ad ad

कारोबार


साताको सेयर : ६६ अंकले बढ्यो नेप्से, ३१ अर्ब नाघ्यो कारोबार

साताको सेयर : ६६ अंकले बढ्यो नेप्से, ३१ अर्ब नाघ्यो कारोबार

नेपालखबर
माघ ६, २०८० शनिबार ७:२६, काठमाडौँ

यो साता कारोबार अवधिमा सेयर बजार २२ सय विन्दु नाघ्न सफल भयो। कारोबार अवधिमा २२ सय विन्दु उक्लिए पनि अडिन भने सकेन। 

यद्यपि कारोबार रकम भने उल्लेख्य मात्रामा बढेको छ। यो साता कारोबारले ३० अर्ब नाघेको छ। जुन पछिल्लो दुई वर्षमा पहिलोपटक हो।  

गत साता २०८८.९९ विन्दुमा बन्द भएको बजार यो साता ६६.८३ अंकले बढेर २१५५.८२ विन्दुमा पुगेको हो। यो साता चार दिन नै कारोबार भयो।

३१ अर्ब ४० करोडको कारोबार
चार दिन खुलेको बजारमा २ दिन बढ्यो भने २ दुई घट्न पुग्यो। नेप्से परिसूचक बढेसँगै कारोबार पनि उल्लेख्य बढेको छ। यो साता बजारमा ३१ अर्ब ४० करोडको कारोबार भयो। 

गत साता नेप्से परिसूचक ३९.३१ अंकले बढेको थियो भने कारोबार २४ अर्ब ७४ करोडको कारोबार भएको थियो। गत साता पाँच दिन नै कारोबार भएको थियो।

गत साता पाँच दिन खुलेको कारोबार यो साता चार दिनमा खुम्चिँदा समेत कारोबार रकम झण्डै ७ अर्बले बढेको हो। यो साता नेप्से परिसूचकसँगै कारोबार वृद्धिले सकारात्मक लय समातेको जानकार बताउँछन्। 

पछिल्लो दुई वर्षयता बजार न्यून १८ सय विन्दु झरेर माथि उक्लिने र उच्च २२ सयको विन्दु छोएर फर्किने ट्रेन्ड चलेकाले अहिले पनि बजारमा ‘सेलिङ प्रेसर’को कारण २२ सय विन्दुमा अडिन नसकेको उनीहरुको भनाइ छ। 

तर, बढ्दो कारोबारले लगानीकर्ताको मनोबल सकारात्मक बनाएको छ। बढ्दै गरेको बजारमा आएको ‘करेक्सन’ले बजार थप बलियो बन्ने हुन्छ। ट्रेडरले २२ सय विन्दुलाई मनोवैज्ञानिक रुपमा हेरेको हुँदा बजारमा केही ‘करेक्सन’ आएको उनीहरु बताउँछन्। 

पछिल्लो समय आईपीओ सूचीकृत गरी कारोबारमा आएका कम्पनीहरुको समेत राम्रो ‘डिमान्ड’ छ। जसले बजार साढे २१ सय विन्दुमा अडिन मद्दत पुगेको हो। यी कम्पनीको सेयरमा बिक्री चाप देखिनथाले भने बजारमा असर पर्ने देखिन्छ। 

पछिल्लो समय मौद्रिक नीतिको लचकता, बैंक तथा वित्तीय संस्थामा रहेको अधिक तरलता, बीमक लगानीकर्ताको यस क्षेत्रमा लगानीको सीमा बढाउनु र बाह्य क्षेत्रमा देखिएको सुधारले बजार सकारात्मक बन्ने उनीहरुको तर्क छ। साथै, घट्दो ब्याजदरले बजारमा सकारात्मक प्रभाव देखिने आकलन गर्न सकिन्छ। पुस मसान्तको दबाब झलेका लगानीकर्ताले माघमा थप कर्जा थप्ने र लगानी बढाउने गर्छन्। 

आगामी साता हिमालयन रि–इन्स्योरेन्स, निफ्रा, नेपाल टेलिकम कम्पनीका लगानीकर्ताको मनोबलले बजार २२ सय माथि उक्लिने र फेरि २१ सयको लाइनमा फर्काउने भन्ने बुझ्न सकिन्छ। 

गत पुस २३ गतेबाट कारोबारमा आएको हिमालयन रि–इन्स्योरेन्स प्रतिकित्ता सेयरमूल्य ६ सय नाघिसकेको छ। पछिल्लो दुई सातादेखि सर्वाधिक डिमान्ड रहेको यस कम्पनीको पछिल्लो दुई दिनमा २ अर्ब ४८ करोडको सेयर किनबेच भइसकेको छ। 

आगामी दिनमा डिमान्ड तुलनामा सप्लाइ धेरै भए त्यसले पनि बजारमा असर गर्ने देखिन्छ। ठूलो भोल्युम भएका कम्पनीमा सप्लाई बढ्न थाले त्यसले बजार घट्ने देखिन्छ। 

सर्वाधिक कमाउने र गुमाउने कम्पनी
यो साता सर्वाधिक कमाउनेमा हिमालयन रि इन्स्योरेन्सका कम्पनीका लगानीकर्ता छन्। यस साता यस कम्पनीका लगानीकर्ताले ४४.२८ प्रतिशतका दरले कमाउन सफल रहे।

त्यसैगरी, रिडी हाइड्रोपावरका लगानीकर्ताले २८.५७ प्रतिशत, लिबर्टी इनर्जी कम्पनीको २५.९६ प्रतिशत, नेपाल वेयरहाउजिङको २५.३८ प्रतिशत र ङादी ग्रुपका लगानीकर्ताले २२.८६ प्रतिशतका दरले कमाउन सफल देखिएका छन्। 

यो साता नेप्सेमा सर्वाधिक गुमाउनेमा मिड सोलु हाइड्रोपावरका लगानीकर्ता रहेको छन्। यो साता यस कम्पनीको सेयरमूल्य सर्वाधिक ९.०७ प्रतिशतले घटेको छ।

त्यसैगरी, यो साता गुमाउनेमा भूगोल इनर्जी डेझपमेन्टक कम्पनी, नेपाल बैंकका ऋणपत्र, इस्टर्न हाइड्रोपावर र बुद्धभूमि हाइड्रोपावरका लगानीकर्ता छन्।  

सर्वाधिक कारोबार गर्ने हिमालयन रि
यो साता हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ। यो साता यस कम्पनीको २ अर्ब ४८ करोडको सेयर किनबेच भएको छ। 

त्यसैगरी यो साता सोनापुर मिनरल्स आयलको १ अर्ब १२ करोड, सिटिजन्स लाइफको ८६ करोड ६५ लाख, न्याङदी हाइड्रोपावरको ८० करोड ५ लाख र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ६५ करोड ३२ लाखको सेयर किनबेच भएको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता माग भएको सेयरको सूचीमा शीर्षस्थानमा हिमालयन रि–इन्स्योरेन्स कम्पनी छ। त्यसैगरी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर माग उच्च देखिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .