ad ad

कारोबार


बैंकिङ क्षेत्रमा चुलिँदै समस्या, खुम्चिँदो व्यवसायको कस्तो पर्ला असर?

बैंकिङ क्षेत्रमा चुलिँदै समस्या, खुम्चिँदो व्यवसायको कस्तो पर्ला असर?

फाइल तस्बिर


नेपालखबर
माघ १८, २०८० बिहिबार ६:३९, काठमाडौँ

अर्थतन्त्रमा देखिएको शिथिलताको असर बैंकहरूको व्यवसायमा देखिन थालेको छ। चालु आर्थिक वर्षको ६ महिना (पुस मसान्त)सम्म  घट्दो व्यवसायले बैंकिङ क्षेत्रमा समस्या बढ्न थालेको देखिएको हो। 

व्यवसाय खुम्चिएसँगै रिकोभरीमा देखिएको समस्याले बैंकिङ क्षेत्रमा खराब कर्जा डरलाग्दो अवस्थामा पुगेको छ।

केन्द्रीय बैंकको सहुलियतले बैंकहरूले थोरै भए पनि खराब बढ्न नदिने मौका पाए। तर, तेस्रो त्रैमासमा बढेको खराब कर्जाले बैंकहरूको यथार्थ चित्र देखाउने नै छ। 

चैतसम्मको लागि बैंकहरूलाई केन्द्रीय बैंकले कर्जा पुनःरसंरचाको व्यवस्था गरिदिएकाले उनीहरूले खराब कर्जा मिलाउने मौका पाएका हुन्। 

चालु आवको सुरुवातदेखि नै कर्जा ठप्प पारी रिकोभरीमा लागेका बैंकहरूले नाफा बढाउन सकेका छैनन्। नयाँ व्यवसाय खुम्चिँदा आगामी समयमा नाफा एकाएक बढ्ने पनि सम्भावना छैन।

यतिबेला अधिकांश बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक छ।

बैंकहरूले वितरणयोग्य मुनाफाबाट नै सेयरधनिलाई लाभांश दिने गर्छन। वितरणयोग्य मुनाफा ऋणात्मक रहेका बैंकहरूले लाभांश दिने सम्भावना कम हुन्छ। 

व्यवसाय खुम्चिरहेको अवस्थामा एकाएक नाफा बढ्ने र वितरणयोग्य मुनाफा सकारात्मक बन्ने अवस्थासमेत छैन।

यससँगै १३ वाणिज्य बैंकको व्यवसाय खुम्चिएको छ। अन्य ७ बैंकले भने सामान्य व्यवसाय बढाएका छन्।

व्यवसाय घट्ने र रिकोभरीको समस्यासँगै खराब कर्जाको वृद्धिले बैंकिङ क्षेत्रमा थप समस्या चुलिन थालेको देखिन्छ।

महँगोमा उठाएको निक्षेपको भार बोकिरहेका बैंकहरूले कर्जाको माग नहुँदा केन्द्रीय बैंकको ट्रेजरी बिलमा लगानी गरिरहेका छन्। 

यस अवधिमा एनआइसी एशिया बैंक, सानिमा बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक, नबिल बैंक र माछापुच्छ्रेले व्यवसाय बढाउन सफल भए। 

आक्रामक नबिल र एनआईसी एशिया 
पछिल्लो ६ महिनामा नबिल र एनआईसी एशिया बैंक व्यवसाय विस्तार आक्रामक देखिएका छन्। यी दुवै बैंकले ६ महिनामा २२/२२ अर्बको व्यवसाय बढाएका हुन्।

त्यसैगरी, प्राइम कमर्सियल बैंकले ८ अर्ब, कृषि विकास बैंकले ५ अर्ब, सिटिजन्स बैंकले ५ अर्ब, माछापुच्छ्रे र सानिमा बैंकले १ अर्बले व्यवसाय बढाउन सफल भए। 

व्यवसाय खुम्चिएका बैंक
पछिल्लो ६ महिनामा एनएमबि बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, हिमालयन बैंक, स्टान्डर्ड चाटर्ड बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइन र राष्ट्रिय वाणिज्य बैंकको व्यवसाय घटेको छ। 

पछिल्लो ६ महिनामा स्टान्डर्ड चाटर्ड बैंकको व्यवसाय सबैभन्दा धेरै १७ अर्बले घटेको छ। त्यसैगरी, कुमारी बैंकको १४ अर्ब, प्रभु बैंकको ११ अर्ब, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८ अर्ब, लक्ष्मी सनराइजको ७ अर्ब, हिमालयनको ६ अर्ब, राष्ट्रिय वाणिज्य बैंकको ४ अर्ब, नेपाल बैंकको ३ अर्ब, ग्लोबलको १ अर्ब, नेपाल एसबिआईको १ अर्ब र एनएमबि बैंकको व्यवसाय ३ अर्बले खुम्चिएको छ। 

यता, सिद्धार्थ बैंक र एभरेस्ट बैंकको व्यवसाय धेरै थपघट भएको देखिँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .