ट, चित्रसिंह बुढाथोकी मगर र कमलप्रसाद खनाल रहेको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .