ad ad

कारोबार


सर्वाधिक कारोबार गर्ने हिमालयन रि, कुन–कुनको सेयर धेरै माग?

७१.७३ अंकले घट्यो सूचक, २५ अर्ब ५४ करोडमा खुम्चियो कारोबार
सर्वाधिक कारोबार गर्ने हिमालयन रि, कुन–कुनको सेयर धेरै माग?

नेपालखबर
माघ १३, २०८० शनिबार ८:५९, काठमाडौँ

यो साता पाँच कारोबार दिन नै बजार घट्यो। गत साता २१५५.८२ विन्दुमा बन्द भएको बजार यो साता पाँचवटै कारोबार दिन घटेर २०८४.०९ विन्दुमा झरेर बन्द भएको छ।

समग्रमा यो साता बजार ७१.७३ अंक अर्थात् ३.४२ प्रतिशतले घटेको हो। यो साता नेप्से परिसूचक घटेसँगै कारोबार समेत खुम्चिएको छ। 

यो साता कारोबार घटेर २५ अर्ब ५४ करोड खुम्चिएको छ। गत साता बजारमा ३१ अर्ब माथिको कारोबार भएको थियो। गत साता चार दिन खुलेको बजामरा ३१ अर्ब बढीको कारोबार भएको थियो। 

गत साताको मंगलबार २१७५ विन्दु पुगेको बजार दोस्रो दिन अर्थात बुधबार कारोबार अवधिमा २२ सय नाघ्यो तर सोही विन्दुमा टिक्न सकेन। बजार २२ सय विन्दु पुग्नासाथ सेलिङ प्रेसरले सोही दिन बजार १२.१० अंकको गिरावट आयो। 

त्यसयता बजार निरन्तर ओरालो लागिरहेको छ। बजार घट्दै जादा कारोबार समेत खुम्चिन थालेको हो। बजारसँगै घट्दो कारोबारले बजार धेरै तल नजाने सकेत गर्छ। यसअघि बजार घटेर १८ सय विन्दु आउने र बढ्दा २२ सय पुग्ने ट्रेन्ड थियो।

तर, अब बजार घट्दा पनि २०५० विन्दु तल नजाने जानकार बताउँछन्। घट्दो कारोबारले लगानीकर्ताको मनोविज्ञान बलियो हुन थालेको देखिन्छ। 

पछिल्लो दुई सातामा बजार २०० अंकले बढ्दा लगानीकर्ता नाफा बुक तिर लाग्दा २२ सय नपुगेर बजार फर्किएको उनीहरुको भनाइ छ।

त्यसयता ओरालो लागेको बजार ४ प्रतिशतले घटिसकेको छ। उच्च अंकले बढेको बजारमा ४ प्रतिशतसम्मको गिरावटलाई सामान्य मानिन्छ। लगानीकर्ताले २२ सय विन्दुलाई मनोवैज्ञानिक रुपमा हेरेको हुँदा बजारमा केही ‘करेक्सन’ आउनु सामान्य नै मानिन्छ।

पछिल्लो समय बजार अनुकूलको परिस्थिति बन्दै गएको उउनीहरुको तर्फ छ।  घट्दो ब्याजदर, मौद्रिक नीतिको लचकता, बैंक तथा वित्तीय संस्थामा रहेको अधिक तरलता, संस्थागत लगानी खुकुलो हुनु र बाह्य क्षेत्रमा देखिएको सुधारले बजार अनुकूल नै रहेको उनीहरुको तर्क छ। 

पछिल्लो समय आईपीओ सूचीकृत गरी कारोबारमा आएका कम्पनीहरुको यो साता आपूर्ति बढ्दा बजारमा प्रभाव देखिएको छ। धेरै समयसम्म यस्ता कम्पनीको आपूर्ति नहुँने हुँदा बजार सकारात्मक नै हुने जानकार बताउँछन्।

१२ उपसूचकमा गिरावट  
यस साता १३ वटा उपसूचक मध्ये होटल परिसूचक बढ्दा अन्य १२ घटेका छन्। यस साता नेप्से परिसूचक र कारोबार घट्दा पनि होटल परिसूचक भने बढेको छ। यस साता होटल उपसूचक ६६.७९ अंकले बढेको छ।

अन्य ११ परिसूचकमा उच्च गिरावट देखिएको छ। यस साता निर्जीवन उपसूचक २३५.०८ अंकले घटेको छ।

त्यसैगरी, लाइफ इन्स्योरेन्स उपसूचक ३१७.३५, उत्पादन तथा प्रशोधन १८६.९५,डेभलपमेन्ट बैंकको उपसूचक २०६.३५ माइक्रोफाइनान्स १५८.४७ अंक, ट्रेडिङ ३०.९३ अंक, हाइड्रोपावर १०९.९९ अंक, फाइनान्स ४४ अंक, अन्य उपसूचक ४१.६३ अंक, बैंकिङ उपसूचक ४३.९७ अंक, इन्भेष्टमेन्ट ४.६९ अंक र म्युचुअल फण्ड उपसूचक ०.४अंकले घटेको छ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी
यो साता सर्वाधिक कमाउनेमा मिड सोलु हाइड्रोपाव कम्पनीका लगानीकर्ता छन्। यस साता यस कम्पनीका लगानीकर्ताले झन्डै ३० प्रतिशतका दरले कमाउन सफल रहे।

त्यसैगरी, समाज लघुवित्तका लगानीकर्ताले २२.७० प्रतिशत, चन्द्रागिरि हिल्स कम्पनीको  लगानीकर्ताले ९ प्रतिशत, नेपाल ल्युब आयलका लगानीकर्ताले साढे ८ प्रतिशत र गणपति लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाउन सफल देखिएका छन्।

यो साता नेप्सेमा सर्वाधिक गुमाउनेमा सीईडीबी हाइड्रोपावरका लगानीकर्ता रहेका छन्। यो साता यस कम्पनीको सेयरमूल्य सर्वाधिक १३ प्रतिशतले घटेको छ।

त्यसैगरी, यो साता गुमाउनेमा हाथवे इन्भेष्टमेन्ट कम्पनी, मौलुङ हाइड्रोपावर, जाल्पा लघुवित्त र तेह्रथुम पावर कम्पनीका लगानीकर्ता छन्।  

सर्वाधिक कारोबार गर्ने हिमालयन रि, कसको सेयर धेरै माग? 
यो साता हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ। यो साता यस कम्पनीको २ अर्ब ४४ करोडको सेयर किनबेच भएको छ। 

त्यसैगरी यो साता ङादी हाइड्रोपावरको ९३ करोड १० लाख, अपी पावर कम्पनीको ८३ करोड ११ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको ५२ करोड ५१ लाख, अरुण काबेलीको ६१ करोड ७७ लाख र सोनापुर मिनरल्स आयलको ५९ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता माग भएको सेयरको सूचीमा शीर्षस्थानमा हिमालयन रि–इन्स्योरेन्स कम्पनी छ।

त्यसैगरी, अपी पावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर माग उच्च देखिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .