ad ad

कारोबार


सरकार लगानीको वातावरण बनाउन कटिबद्ध छ : मन्त्री रिजाल

सरकार लगानीको वातावरण बनाउन कटिबद्ध छ : मन्त्री रिजाल

नेपालखबर
असोज १६, २०८० मंगलबार १७:८, काठमाडौँ

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री माननीय रमेश रिजालले लगानीको वातावरण बनाउन सरकार कटिबद्ध रहेको बताएका छन्।

सुर्खेतको चौकुने स्थित सिमेन्ट उद्योग स्थापना गरी तत्काल सञ्चालन गर्ने सम्बन्धमा मंगलबार मन्त्रालयमा भएको छलफलमा मन्त्रि रिजालले यस्तो बताएका हुन्।

उद्योगपति अजय सुमार्गीको कम्पनी मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिजले एक दशक अगाडीदेखि इजाजत अनुमतिपत्र लिए पनि हालसम्म उद्योग स्थापना गरी सञ्चालनमा आउन नसकेपछि मन्त्री रिजाल, सम्बद्ध उद्योगपति र सारोकारवालाबीच मन्त्रालयमा छलफल भएको हो। 

छलफलमा सिमेन्ट उद्योग सञ्चालनको लागि लामो समयदेखि पहल गर्दै आउनु भएका सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नं २ का सांसद हृदयराम थानीले दशक अघि देखि लाइसेन्स लिएको उद्योग तत्काल सञ्चालन गर्न मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिज र सरकार दुवै पक्षले पहल गर्नुपर्ने बताए।

सांसद् थानीले मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिजले उद्योग सञ्चालन गर्न नसक्ने हो भने अन्य विकल्प खोज्न समेत ढिलो गर्न नहुने सुझाव दिए।

उद्योगपति सुमार्गीले भने आफुले वैदेशिक लगानी भित्राई उद्योग सञ्चालन गर्न खोजेकोमा पहिलेदेखि नै नेपाल सरकार र नेपाल राष्ट्र बैँकबाट आफूलाई असहयोग भइरहेको गुनासो गरे।

छलफलमा मन्त्री रिजालले उद्योगपतिहरूलाई असयोग गर्ने सरकारको कुनै अभिप्राय नभएको बताए। 

उद्योगपतिहरूलाई लगानीको वातावरण बनाईदिनु पर्छ भन्ने सोचले सरकार अघि बढिरहेको मन्त्रि रिजालले स्पष्ट पारे। उनले देशको आर्थिक विकासमा उद्योगपतिहरूको ठूलो महत्व रहने बताउँदै औद्योगिक लगानी पर्वद्धनको लागि सरकारले हरदम पहल गरिहरेको जिकिर समेत गरे। 

मन्त्री रिजालले सिमेन्ट उद्योग सञ्चालन गर्नमा के के कुराहरू बाधक हुन बुझेर तत्काल कानुन बमोजिम सकारात्मक पहल गर्न मातहतका अधिकारीहरूलाई निर्देशन दिए।

छलफल कार्यक्रममा सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नं २ का सांसद हृदयराम थानी, राष्ट्रियसभा सदस्य नरबहादुर विष्ट लगायत मन्त्रालयका सचिव, सहसचिवहरू, उद्योग विभागका महानिर्देशक, खानी विभागका महानिर्देशक लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .