ad ad

कारोबार


मूर्तिकारको बह : दसैँमा अर्डर धेरै आउँछ, तर घाटा खाएर बेच्नुपर्छ

मूर्तिकारको बह : दसैँमा अर्डर धेरै आउँछ, तर घाटा खाएर बेच्नुपर्छ

तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
असोज २७, २०८० शनिबार १९:४७, काठमाडौँ

पंकज शाह र उनका साथीहरुलाई यतिबेला साह्रै चटारो छ।  दसैँ नजिकिँदो छ। मूर्तिको माग बढ्दो छ। 

उनीहरु धमाधम नवदुर्गा भगवती, सरस्वती, लक्ष्मी, कुमार र गणेश तथा तिनका वाहनहरुको मूर्ति बनिरहेका छन्। दसैँको अवसरमा चोक तथा मन्दिरहरुमा देवीदेवताको मूर्ति राखेर विशेष पूजा गर्ने चलन रहिआएको छ।  

त्यसैले घटस्थापना नजिकिँदै गर्दा मूर्तिकारहरुलाई मूर्ति बनाउन भ्याइनभ्याइ हुन्छ। पंकज पनि कुपन्डोलमा पनि मूर्ति बनाउन र सिंगारपटार गर्न व्यस्त छन्। 

जनकपुरका पंकज पछिल्लो ८ वर्षदेखि काठमाडौँमा बस्दै आएका छन्। कान्तिपुर इन्टरनेसनल कलेजमा बीबीए अध्ययनरत पंकजले मूर्ति बनाउन थालेको ३ वर्ष भयो। रहरले मूर्ति बनाउन लागेका पंकज भविष्यमा पनि यसलाई नै पेसा बनाएर अघि बढ्ने योजनामा छन्। 

कोभिड–१९ मा लकडाउनको समयमा कलेजका लागि सरस्वतीको मूर्ति बनाउन पंकज पहिलो पटक गणेश मूर्ति कारखानामा पुगेका थिए। त्यो बेलामा प्रहरीले भिडभाड गर्न हुँदैन भनेर पूजा स्थगित भयो। त्यो बेला नै उनको चिनजान भएको थियो। त्यसपछि उनी मूर्ति बनाउनका लागि त्यहाँ पुग्न थाले। उनको रहर अहिले पेसामा परिवर्तन भैसकेको छ। पंकज मूर्ति बनाउनेसँगै साइट सुपरभाइजरको पनि काम गर्छन्, घर बनाउने, पार्टिसन लगाउने सबै काम गर्छन्।

छोटो समयमा नै उनले परालको खर बाँध्ने, माटो लगाउनेदेखि लिएर रङ लगाउन र मूर्ति बनाउन सिके। त्यसपछि उनको रहर यसमा अझै बढ्न थाल्यो। अहिले त उनी आफैँ मूर्ति बनाउने, रंगरोगन गर्ने र शृङ्गार गर्ने काम गर्छन्। 

एउटा मूर्ति तयार पार्न १५ दिन लाग्ने उनी सुनाउँछन्। काठमाडौँका धेरै ठाउँमा मूर्ति चल्दैन तर काठमाडौंबाहिर मूर्तिको माग बढी हुन्छ।

‘एउटा मूर्तिका लागि फ्रेम बनाउन र पराल बाँध्न एक दिन लाग्छ। दुईतीन दिन माटो लगाउन जान्छ, माटो सुकेपछि त्यसलाई खाक्सी लगाएर चिल्लो बनाएपछि हातहरु जोडेर रंग लगाउन पर्यो,’ उनी भन्छन्, ‘एउटा मूर्ति बनाउन धेरै मेहनत लाग्छ। एउटा मूर्ति तयार पार्न ७०–८० हजार रुपैयाँ लाग्छ। तर लगानी अनुसारको प्रतिफल आउँदैन।’

भने अनुसारको पैसा दिन कोही तयार नहुने र केहीले त आफ्नो खर्च समेत नउठ्ने मूल्यमा मूर्ति माग्ने उनी सुनाउँछन्। 

‘एउटा मूर्तिका लागि एक सयदेखि डेढ सय केजी माटो लाग्छ। मूर्तिका लागि चाहिने माटो कि भक्तपुर कि तराईबाट ल्याउनुपर्छ,’ उनले भने, ‘माटोको दाम नै १८–२० रुपैयाँ प्रतिकिलो पर्छ। आवश्यक काठ स्थानीय फर्निचरबाटै ल्याइन्छ।’

दसैँका लागि मात्र हैन, पंकजसहितका मूर्तिकारहरु बाह्रै महिना मूर्ति बनाउँछन्। भर्खरै गएको विश्वकर्मा पूजाका लागि मात्र उनीहरुले ३ सय मूर्ति तयार पारे। 

‘यो बीचमा केही बंगलादेशी आएका थिए। उनीहरुले आफूले त घाटामा काम गरे नै, अरुलाई पनि राम्रो व्यापार गर्न दिएनन्,’ पंकजले सुनाए।

नेपालखबरकर्मी त्यहाँ पुग्दा उनीहरु काममा व्यस्त थिए। 

‘नवदुर्गाका लागि गणेश र दुर्गाको सेट तयार पार्दैछौँ। तर केही कालिगढले बीचमै छाडेर जाँदा हामीलाई अलि भार थपिएको छ,’ उनले भने।

गतवर्ष दसैँका लागि ७ वटा गणेशको मूर्ति अर्डर आएको थियो। यो पटक ३५ वटा अर्डर आएको छ। गतवर्ष ३ वटा दुर्गाको मूर्ति बनाएका उनीहरुले यो पटक ५ वटा बनाइसकेका छन्। जितिया पर्वका लागि पनि उनीहरु मूर्ति बनाउँदैछन्। जसका लागि काठको फ्रेम तयारी अवस्थामा छ। 

चार जना लाग्ने हो भने एक सातामा एउटा मूर्ति तयार हुन्छ। तर कालिगढको अभावमा तोकिएको समयमा माग पूरा गर्न उनीहरुलाई कठिन छ। 

यो पटक पनि दसैँका लागि बनिरहेका मूर्तिहरु घटस्थापनाको अघिल्लो दिनसम्म तयार पारिसक्नुपर्छ। त्यसैले उनीहरु दिनरात मेहनत गरिरहेका छन्।

यो ठाउँमा मूर्ति बनाउन लागेको करिब १० वर्ष भयो। भाडामा जग्गा लिएर मूर्ति बनाउन लागेका उनीहरुले अन्य ठाउँमा पनि मूर्ति बनाउनका लागि कालिगढ राखेर भाडामा जग्गा लिएका छन्। 

मुख्य चाडपर्व सकिएपछि उनीहरु दियो, ढकना बनाउन लाग्छन्। मूर्तिको आकार अनुसार पैसा लिने उनीहरुको एउटै गुनासो छ, ‘लगानी अनुसारको प्रतिफल आउँदैन। कहिलेकाहीँ त यत्तिकै राखिराख्नुभन्दा घाटा खाएर दिन पनि बाध्य हुन्छौँ।’ 

तस्बिरहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .