ad ad

कारोबार


दुबईमा डेरा जमाउँदै छन् एसियाका धनाढ्य

धन थन्क्याउने ठाउँ बनेपछि धमाधम कार्यालय विस्तार गर्दै सम्पत्ति व्यवस्थापक
दुबईमा डेरा जमाउँदै छन् एसियाका धनाढ्य

नेपालखबर
पुस २५, २०८० बुधबार १८:४२, काठमाडौँ

चीन र मध्यपूर्वी देशबीचको न्यानो कूटनीतिक सम्बन्धको फाइदा उठाउँदै बढ्दो संख्यामा एसियाका सम्पत्ति व्यवस्थापकहरू दुबईमा धमाधम कार्यालय खोलिरहेका छन्।

भौगोलिक विविधताका लागि समेत ग्राहकहरूबाट उच्चतम माग भएकाले पनि उनीहरूले दुबईमा कार्यालय खोलेका हुन्। 

खाडी क्षेत्रकै एक प्रमुख आर्थिक ‘हब’ दुबई एसिया र मुख्य गरी चीनका धेरै उद्यमी तथा धनाढ्य परिवारको लागि रोजाइ बनिरहेको छ। जहाँको सहज नीतिको फाइदा लिँदै उनीहरू आफ्नो व्यवसाय पनि बढाउन चाहन्छन्। 

उदाहरणका लागि, ग्राहकहरूको २३ अर्ब डलर हाराहारीको सम्पत्ति हेरिरहेको चीनकै ठूलोमध्येको एक सम्पत्ति व्यवस्थापक नोह होल्डिंग्सले यस वर्षको अन्त्यसम्म दुबईमा व्यवसाय अनुमतिपत्र पाउने आशामा रहेको यसका प्रमुख वित्तीय अधिकृत चिङ पान बताउँछन्। 

उनका अनुसार, दुबईमा रहने आफ्नो कम्पनीको कार्यालयले त्यहाँको बजारमा व्यवसाय गर्ने चिनियाँ उद्यमीहरूलाई सेवा दिनेछ। 

सुरुमा चीनबाटै केही कर्मचारी पठाउने र पछि स्थानीय रुपमै लिने कम्पनीको योजना सुनाउँदै पान भन्छन्, ‘नोहको रणनीतिले ग्राहकको बढिरहेको सम्पत्तिलाई पछ्याइरहेको छ। त्यही कारण हामी त्यहाँ हुनेछौँ र स्थानीय रूपमा प्रवाह भएको सम्पत्तिको रेखदेख गर्नेछौँ।’ 

उनकै भनाइमा, धेरै चिनियाँ उद्यमी व्यवसायीहरू नयाँ बजारको खोजीमा छन् र आफ्नो आपूर्ति शृंखलालाई विविधीकरण गर्न खोज्दै छन् भने मध्यपूर्वले दिएका अवसरहरूबाट उत्साहित पनि छन्। 

वासिङटनसँग व्यापार र प्रविधिदेखि मानव अधिकार र ताइवानलगायतसम्मका विविध मुद्दामा असहमति जारी रहँदा बेइजिङलाई मध्यपूर्व अत्यन्त महत्त्वपूर्ण बनिरहेको छ। 

कोभिडपछिको आर्थिक पुनरुत्थान, तटस्थ राजनीतिक अडान, व्यवसायमैत्री र टाइमजोनको अनुकूलता तथा करमुक्त अवस्थालगायतले मध्यपूर्वलाई बितेका वर्षहरूमा धनाढ्य तान्न आकर्षित गरिरहेको छ। 

संयुक्त अरब इमिरेट्स (यूएई)ले भर्खरै मात्र ‘गोल्डेन भिसा’ प्रणालीजस्ता सुविधाहरू ल्याएको छ। दुबईले गत वर्ष मात्रै सांस्कृतिक र शासनसँग जोडिने समस्यासँग जुध्नका लागि धनाढ्य व्यक्तिहरू र व्यवसायलाई मद्दत गर्न ‘फेमिली वेल्थ सेन्टर’ सञ्चालन गरेको थियो। 

परिणामस्वरूप, स्विस निजी बैंक लम्बार्ड अडियरजस्ता पश्चिमा राष्ट्रका सम्पत्ति व्यवस्थापकहरू समेत आप्रवासीहरूको प्रवाह र धनाढ्यहरूको बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै उक्त क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्न चाहिरहेका छन्। 

लगानी अवसर 
एसियामा विशेषतः हङकङ र सिंगापुरलाई लामो समयदेखि धनीहरूका लागि अफसोर सम्पत्ति हबका रूपमा बढी रुचाइएको छ। तर केही ग्राहकहरू भने अहिले अन्य बजारमा व्यवसाय विस्तार गर्न र नयाँ लगानीका अवसर छोप्न खोजिरहेको सम्पत्ति व्यवस्थापकहरू बताउँछन्। 

क्यापजेमिनीको २०२३ को सम्पत्ति प्रतिवेदनअनुसार सन् २०२२ मा उच्च धनाढ्यको विश्वव्यापी संख्या (एचएनडब्ल्यूआई) ३.३ प्रतिशतले घटेर २ करोड १७ लाखमा झरेको छ तर मध्यपूर्वको एचएनडब्ल्यूआई संख्या २.८ प्रतिशतले बढेको छ। 

दुबईमा रहेको सम्पत्ति तथा आप्रवासन परामर्शदाता हेन्ले एन्ड पार्टनर्सका अनुसार, सन् २०२२ मा यूएईमा विश्वका धनाढ्यहरूको आप्रवाह उच्च थियो। सन् २०२३ मा अरू थप ४५ सय जना यस्ता धनाढ्य भित्रिएका थिए। 

यो लहरलाई पछ्याउँदै सिंगापुरमा रहेको फारो क्यापिटलले गत महिना दुबईमा आफ्नो कार्यालय खोलेको थियो। हङकङको साङ ग्रुपका प्रमुख प्याट्रिक साङले पनि सन् २०२२ मा दुबई फोरे खोलेयता आफ्नो कम्पनीले अबुधाबी र साउदी अरेबियाको रियादमा यही वर्ष नयाँ कार्यालय खोल्ने योजना बनाएको बताए। 

हङकङको ल्यान्डमार्क फेमिली अफिसले पनि दुबईमा आगामी महिनाहरूमा एउटा कार्यालय खोल्ने योजना बनाएको छ। यसका संस्थापक तथा प्रमुख कार्यकारी क्यामरन हार्वेले कम्पनीको दुबई कार्यालय चीन, दक्षिण एसिया र अस्ट्रेलियामा रहेका ग्राहकलाई मद्दत गर्न प्रयोग हुन सक्ने बताए। यसले मध्यपूर्वमा लगानीका अवसरहरू खोज्ने उनको भनाइ छ। 

भर्खरैको क्याम्पडेन वेल्थ एन्ड र्‍याफल्स फेमिली अफिसले गरेको ७६ वटा एसिया प्रशान्त क्षेत्रका एकल तथा बहुल पारिवारिक कार्यालयको सर्वेक्षणले मध्यपूर्व क्षेत्रमा उनीहरूको औसत सम्पत्ति वितरण १ प्रतिशत मात्रै रहेको देखाएको छ, जसमा ७ प्रतिशत सहभागीले बढाउन चाहेको प्रतिक्रिया दिएका छन्। 

‘हामी निकै उत्साहको समयमा बाँचिरहेका छौँ, जहाँ परिवारका लागि भूराजनीति पहिलेभन्दा धेरै महत्त्वपूर्ण बनेको छ’, सिंगापुरको फारो क्यापिटलका सहसंस्थापक मनीष टिबडेवालले दुबईको भर्चुअल सम्पत्तिलाई नियन्त्रण गर्ने कदम तथा गोल्डेन भिसा प्रणालीलगायतले यसको आग्रहलाई बढाएको उल्लेख गरे। रोयटर्सबाट 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .