ad ad

कारोबार


पैदलमार्गमा अवरोधै अवरोध, कसरी सुधार गर्दै छ काठमाडौं महानगर?

पैदलमार्गमा अवरोधै अवरोध, कसरी सुधार गर्दै छ काठमाडौं महानगर?

नेपालखबर
माघ १४, २०८० आइतबार १२:४६, काठमाडौँ

सडक किनारालाई पैदल यात्रीमैत्री बनाउन विकास साझेदारले बनाएका पूर्वाधारलाई कसरी व्यवस्थापन गर्ने चुनौती देखिएको छ। 

बिजुलीका पोल, खानेपानीका पाइप, ढल निकासको मंगाल पैदलमार्गको बीचमै भएका कारण ब्लक राख्न नमिल्नु यसका केही उदाहरण हुन्। 

शनिबार उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सदस्य बाबुराम भट्टराईसहित योजना, अनुगमन तथा मूल्याङ्कन एकाइका अधिकारीसहित सिनामंगल क्षेत्रमा अनुगमन गर्दा यस्तो अवस्था पाइएको हो। 

‘सहरलाई हिँड्ने संस्कृतिले चलायमान बनाउँछ। सवारी साधन सबैले प्रयोग गर्न नसक्न सक्छन् तर, पैदल मार्गमा सबैले हिँड्नुपर्छ। यसका लागि पैदल मार्गलाई सहज र पहुँचयुक्त बनाउने पर्नेछ’, उपप्रमुख डंगोलले भनिन्, ‘हामी लगानी गरिरहेका छौँ। सहरी सुविधा वितरणका लागि पूर्वाधार बनाउने अन्य निकायका संरचनाले पैदल मार्गमा बाधा सिर्जना गरेका छन्।’ 

योजना अनुगमन तथा मूल्याङ्कन एकाइलाई निर्देशन दिँदै उनले भनिन्, ‘यस्ता वाधा हुने संरचना सार्न वा हटाउन सम्बन्धित कार्यालयलाई पत्राचार गर्नुहोला।’

यस सडक खण्डमा पहिले षट्कोण ब्लक राखिएको थियो। ठाउँ ठाउँमा ब्लक फुटेको, भासिएको, उप्किएका कारण हिँड्न कठिन थियो। यसलाई सुधार गर्दै मल्टिकलर ब्लक राखेर सुन्दर बनाइँदै छ। यति प्रयास गर्दा पनि कतिपय ठाउँमा व्हील चेयर गुडाउन सक्ने वातावरण बन्न सकेको छैन। बिजुली, खानेपानी, ढल निकास जस्ता संरचना बनाउँदा छुट्टाछुट्टै योजनाबाट काम भएकोले चौडाइ नपुगेर, पोल, खम्बा तथा मंगालजस्ता संरचना एकै ठाउँमा परेर यस्तो भएको हो। यस्ता साँघुरा ठाउँमा सम्भव भएसम्मका संरचना काटेर चौडाइ पु¥याउने प्रयत्न गरिएको छ।

अनुगमनका क्रममा तीनकुनेदेखि उत्तर गौशालासम्म चक्रपथ पश्चिमतर्फको २ किलोमिटर र सिनामंगल चोकदेखि पश्चिम भीमसेनगोला पुलसम्म ५ सय मिटर दुईतर्फ फुटपाथ निर्माण कार्य हेरिएको थियो। निर्माण थालनी हुँदै गरेको, निर्माण भइरहेको र सम्पन्न भएको सडक खण्डमा प्रयोग गरिएका निर्माण सामग्री, निर्माण विधि तथा तोकिएको मापदण्डको पालनालाई सूचक बनाएर अवस्था जाँच गरिएको थियो। 

यस क्रममा आयोगका उपाध्यक्ष डा. राजभण्डारीले भने, ‘पैदल मार्गबाट दृष्टिविहीन व्यक्ति सजिलै गन्तव्यमा पुगून् भन्ने हो। निर्माणका क्रममा ब्रेल ब्लव राख्ने क्रममा केही त्रुटि देखिएको छ। यसलाई सुधार गर्नुपर्छ। काम गर्दा सक्नका लागि मात्र होइन, उपयोग पनि होस भन्ने सोच्नुपर्छ।’ 

फुटपाथको लम्बाइ ३ किलोमिटर हो। आयोजना निर्माणका लागि भ्याटसहित ६ करोड ५७ लाख रुपैयाँमा सम्झौता भएको छ। अनुगमनका क्रममा चौडाइ कम देखिएको १४ ठाउँमा र विभिन्न ७ ठाउँमा छापिएका ब्लक उप्काएर बेसको मोटाइ मिटर जाँच गरिएको थियो। तीनकुने गौशाला चक्रपथ चार लेनको सडक भएको र सिनामंगलदेखि भीमसेनगोला पुलसम्मको सडक दुई लेनको छ। दुई लेनको दायाँबायाँ वस्ती र बजार छ। 

अनुगमन गरिएको खण्डका ४ ठाउँमा सडकको बिचमै विजुलीका पोल भेटिए। ढलको मंगाल भएका कारण १२ ठाउँमा ब्लक राख्न नमिल्ने अवस्था छ। ब्लक राख्ने क्रममा २ ठाउँमा डट ब्लक हाल्नुपर्ने ठाउँमा लेन ब्लक हालेको देखियो। यस्तै ४ ठाउँमा उपयुक्त विधिबाट डट ब्लक नराखेको देखियो। 

१० ठाउँमा घरधनीले स्लोप संरचना बनाएर सडक किनारासम्मका लगेको भेटियो। १ ठाउँमा खानेपानीको पाइप सडकमै देखियो। यस्ता संरचनाले पैदल यात्रुलाई ठेस लाग्ने, ठोकिने खतरा छ। फुटपाथको सतहभन्दा निकै तल घर संरचना रहेका ५ ठाउँमा पैदलयात्री खस्न सक्ने जोखिम देखिएको छ। रेलिङका रुपमा प्रयोग गरिएका फलामे डण्डी हल्लिएको अवस्थामा छन्। 

दुईतर्फी १ किलोमिटर सडक पेटीको ३५ ठाउँमा व्यक्तिगत घर संरचनाका कारण २ मिटर चौडाइ पुग्न सकेको छैन। अनुगमन गरिएको ठाउँमा हेर्दा करिब २० प्रतिशत ठाउँमा चौडाइ कम हुने देखिएको छ। 

यस्ता संरचनालाई बलियो जडान गर्न टोलीले निर्देशन दिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .